संविधान दिवसः 'आर्थिक समृद्धिको बाटोमा अघि बढ’

राजाले मनपरेका मानिसहरूकाे टिम भेला गराएर संविधान बनाउने परम्परा ताेड्दै जनताले चुनिएका प्रतिनिधि मार्फत संविधान सभाबाट २०७२ सालमा नयाँ संविधान बनेकाे दिन हाे आज ।
निरंकुश राजतन्त्रकाल, जनयुद्धकाल, पञ्चायत वा यस्तै अवस्थाको सामना गर्दै नेपाल यहाँसम्म आइपुगेको हो । संक्रमणकाल र त्यसअघिका जटिल अवस्थाहरूको परिणाम नेपाल विकासका दृष्टिले पछि परिरहेको यथार्थ जगजाहेर छ ।
विश्व मानचित्रमा स्वतन्त्र देशको रूपमा नेपालभन्दा पछि विकास भएको देश हो भारत । कुनै समय नेपालबाट कोरियामा नेपाली सामान निर्यात हुने गर्दथ्यो । कोरिया नेपालभन्दा कमजोर थियो । तर, आज उनीहरूको तुलना नेपालसँग हुनै सक्दैन ।
नेपालले आफ्नो विगत विभिन्न नामका राजनीतिक आन्दोलनहरूको व्यतीत गर्यो । जसका कारण सधैंजसो द्वन्द्व, आन्दोलन र संक्रमणकाल रहिरह्यो । तर, आज देशमा द्वन्द्वको सापेक्षित अन्त्य भएको छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ले राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राखेर देशभित्र आइपर्ने हरेक समस्याका समाधान संविधानसम्मत ढंगले गर्न सक्ने मार्गप्रशस्त गरेको छ ।
जुनसुकै जाती, क्षेत्र, लिंग, धर्म, भूगोल वा समुदायका समस्याहरू संविधानसम्मत ढंगले सम्भव छ । विगतमा यो व्यवस्था संविधानमा थिएन । राजतन्त्रले आफूलाई संविधानभन्दा माथि ठान्थ्यो । सार्वभौमसत्ता राजामा निहित थियो । जनता अधिकार र सुविधाबाट वञ्चित थिए । देशको ढुकुटी नै राजखान्दानको ढुकुटी हुन्थ्यो । जनताले तिरेको करबाट राजतन्त्र पोषित हुने गर्दथ्यो ।
तर, आज सार्वभौमसत्ता जनतामा निहित छ । जनताले आफूले छानेका व्यक्तिले सत्ता सञ्चालन गर्ने बाटो संविधानले बनाइदिएको छ । नागरिकहरू राजनीतिक अधिकारबाट विभूषित भएका छन् । असन्तुष्ट पक्षले जनमतबाट प्रमाणित गरेर सत्ता उल्ट्याउन सक्छ । पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र यही संविधानभित्रबाट फर्काउन सक्छन्, सशस्त्र विद्रोह गरिरहेको विप्लव समूहले उसले भनेको समाजवाद स्थापना यही संविधानभित्रबाट गर्न सक्छ ।
संघीयता फाल्नुपर्छ भन्ने चित्रबहादुर केसीले यही संविधानले दिएको प्रावधानमा टेकेर एकात्मक राज्य प्रणालीमा जान सक्छन् । हिन्दू धर्म चाहिन्छ भन्ने कमल थापाले धर्मनिरपेक्षता हटाउन सक्छन् । अथवा समाजवाद हुँदै बैज्ञानिक साम्यवादको कम्युनिस्ट शासन स्थापना गर्ने भन्ने नेकपाले पनि आफूलाई जनताबाट दुई तिहाइ मतबाट अनुमोदन गराएर संविधान संशोधन गरी देशलाई समाजवादको बाटोमा सोझ्याउन सक्छ ।
त्यसैले पनि अब कुनै पनि बहानाका संक्रमणकाल वा द्वन्द्वकालहरू देशका लागि आवश्यक छैन । संविधान बनिसकेपछि पनि संविधान कार्यान्वयनका लागि भनेर अघोषित रूपमा थोपरिएको संक्रमणकाल अब तुरुन्त बन्द गरिनुपर्दछ । संविधानले दिएको परिधिभित्र रहेर संघीय लोकतान्त्रीक गणतन्त्रमा राजनीतिक प्रतिस्पर्धा गर्न सक्ने ठाउँ छ । जसले प्रजातान्त्रिक अभ्यासमा आफूलाई अब्बल साबित गर्दछ, शासन सत्ता उसैले, उसैको सिद्धान्तअनुसार सञ्चालन गर्दछ । यो विश्वव्यापी मान्यता हो ।
अब पनि विभिन्न बहानामा ‘भाग शान्ति’ गर्नु, अराजकता र भ्रष्टाचारलाई प्रश्रय दिनु, सुशासन र समृद्धिलाई बेवास्ता गर्नु भनेको नेपालीको भविष्य थप अन्धकारतर्फ धकेल्नु हो । पछिल्लाे जेनजी प्रदर्शनसम्म पुग्दा त्यस्ताे गर्ने छुट अब कसैलाइ छैन । नेताहरूले भाषणमा यी कुराहरू स्वीकार गरेका छन् । तर, व्यवहार र विचारका बीचमा तादाम्यता छैन । समयको क्रमिक विकासले पनि नेपाली समाजलाई केही हदसम्म माथि उकासेको छ । जनतामा जागेको जागरण र सामाजिक तथा राजनीतिक चेतनाले विकृतिमाथि सजिलै चोर औंला ठड्याउन सक्ने बनाएको छ ।
त्यसैले, अब जसले भन्छ तर गर्दैन उसमाथि चोर औंला ठडिनेछ । अब देशलाई भन्ने तर नगर्ने होइन, नभन्ने तर नगर्ने पनि होइन, भन्ने र गर्ने राजनीति र राजनेता चाहिएको छ । जसले देशलाई साँच्चिकै आर्थिक समृद्धिको बाटोमा अघि बढाउन सकोस् ।
प्रतिकृया दिनुहोस