• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

राष्ट्रिय परिचयपत्रका लागि सोह्र हजारको विवरण दर्ता

महेन्द्रनगर। कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानअन्तर्गत तीन साताको अवधिमै १६ हजार ६९ जनाले  विवरण दर्ता गराएका छन् । कारोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीपछि असार अन्तिम सातादेखि सञ्चालन गरिएको दर्ता अभियानअन्तर्गत जिल्लाका नौवटै स्थानिय तहमा ८६ जना कम्प्युटर अपरेटर आवश्यक सामग्री र उपकरणसहित परिचालन गरी दर्ता अभियान शुरु गरिएको छ ।
 
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार राष्ट्रिय परिचयपत्र दर्ताका लागि स्थानीय तहका वडावडामा कम्प्युटर अपरेटर परिचालन गरी दर्ताको कार्य भइरहेको छ । “वितरण दर्ताका लागि जनप्रतिनिधिको सहयोग र रुजु अधिकारीका रुपमा वडा सचिवको सहयोग लिइएको छ”, उनले भने, “विवरण दर्ताको कार्य सन्तोषजनकरुपमा अगाडि बढी रहेको छ ।” जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार बेदकोट नगरपालिकामा चार हजार ३४३, शुक्लाफाँटा नगरपालिकामा तीन हजार ९९४, कृष्णपुर नगरपालिकामा तीन हजार २१८ जनाको विवरण दर्ता गरिएको छ । 

महाकाली नगरपालिकामा एक हजार ४५७, बेलौरी नगरपालिकामा ७५६, बेलडाँडी गाउँपालिकामा ७०७, लालझाडी गाउँपालिकामा ५९९, भीमदत्त नगरपालिकामा ५९५ र पुनर्वास नगरपालिकामा ४०० जनाको विवरण दर्ताको कार्य गरिएको छ । गत चैत महिनामा शुरु भएको अभियान भीमदत्त नगरपालिकाको वडा नं १८ बाट शुभारम्भ गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै बन्दाबन्दी गरिएपछि जारी अभियान स्थगित गरिएको थियो । सो अभियान पुनःअसार महिनको अन्तिम सातादेखि सञ्चालन गरिएको छ । बन्दाबन्दीअघि १० हजार बढी व्यक्तिको विवरण दर्ता गरिएको थियो ।
 
राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानका लागि बेदकोट नगरपालिकामा १४, शुक्लाफाँटा नगरपालिकामा ११, कृष्णपुर नगरपालिकामा नौ, महाकाली नगरपालिकामा पाँच, बेलौरी नगरपालिकामा तीन, बेलडाँडी गाउँपालिकामा दुई, लालझाडी गाउँपालिकामा दुई, भीमदत्त नगरपालिकामा ३८ र पुनर्वासमा दुई गरी ८६ जना कम्युटर अपरेटर परिचालन गरिएका छन् । कारोना भाइरस सङ्क्रमणको जोखिमबीच न्यूनतम सेवाग्राही उपस्थित गराएर विवरण दर्ताको कार्य गर्न र स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर भीडभाड नगर्ने नगराउने गरी सेवा लिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर