• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पञ्चेश्वरमा एक हजार ९०० जना बेरोजगार सूचीकृत

बैतडी । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैतडीको पञ्चेश्वर  गाउँपालिकामा एक हजार ९२४ जना बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७ र ७८ का लागि पञ्चेश्वर गाउँपालिकामा ५७० महिला र एक हजार ३९० पुरुष गरेर उक्त सङ्ख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक सन्ध्या जोशीले जानकारी दिए । 

सरकारले २०७७ साल साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । तोकिएको समयावधिभित्र फाराम भरेका बेरोजगार व्यक्तिउपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका एक हजार ९२४ व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको  हो । सूचीकृत भएका सबैलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइसकिएको रोजगार संयोजक जोशीको भनाइ छ ।  

मन्त्रालयबाट उक्त सूची हेरेर रकम बाँडफाँड हुने बताइएको छ । सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताए ।   । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको हो । 

यसैबीच गाउँपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत रु ५१ लाख ७० हजार आएकाले सूचीकृत भएकाहरुले नै रोजगार पाउने जनाइएको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर