तनहुँमा स्थानीय तहलाई रकम बाँडफाँट

तनहुँ । जिल्ला समन्वय समिति (जिसस) तनहुँले मौज्दात कोषको बचत रकम जिल्लाका १० स्थानीय तहहरुलाई बाडफाँड  गरेको छ । जिल्लामा रहेका चार नगरपालिका र छ गाउँपालिकालाई करिब रु १५ करोड वितरण गरेको हो ।
 
शुक्ला गण्डकी नगरपालिकालाई रु दुई करोड र व्यास, भानु, भिमाद नगरपालिकालाई रु एक करोड ३० लाखका दरले रकम प्रदान गरिएको जिससले जनाएको छ । त्यसैगरी, बन्दीपुर, आँबुखैरेनी, देवघाट, ऋषिङ, घिरिङ, म्याग्दे गाउँपालिकालाई रु एक करोड १० लाखका दरले रकम बाँडफाँड गरिएको जिसस प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । 

जिससले दमौलीस्थित आन्तरिक राजश्व कार्यालयलाई डेढ रोपनी जग्गा हस्तान्तरण गर्ने भएको छ । कार्यालयले नयाँ भवन  निर्माण गर्न हालको जग्गा साँघुरो तथा अपुग भएको कारण देखाई जग्गा माग गरेको थियो । साविक फराकचौर–९ ‘ग’ हाल व्यास नगरपालिका कित्ता नं १२८३ को जग्गा प्रदान गर्न लागिएको हो । 

राजश्व कार्यालयको नयाँ भवन निर्माण भएको अवस्थामा तनहुँ जिल्लासहित लमजुङ, मनाङ र गोरखाका गरी चार–चार जिल्लाका नागरिकलाई सहज सेवा प्रवाह हुने जनाइएको छ । भवन निर्माण प्रयोजनका लागि हस्तान्तरण गर्ने निर्णय भएको जिसस प्रमुख वाग्लेले जानकारी दिए ।
 
चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय तनहुँमा ६६ हजार ८८८ जना करको दायरमा आएका छन् । सरकारले गत वर्षदेखि लेखा नं (पान) अनिवार्यरूपमा लिएर मात्रै व्यपार व्यवसाय गर्न निर्देशन दिएपछि करको दायरमा आउनेको सङ्ख्या बढ्दै गएको हो ।
 
तनहुँ, लमजुङ, मनाङ र गोरखा गरी चार जिल्लाका उक्त सङ्ख्या करको दायरमा आएको  कार्यालयका सूचना अधिकारी मोहनरमण त्रिपाठीले बताए । चार जिल्लामा सेवा दिँदै आएको सो कार्यालयले करदातालाई अझ बढी सहजरूपमा सेवा दिने उद्देश्यले सम्बन्धित जिल्लामा नै करदाता सेवा कार्यालय स्थापना गर्ने अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनका अनुसार लमजुङ र मनाङ जिल्लाका लागि लमजुङ र गोरखाको सदरमुकाममा समेत सेवा कार्यालय खोल्न लागेको हो । रासस
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर