• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेम्वाङलाई प्रचण्डले भने–'एकता विरोधी काम रोक्न अध्यक्ष ओलीलाई सुझाव दिनुस्'

काठमाडौं ।  नेकपाका संसदीय दलका उप–नेता सुवास नेम्वाङले खुमलटारमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेका छन् ।  पार्टी भित्रको आन्तरिक बिवादलाई अन्त्य गर्ने प्रयासस्वरुप नेम्वाङले प्रचण्डलाई भेटेका हुन् । दुई अध्यक्षबीचको संवादहीनता बढ्दै गएपछि दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा प्रचण्डले पार्टी एकता विरोधी काम रोक्न आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ । 

असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटीको बैठक असार १८ गतेपछि बस्न सकेको छैन। साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि अर्का कार्यकारी अध्यक्ष प्रचण्डले बहुमत २९ जना स्थायी कमिटी सदस्य लिएर सञ्चालन गरेका थिए। सोही दिनदेखि स्थगित बैठक अझै बस्नेरनबस्ने तय हुन सकेको छैन। प्रचण्ड पक्षका बहुमत सदस्य बैठक राखेर समाधान गर्नुपर्ने माग गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन्।  

पार्टीको किचलो अन्त्य गर्न भन्दै वार्तामा जुटेका नेताहरुबीच कुनै सहमति जुट्न सकेको छैन। यसअघि मंगलबार भएको छलफलका क्रममा लगानी बोर्डको सिइओमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए ।   त्यस्तै छलफलमा प्रचण्ड र खनालले स्थायी कमिटी बैठक बोलाउन जोड दिएका थिए भने ओलीले पहिला सचिवालय बैठक राखेर मात्र स्थायी कमिटी बस्नुपर्ने बताएका थिए ।

प्रचण्डपक्ष नेताहरु ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली भने अहिले नै दुवै पद नत्याग्ने पक्षमा छन् । साउन १३ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक एकलौटी स्थगित गरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका २९ स्थायी कमिटी सदस्य र दुईजना आमन्त्रित सदस्यसहितको बैठकले ओलीसँग संवाद गर्न प्रचण्डलाई जिम्मा दिएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर