पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल

पाेखरा । तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ ।

सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ ।

बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा छ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन् ।

आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा रोकिएका कारणले समेत आयोजना प्रभावित भएको आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए । “आयोजना छ महिना अघि सम्पन्न गर्ने योजनाअनुसार विगतमा लक्ष्यभन्दा बढी काम भएको थियो, यस वर्ष जनवरीदेखि नै काम प्रभावित बन्यो । उनले भने, “कोभिडले छ महिना असर गरिसक्यो, अझ एक÷दुई महिना गर्ने देखिएको छ, तर अहिलेसम्मको कामको सेडुअलअनुसार तोकिएकै समयभित्र सम्पन्न गर्न सक्छौँ ।”

आयोजना सम्पन्न हुने मिति एक वर्ष बाँकी रहँदा ‘ल्याण्डसाइड’ र ‘विल्डिङतर्फ’को अधिकांश सिभिल तथा स्टक्चरको काम सम्पन्न भएको, उपकरण जडान र ‘फिनिसिङ’मात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ । 

भारतको कोलकतामा रोकिएका आयोजनाका सामग्री आइसकेको तथा विशेषज्ञ कामदारसमेत चीनबाट आउने तयारीमा रहेकाले दुई सिफ्टमा काम गर्ने योजना बनाइएको छ । उपकरण जडानले आयोजनाको थप २५ देखि ३० प्रतिशत भौतिक प्रगति ओगट्ने भएको र जडानमा बढी समय खर्चिनुनपर्ने भएकाले समेत आयोजना समयमै पूरा हुनेछ ।

आयोजना प्रमुख मुनंकर्मीले भने, “विशेषगरी इक्युपमेन्ट इन्सटलेसन र भवनको फिनिसिङको काम बाँकी छ,उपकरण आइसकेको छ, विशेषज्ञ कामदारसमेत भदौ १ पछि आउनेछन्, कोभिड–१९ नभएको भए अहिले ७२ देखि ७५ प्रतिशत लक्ष्य पूरा गर्ने थियौँ ।” 

कोरोनाका कारण घर गएका नेपाली कामदार बन्दाबन्दी अन्त्यसँगै पुनः काममा फर्किन चाहेका जनाइएको छ । निर्माण कम्पनी सिसीएमसीले पिसीआर परीक्षण नगरीकन आयोजनास्थलमा प्रवेश नदिने जनाएकाले प्रदेश तथा स्थानीय सरकारसँग परीक्षण व्यवस्था मिलाउन आग्रह गरिएको आयोजनाले जनाएको छ । रासस
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर