• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रेग्मी बेलायतका लागि राजदूत, मुख्य सचिव शंकरदास बैरागी !

काठमाडौं । संघीय सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ६ गते सकिने मिति नजिकिँदै गर्दा उनीमाथि तत्काल राजीनामा गर्न दबाब परेको छ ।

रेग्मीले कात्तिक ६ गते अगाडि नै राजीनामा दिएमा प्रधानमन्त्री केपी ओलीले आफू अनुकुल मुख्य सचिव बनाउन सफल हुनेछन् । रेग्मी पुरानो अडानमा यथावत रहे सिनियर सचिवहरुको समूहनै विदा हुनेछ र नयाँ पिँढीका सचिवहरुले मुख्य सचिव बन्ने अवसर पाउनेछन् । 

रेग्मीले पुरा कार्यकाल मुख्य सचिव खाएमा उननी भन्दाअघि असोज २२ गते नै मुख्य सचिवको दौडमा रहेका परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटाले अवकास पाउने छन् । 

यसअघि मुख्य सचिव रेग्मीलाई अमेरिकाको राजदूत बनाउने र मुख्य सचिवबाट राजीनामा दिने प्रस्ताव आउँदा उनले अस्वीकार गरेका थिए । त्यतिबेला समाचार दैनिकसँगको कुराकानीमा रेग्मीले भनेका थिए– ‘म राजदूत लगायत कुनै आकर्षक प्रस्ताव आएपनि मुख्य सचिवको जिम्मेवारी बीचैमा छोडेर राजीनामा दिन्नँ ।’

तर यस्तो अवस्था आउन नदिन अहिले परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली रेग्मीलाई सम्झाउन लागि परेको उच्च स्रोतले बतायो । प्रधानमन्त्री ओलीकै चाहना अनुसार वर्तमान मुख्यसचिव रेग्मीलाई बेलायतका लागि राजदूत बनाउने निश्चितता गरेर केही समयअघि राजिनामा गर्न लगाउने र मुख्य सचिवमा शंकरदास बैरागी लैजाने योजना मन्त्री ज्ञवालीको छ ।

बैरागीका पक्षमा बालुवाटार मात्र नभएर खुमल्टारसमेत सकारात्मक रहेको परराष्ट्र मन्त्रालय श्रोतले समाचार दैनिकलाई जानकारी दियो । बैरागीको नेकपाका अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री वर्षमान पुनलगायतसँग पनि राम्रो सम्बन्ध छ । 

नेताहरुका अलवा सचिव रेग्मीले परराष्ट्र मन्त्रालयमा रहँदा छिमेकी देशहरु चीन, भारत तथा अमेरिकासँग समेत विश्वासको सम्बन्ध विकास गरेको श्रोतले बतायो ।

त्यसैले अहिलेका मुख्य सचिव रेग्मी बेलायतका लागि नयाँ राजदूत बन्ने, नयाँ मुख्य सचिवमा हालका परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश बैरागी आउने लगभग पक्का भएको श्रोतको दावी छ ।  

मुख्य सचिवलाई १५ दिन अघि राजीनामा गराएर कुनै लाभको नियुक्ति दिलाउने र आफूले चाहेको मुख्य सचिव बनाउने परम्परा विगतको नजिर छ । तीन वर्षअघि तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीलाई कार्यकाल नसकिँदै एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकमा नियुक्ति गरेर रेग्मीलाई मुख्य सचिव बनाइएको थियो ।

भलै सुवेदीको नियुक्ति बारे संसदमा चर्को आलोचना भएपछि उनि फिर्ता भएका थिए । देशको मुख्य सचिवजस्तो जिम्मेवारी छोडेर पैसाको लोभमा एडिबीको जागिर खान गएको उनिमाथि आरोप लागेको थियो ।

कार्यकाल पूरा हुन १५ दिन वा एक महिनाअघि मुख्यसचिवले राजीनामा गर्ने वा विदामा बस्ने परम्परा छ ।

नियमित प्रक्रियाअनुसार सचिव बढुवा भए बाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरे मुख्य सचिवका प्रमुख दाबेदार हुन् ।  घिमिरे भन्दा जुनियर रहेका सचिवहरु शिशिर ढुंगाना, मधुसुदन अधिकारी, विश्वनाथ ओली, यामकुमार खतिवडा लगायत छन्।  

निजामती सेवा ऐनको दफा–१९ (९२०) ‘क’मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एक जना मुख्य सचिव नियुक्त गरिने व्यवस्था छ । त्यसका बाबजुद मुख्यसचिव बनाउने अधिकार प्रधानमन्त्रीलाई छ ।

यसअघि तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बरियता क्रममा आठौं नम्बरमा रहेका सचिव लिलामणि पौडेललाई मुख्य सचिव बनाएका थिए । पौडेलले आफ्नो कार्यकाल अब्बल दर्जाको काम गरेर क्षमताको पुष्ट गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर