कविता : लाश गन्ने महाराज
महाराज
मेरो गर्दन चिलाएको हो कि ढाड
सत्ताको कुर्सिमा
म त कुनै कम्युनिष्ट देख्दिन
दुखियाका सेवकको गन्ध नै आउदैन ।
देख्छु त केवल
मत्ता झै बिराजमान शासक
अरुहरु जस्तै
जनतामाथि शासन गर्ने
आफ्नौ भुंडी भर्ने ।
महाराज
मेरो गर्दन चिलाएको हो कि ढाड,
सत्ता अन्धो हुँदो रहेछ
भ्रष्ट, दलालहरुबाट दिवार भित्रै कैद हुँदो रहेछ
र भन्दो रहेछ
मेरो शासनमा
कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।
तर ठूलो दरबार वरिपरीको अग्लो पर्खालले
दुरदराज देखिए पो !
देखिन्छ त केवल अग्ला अग्ला महल
नक्कली खुट्टा हालेर अग्लिएका महलका मालिक
अनि सरकार भनिबक्सिन्छ
कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।
महाराज
हजुरलाई यो सिंहासनमा विराजमान गराउन
जसले बली दिए, उनका सपना थिए
समानताका, समृद्धिका
आज आकाशका तारा बनेका उनीहरु
नियालिरहेछन्
महाराजको शासनमा समृद्धिको झण्डा हैन
गरिबका टाउका माथि शासकका डण्डा बजारिएका छन्
कोरोनाको कहरमा लासहरु पछारिएका छन् ।
तर, महाराज
हजुरलाई त के को कहर
लासहरु गन्ने हो
मुखमा आएको कुरा भन्ने हो ।
यत्ति भने महाराज
मेरो गर्दन चिलाएको हो कि ढाड
म त सत्ताको कुर्सिमा मैमत्त शासक देख्नु
जनताको सेवक देख्दिन ।
किन ?
प्रतिकृया दिनुहोस