• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एक थप्पडले बदलेको विश्व इतिहास

फेसबुकमा गत सोमबारदेखि भाइरल बनिरहेको ‘३७ लाख श्रमजीवीको आवाज बोल्ने हिम्मतिली महिला सरस्वती मैनाली’को ‘कथा’ पढेपछि मन र आँखा किन हो कुन्नि, भावविहीन भएर बस्न सकेनन् । दिमाग र हात त झन् चुप बस्नै मानेनन् । त्यसैले ल्यापटप खोलेँ र विदेशमा दश बर्षअघि घटेको त्यस्तै एउटा घटनाले कसरी विश्वको इतिहास बदल्यो, लेख्ने जमर्को गरे ‘ताकि दुनियाँले, र अझ विशेषतः संवेदनाविहीन बन्दै गएका हाम्रा ‘भाग्यविधाताहरु’ले बुझुन् र मनन गरुन्, कसरी हेर्दाहेर्दै एउटा फिलिङ्गोले पुरै वनलाई विध्वंश पारिदिन सक्ने रहेछ । 

समग्रतामा हाम्रो समकालीन समाजको प्रवृत्तिलाई नियाल्दा प्रहरीको लात्ताले सरस्वतीको गाडालाई पल्टाइदिएको र ढक तराजु फिर्ता लिन तिनले गरेको असफल संघर्ष देश र दुनियाँमा दिनहुँ घटिरहने एउटा सामान्य घटना झैं लाग्ला, र त्यो, अस्वाभाविक पनि होइन । यही सेरोफेरोमा धनुषामा पनि रिक्शामा तरकारी बेचिरहेको एकजना गरिब मधेशीलाई प्रहरीले दिनदहाडै, सबैसामु अपराधीलाई झैं निर्ममतापूर्वक पिट्दै भ्यानमा हालेर लगेको पनि फेसबुकमा धेरैले देखेकै हुन् । हुन त यो आलेखको ध्येय बदलिँदो समाज तथा त्यससँगै बदलिँदै गएका सामाजिक अन्तर्सम्बन्ध र अन्तर्विरोधहरुको व्याख्या र विश्लेषण गर्नु होइन, तैपनि चाबहिलको त्यो ‘दुर्घटना’, त्यसमा महिला प्रहरीबाटै प्रदर्शन भएको नृशंसता र समाचार प्रकाशनपछि चारैतिर उर्लिएको सहयोग र सहानुभूतिको लहरमाथि घोत्लिँदा कलम ‘तरवारभन्दा शक्तिशाली’ रहेको पुनर्पुष्टि त भएकै छ, तिनले भविष्यमा आउन सक्ने प्रचण्ड आँधीबेहरीतिर पनि संकेत गर्न खोजेका छन् । त्यसैले सत्ता र समाजबीच तथा नेतृत्व र आमनेपालीबीच बढ्दै गएको दूरी, अनि सहयोग र सहानुभूतिको आवरणमा सर्वत्र मुखरित हुँदै गएको आक्रोशलाई कसैले हल्काफुल्का रुपमा लिने गल्ती नगरोस् । किनकि कोरोना भाइरसले शरीरसँगै कोठाभित्र थुनेको संयम जब फुट्ला, तब नेता र नेतृत्व मात्र होइन, व्यवस्थालाई नै बगाएर लग्न सक्छ । दश बर्षअघि ट्युनिशियामा घटेको घटनाले सिकाएको सबैभन्दा ठूलो पाठ यही हो ।

के भएको थियो त्यतिखेर ?
उत्तरी अफ्रिकाको एउटा सानो कट्टर मुसलमान देश ट्युनिशिया, र त्यसको राजधानी ट्युनिश । सन् २०१० डिसेम्बर १७ तारिखको बिहान । सधैं झैं सडकमा ठेलागाडा ठेल्दै तरकारी र फलपूmल बेच्दै हिँड्ने २७ बर्षिय मोहम्मद बौआजीजी त्यो दिन पनि बिहान आठ बजेदेखि नै ग्राहकको पर्खाइमा थिए । फाट्टफुट्ट ग्राहकहरु आए पनि । तर साढे दश बजे प्रहरीको एउटा भ्यान के आइपुग्यो, सबै थोक बदलियो । भ्यानबाट निस्केर ४५ बर्षिया महिला प्रहरी फायडा हाम्दीले उनीसँग ठेलागाडाको स्वीकृतिपत्र (पर्मिट) मागिन् जुन उनीसँग थिएन । वर्दीको उन्माद नै होला, हाम्दीले बौआजीजीलाई गालामा एक झापड दिइन्, थुकिन् र जथानाम मुख छाड्दै अरु पुरुष प्रहरीसँग मिलेर लात्तीले हानेर गाडालाई पल्टाइ दिइन् । अघिल्लो दिन मात्र २०० डलर बराबरको सापटी लिई किनेका उनका सबै फलपूmल र तरकारी सडकमा असरल्ल छरिए । ईलेक्ट्रोनिक तराजु लगायतका सामानलाई भ्यानमा राखेर प्रहरी टोली हिँड्यो । बौआजीजीको परिवारले पछि आरोप लगायो, ‘भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेका प्रहरी अधिकारीहरुलाई मागे बमोजिम ‘नजराना’ दिन नसकेकै कारण तिनीहरु त्यो दिन त्यसरी प्रस्तुत भएका थिए ।’

भोलिपल्ट पर्मिट बनाउन बौआजीजी स्थानीय प्रशासनकोमा पुगे । तर गरिब न ठहरिए, कुनै पनि अधिकारीले उनलाई राम्रो मुखले बोलेनन् । सर्वत्र छिःछिः र दूरदूर मात्रै । एउटा कट्टर मुसलमान समाजमा महिलाबाट कुटाइ खानु त्यसै पनि कम अपमानजनक थिएन, झन् कार्यालयमा पनि पाइलैपिच्छे पुरुष महिला सबैबाट अपमानित भएपछि उनको मन असाध्य विक्षिप्त भयो । नजिकैको पसलमा गएर एक ग्यालन मट्टितेल किने, र फर्केर गई प्रशासन नजिकैको सडकमा त्यसलाई जीउभरि खन्याएर आत्मदाह गरे । तुरन्तै उनलाई अस्पताल पु¥याइयो, तर ९० प्रतिशत जलिसकेको शरीरलाई चिकित्सकहरुले बचाउन सकेनन् । आत्मदाहको १८ दिनपछि बौआजीजीको मृत्यु भयो ।

बौआजीजी अस्पतालको शैयामा छट्पटाइरहेकै बेला ट्युनिशमा ससाना प्रदर्शनहरु शुरु भइसकेका थिए । शुरुमा सरकारी फौजले तिनलाई दबाउन खोज्यो, तर सरकार–विरोधी प्रदर्शनहरु झन् अरु शहरहरुमा फैलिँदै गए । दमन असफल भएपछि राष्ट्रपति बेन अली आफै अस्पताल पुगे, त्यहीँबाट उनले बौआजीजीको उपचार खर्च सबै सरकारले ब्यहोर्ने र उनको परिवारको भरणपोषण पनि सरकारले नै गर्ने घोषणा गरे । तर ढिलो भइसकेको थियो । जनावरी ४ मा बौआजीजीको मृत्यु भएपछि आक्रोशमा आगो थपियो । अन्ततः राष्ट्रपति अली जनवरी १४ का दिन देशबाट पलायन भए । नयाँ सरकारको घोषणा भयो, तैपनि विरोध प्रदर्शनहरुको सिल्सिला रोक्किएन । विरोध प्रदर्शन बिस्तारै छिमेकी देश ईजिप्ट र लिबिया हुँदै यमन, बहराइन र सिरियासम्म पनि पुग्यो । शुरुमा सरकार–समर्थक समुदाय र सेनाले विरोधका स्वरहरुलाई बलपूर्वक दबाउन खोजे । तर नसकिएपछि ईजिप्ट, यमन र लिबियामा पनि सत्ता परिवर्तन भयो । 

ईजिप्टमा राष्ट्रपति होस्नी मुबारकले जेलको हावा खाए, लिबियामा कर्णेल गद्दाफीलाई विद्रोहीहरुले विदेशी फौजको सहायता लिएर खोजीखोजी मारे र यमनका राष्ट्रपति अब्दुल्ला सालेहले पनि पदच्युत भई आमसंहारको मुद्दा खेप्नु प¥यो ।

समर्थन र विरोध, अनि द्वन्द्वको श्रृङ्खला बिस्तारै मोरक्को र अल्जेरिया हुँदै ईराक, ईरान, लेबनान, जोर्डान, कुवेत, ओमान र सुडानसम्म पुग्यो । स–साना प्रदर्शनहरुले जिबौटी, मौरिटानिया, प्यालेष्टाइन, सउदी अरब र पश्चिमी सहारासम्मका सडकहरुलाई तताए । सरकार–विरोधी प्रदर्शन सर्वत्र फैलियो, र देश र क्षेत्र फरकफरक भए पनि नारा भने सबैको एउटै रह्योः ‘अश–शाब युरिड ईश्कट आन–निजाम’ अर्थात् ‘जनता रुपान्तरण÷परिवर्तन चाहन्छन् ।’ समग्रमा पुरै अरबलाई प्रभावित पारेको हुनाले पछि त्यो आन्दोलनलाई ‘वसन्त विद्रोह’ वा ‘अरबी वसन्त’ को नाम दिइयो ।

समयान्तरमा फायडा हाम्दीको थप्पडको गुञ्जन यति प्रभावशाली ठहरियो कि कट्टर बहुसंख्यक शिया मुसलमानहरुले बहराइनमा अल्पसंख्यक शासकहरुको राजीनामा खुलेरै माग्न थाले । हिजोसम्म सिइएका ओठलाई वाणी प्राप्त भयो, त्यसैले तिनीहरुले बिना कुनै त्राश शासकहरुमाथि दमन र अत्याचारको आरोप लगाउन शुरु गरे । विरोध र दमनको श्रृङ्खला त्यहाँ सुषुप्त रुपमै सही, आज पनि जारी नै छ । उता छिमेकी कतारमा त झन् विरोधी गतिविधि यतिसम्मन् चर्कियो कि सन् २०१३ जूनमा हत्त न पत्त राजाले सरकारको बागडोर आफ्नो छोरालाई सुम्पे । बौआजीजीको आत्मदाहले सल्काएको आगो यमन र सिरियामा आज पनि निभेको छैन । सिरियामा सल्केको आगो त धेरै हदसम्म निभिसकेको छ, तैपनि एउटा तथ्य के तय छ भने निर्णायक विजयपश्चात् पनि राष्ट्रपति बशर अल अस्सदले अब पुरानै ढा“चामा शासन गर्न सक्ने छैनन् ।

समग्रमा मोहम्मद बौआजीजीको आत्मदाहले अरब जगतको मुहारलाई पुरै फे¥यो । कट्टर मुसलमान समाजमा दूरगामी महत्वका परिवर्तनहरु भए, जनताकेन्द्रीत शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढ्यो, लोककल्याणकारी नीति राज्यको निर्देशक सिद्धान्त बन्यो, र सारमा भन्नु पर्दा अरब संसार अब त्यो रहेन जस्तो ऊ एक दशक अगाडिसम्म देखिन्थ्यो । निर्विवाद रुपले ‘वसन्त विद्रोह’ त्यो क्षेत्रमा, र अझ विश्वव्यापी रुपमा देखिएका असंख्य तात्कालिक तथा दूरगामी महत्वका परिवर्तनहरुको संवाहक बन्यो । परिवर्तनको स्वरुप कस्तो रह्यो र त्यसले भविष्यमा केकस्तो आकार लेला, अहिल्यै भन्न सकिने अवस्था छैन । तैपनि हाम्रो सन्दर्भमा यहाँ यति नै भन्नु उपयुक्त होला, नीतिनिर्माताहरुको ध्यान सरस्वती मैनालीहरुका घाऊमा मल्हम लगाउनेभन्दा सरकार गिराउने र बचाउनेतिर बढी गयो भने सत्ताधारीहरु त जालान् नै, देश नै भड्खालोमा खस्न सक्छ । कोरोनाको कहरबाट जनतालाई कसरी जोगाउने, तिनलाई चरम संकटको यो घडीमा केकसरी त्राण दिने भन्नेतिर कम, लोकसम्मति र भावना विपरीत ‘हामीले जे गर्दा नि हुन्छ’ भन्ने अहंमा बढी बाँचेका हाम्रा ‘भाग्यविधाताहरु’ लाई स्मरण गराइदिनु पर्ला, सय बर्षअघि देखिएको स्पेनिश फ्लुले जनताप्रति जिम्मेवारी वोध नगरेका कम्तीमा एक दर्जन सत्तालाई बगाएको थियो । अरु त अरु, त्यसैको कारण दक्षिण एशियामा ब्रिटीश साम्राज्य खुम्चिन पुगेको थियो, र त्यसैले दोश्रो विश्वयुद्धका लागि बाटो समेत बनाइ दिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर