• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

रविन्द्र मिश्रको प्रश्न : नेपालका प्रधानमन्त्री र ‘रअ’ प्रमुखको हैसियत एउटै हो ? 

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको बताएका छन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उक्त धारणा सार्वजनिक भएपछि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनी प्रश्न गरेका छन् ।

चार दिनअघि  ‘रअ’ प्रमुख गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएपछि आइतबार ज्ञवालीले भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा प्रधानमन्त्री ओलीसँग भेटेको बताएका थिए ।

मिश्रले सामाजिक सञ्जाल मार्फत् ज्ञवालीलाई ८ प्रश्न गरेका छन् । नेकपा (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलेसमेत कुटनीतिक मर्यादा विपरित भेटघाट भनी आलोचना गरेका छन् । 
मिश्रले ज्ञवालीलाई गरेको ८ प्रश्न यस्ता छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रश्नः
भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुनः परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आज विहान कान्तिपुर हेडलाइनर्समा –
१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको?
२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन?
३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन?
४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन?
५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन? परराष्ट्र मन्त्रालयसँग सम्मनवय भयो कि भएन?
६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले “हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन” किन भनेको? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन?
७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए?
८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन्?
ढाकछोपको पनि सीमा हुन्छ। यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो। सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको गम्भिर आरोपमा छानविन हुन सक्थ्यो। तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर