• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 06:52 am

तिहार, मान्यता र साम्राज्यवादी साँस्कृतिक हस्तक्षेप

तिहार फूलहरु र बत्तिहरुको पर्व हो । यस पर्वमा दशैंमा जस्तो हिंसा संस्कृति मौलाएको देखिंदैन बरु प्रेम र सद्भाव भेटिन्छ । चेतनाको बिकास भए पछि देखि नै मानिसले आफूलाई फाइदा गर्ने चिजहरुप्रति अनुग्रहित भई गुनगान गाउँने गरेको र आफूलाई हानी गर्ने चिजहरुप्रति भय हटाउँन ती चीज र घट्नाहरुको प्रार्थना गर्ने गरेको पाइन्छ ।

मानिसभित्रको यहि अनुग्रह र गुनगान गाउँने स्वभावले प्रकारन्तरमा काल्पनिक ईश्वरको पूजा आर्चना गर्ने प्रचलनको जन्मायो । बर्ग विभाजित समाजको बिकास भए पछि उच्च बर्गकाहरुले आफ्नो राज्यसत्ताको रक्षामा त्यो स्वभावलाई धर्मसंग जोड्दै ईश्वर/ अवतारसम्म रुपान्तरण गरायो । अबको यस बैज्ञानिक शताब्दीमा पर्वहरु मनाउँदा आडम्बर र अन्धबिश्वासी मिथकहरुलाई मिल्काउँदै बैज्ञानिक चेतनाका साथ मनाउँनु पर्छ ।

दशैंको पन्ध्रदिन पछि तिहार आउँछ । हिन्दी भाषाको त्योहार शव्दबाट विकृत भई तिहार बनेको अनुमान गरिन्छ । यसलाई दीपावली अनि दिवाली समेत भन्ने गरिन्छ । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीदेखि लिएर कार्तिक शुक्लपक्ष द्वितीया तिथीसम्म पाँच दिन मनाईन्छ ।

विज्ञानले आजको जमानामा सबैभन्दा टाढाको आकाशगंगाबाट आउँने शुक्ष्म किरणको समेत अध्ययन गर्न सकेको छ । त्यतिमात्र हैन चिकित्सा विज्ञानको माध्यमबाट विगतमा जुन रोगले मानिसहरु मर्थे अब त्यो रोगले नमर्नेसम्म बनाईसकेको छ । यस्तो अवस्थामा यमराजको कल्पना नै एउटा किम्बदन्ती हो । यस्तो किम्बदन्तीको पात्रलाई साँच्चैको पात्र मान्नु मुर्खता मात्र हो ।

ज्योतिषशास्त्रमा उल्लेख हुने तिथीहरु र शुक्ल÷कृष्ण पक्षको जुन बिश्लेषण छ , त्यो बैज्ञानिक खोजको उपज हो । यहि तिथीहरु र पक्षहरु केलाएर औंसी, पुर्णिमा, ग्रहण जस्ता बिषयहरु ज्योतिषिहरुले ठ्याक्क ठ्याक्क मिलाउँने गर्छन । तर जब तिथी र पक्षहरुको बिज्ञानलाई ग्रहको दोष, ग्रह शान्ति, भाग्य निर्माण जस्ता अन्धबिश्वासमा जोडिन थालियो अनि ज्योतिषशास्त्रको बैज्ञानिक पक्ष कमजोर भयो । 

यो पर्व पाँच दिन मनाइन्छ । यो पाँच दिनमा पहिलो काग तिहार, दोस्रो कुकुर तिहार, तेस्रो गाई तिहार(लक्ष्मी पूजा), चौथो गोरु पूजा(गोबर्धन पूजा), पाँचौं भाइ तिहार पर्दछन् । यी सबै दिनका परम्परागत कथा र मान्यताहरु छन् , जसको चिरफार नगरि अबैज्ञानिक सोचाईले मनाउँन एक्काईसौं शताब्दीका मानिसहरुलाई शोभा दिंदैन ।

तिहारको हिन्दू मान्यता
परम्परागत कथा अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा उल्लेख गरिएको छ । यसरी सँगै बस्दा बैनी यमुनाको व्यवहारबाट खुसी भएर यमराजले बैनी यमूनालाई वर माग्न भनेको र यमूनाले प्रत्येक वर्ष आजकै दिन आउँनुपर्ने र दाजुबैनीको माया सँधै कायम रहोस् भन्ने चाहना व्यक्त गरिन् ।

यमराजले पनि हुन्छ भनेपछि त्यहि बेलादेखि यो परम्परा चलि आएको भनिएको छ । यस कथाको भावना साह्रै राम्रो छ तथापी यो घट्ना काल्पनिक कथा मात्र हो । हिन्दू धर्मशास्त्रको यमराज भनेको उमेरको हिसाबकिताब गरि उमेर पुगेकाहरुलाई उसको कर्म अनुसार स्वर्ग वा नर्क लैजानै पात्र हो ।

विज्ञानले आजको जमानामा सबैभन्दा टाढाको आकाशगंगाबाट आउँने शुक्ष्म किरणको समेत अध्ययन गर्न सकेको छ । त्यतिमात्र हैन चिकित्सा विज्ञानको माध्यमबाट विगतमा जुन रोगले मानिसहरु मर्थे अब त्यो रोगले नमर्नेसम्म बनाईसकेको छ । यस्तो अवस्थामा यमराजको कल्पना नै एउटा किम्बदन्ती हो । यस्तो किम्बदन्तीको पात्रलाई साँच्चैको पात्र मान्नु मुर्खता मात्र हो ।

अझ यमराजलाई सूर्यको पुत्र भन्ने कुरा झन केटाकेटीलाई फूल्याउँन भनिने कथा भन्दा कुतर्कपूर्ण छ । यस्तो अवस्थामा धार्मिक ग्रन्थहरुमा उल्लेख यमराज केवल कल्पना मात्र हो र कल्पनाको पात्रलाई लिएर बनाएको कथा आफैंमा काल्पनिक कथा हुनजान्छ । तर एउटा कुरा के सबल देखिन्छ भने यस पर्वले एकातर्फ मानव तथा पशुबीचको प्रगाढ सम्बन्ध देखाएर पशुहरुको समेत सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएको छ भने अर्कोतर्फ दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय सम्बन्धलाई बलियो बनाएको छ ।

तिहारको किरात मान्यता
तिहारको प्रचलन किरात राजा वलिहाङ्गको समयदेखि चलेको हो भन्ने मान्यता पनि देखिन्छ । इतिहासकार ईमानसिंह चेम्जोङ्गले ‘किरात इतिहास र संस्कृति’ नामक पुस्तकमा यो कुराको दावी गर्नुभएको छ । वलिहाङ्ग राजालाई आफू कार्तिक औंसीको दिन मर्ने निश्चित भएको महशुस भयो रे । कालले त्यहि दिन आफूलाई लिन आउँने भएकोले आफ्ना शुभचिन्तकहरुले दियो बालेर, फूलको कलसले स्वागत गर्दै काल (यमराज?) लाई अनुनय विनय गरियो भने आयु लम्बिन पनि सक्छ कि भन्ने आशाले दियो बालेर उज्यालो गर्ने र कालसँग वलिहाङ्ग सम्राटलाई बचाउँन आग्रह गर्ने कार्य गरियो । यहि समयदेखि दियो बाल्ने र उज्यालो पार्ने चलन चलेको हो भन्ने मान्यता देखिन्छ । यसो गर्दा वलिहाङ्ग राजाको तत्काल मृत्यु नभएको हुँदा शुभचिन्तकहरुले वलिहाङ्गको  ‘तियाहा (जय)’ भन्दै हिँडेको र त्यहि तियाहा शब्द अपभ्रंस भई तिहार भएको हुनसक्ने अनुमान देखिन्छ । 

काग तिहार 
कागपूजा कार्तिक कृष्ण त्रयोदशीका दिन मनाईन्छ । काग एउटा चलाख चरा हो । अन्नबाली काटेर घर भित्र्याए पछि खुसीयालीमा दशैं र तिहार मनाईने भएको सन्दर्भ त थाहा भएकै बिषय हो । कागले रोपिएको अन्नबालीमा लाग्ने कीरा(फट्याङग्राहरू खाइदिन्छ । यसरी किसानहरुको हितमा काम गरेकोले कागलाई त्यो दिन सम्मान गरिएको हुनसक्छ ।

कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिने र काग यमराजको अत्यन्त प्रिय भक्त पनि भनिने कुरा भने एउटा काल्पनिक अनुमान र कथनी मात्र हो । यमराजको दुत भन्ने कुरा लेखिएकोले पहिले पहिलेका मानिसहरुले आफ्नो उमेरभन्दा अघि मृत्यु नहोस भन्नका लागि कागको पूजा गरेका हुन भन्ने कुरामा सन्देह छैन । जे होस् कागलाई अन्नपानी, रोटी, दुधभात ई. दिन मानिसहरुलाई झक्झक्याउँने भएकोले यो दिनले मानिसहरुलाई पंक्षिहरुको संरक्षण गर्नुपर्ने चेतना भने दिएको छ । त्यसैले यस दिनलाई रचनात्मक सन्देशको दिनका रुपमा बुझ्ने र पंक्षीहरुको संरक्षण गर्नुपर्ने भन्ने चेतना विकासका दिनका रुपमा मनाउँन सकिन्छ ।

कुकुर तिहार 

तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, । यसका सम्बन्धमा  पनि धार्मिक कथा बनेकोे छ । हामी सबैले बुझ्नु पर्ने कुरा के छ भने मानिसले चेतनाको अभावका कारण प्रकृतिका अचम्म लाग्दा कुराहरु, आफू र परिवारलाई कष्ट दिने कुराहरु र आफूलाई मद्दत गर्ने कुराहरुको पूजा गर्ने गर्थे र यसैबाट कालान्तरमा कतिपय देवता र देवताका प्रतिकहरुको जन्म गरायो । ऋग्वेद पढ्ने जो कसैले यो कुराको अनुभुति गर्ने गर्छ । 

कुकुरलाई पनि यमदूतका रूपमा लिने र यसलाई अर्को प्रियभक्त मान्ने कुरा अविवेकी तर्क हो । तर कुकुर सदियौंदेखि मानिसको आज्ञापालक एवं रक्षक रहँदै आएको छ । मानिस कविला युगमा रहेको बेलादेखि नै कुकुरले शिकार गर्ने र रक्षा गर्ने सम्मका काममा सहयोग गरेको छ । अझ पछिल्लो समयमा त अपराध गर्ने अपराधीहरू पत्ता लगाउने तथा अपराधको अध्ययन /अनुसन्धान गर्नमा सबैभन्दा सहयोगी कार्य पनि कुकुरले गरेको छ ।

हजारौं बर्षदेखि कुकुरले मानिसको घरको रेखदेख तथा चोर(डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । यसै कारण कुकुरलाई पूजा गर्ने परम्पराको थालनी भएको मान्न सकिन्छ । कुनै पनि पशुपंक्षीले मानिसलाई लगाएको गुनको सम्मान गर्नु नराम्रो कार्य हैन । मानिसलाई सहयोग गर्ने पशुपंक्षीका कार्यहरुको बारेमा आफ्ना साना छोराछोरीहरुलाई सम्झाउँदै ती पशुपंक्षीको संरक्षणको चेतना दिने दिनको रुपमा यसलाई लिन सकिन्छ । तसर्थ त्यो दिन कुकुर दिवसका रुपमा कुकुरहरुलाई सम्मान गर्दै कुकुरलाई मन पर्ने खाना खुवाएर टीका र माला लगाउँनुलाई रुढीवाद भनेर पन्छाइहाल्न ठीक नहोला । तर यसमा रहेका आध्यात्मिक कथा र रुढिवादी ढर्रा भने हटाउँनैपर्छ ।

गाई तिहार ( लक्ष्मी पूजा ) 

हिन्दूहरु गाईलाई पवित्र जनावर मान्दछन् । अरु जनावरभन्दा गाई पवित्र के कारणले भएको हो र यसको गोबरदेखि गहुँतसम्मलाई पवित्र मान्दै प्रसादको रुपमा ग्रहण गर्नु कति स्वास्थका हिसाबले ठिक होला भन्ने कुरा त सामान्य चेतना भएका सबैले बुझ्नु पर्ने कुरा हो । तथापी गाई मानिसको लागि अति नै महत्वपूर्ण जनावर भने हो । त्यहि भएका कारण गाईलाई माताका रुपमा पूज्ने चलन विगतदेखि भएको हो । तर हामी चेतनशील मानिसहरुले भने गाई पूजा गर्ने भन्दा गाई दिवसका रुपमा गाईलाई सम्मान गर्नेतिर प्रयत्न गर्नुपर्छ ।

बैज्ञानिक सोचाईका मानिसहरुले पनि जनचेतनाका लागि पृथ्वी दिवस, वातावरण दिवस, कार्ल माक्र्स दिवस, मई दिवस ईत्यादी मनाउँने गरेकाछौं भने गाई दिवस मनाउँनु अन्यथा हुन्न । तर गाईलाई लक्ष्मी देवी मानेर यसको गोबर र गहुँतलाइ पन्चामृत भन्न थाल्छौं भने हामीहरु निश्चय नै एकखाले मनोरोगको शिकार भएको मान्नुपर्छ । यही मनोरोगको शिकार हुन र फोहर वस्तुबाट बच्न पनि गाई दिवसको रुपमा चेतना सहित गाई तिहार मनाउँनु ठिकै हुन्छ ।

कृषि र पशुपालन नै मुख्य उत्पादन रहेको तत्कालिन समाजमा गाईले पर्याप्त दुध दिने र दुधबाट अनेकौं पौष्टिक आहाराहरु प्राप्त गर्न सकिने भएकोले गाईलाई ईश्वरकै अंशका रुपमा त्यसबखतका मानिसहरुले सोच्नु अनौठौ कुरा हैन । गाईको दुधबाट मानिसलाई यति धेरै फाईदा हुने भएता पनि यदाकदा गाई मार्न र खान पाउँनुपर्छ भन्ने सोचाईलाई जबर्जस्त उठाउँन खोज्नु सामाजिक रुपले पनि त्यति फाइदाजनक देखिन्न । जुन प्राणीले मानिसलाई जुन किसिमले गुन लगाएको छ त्यसलाई त्यहि हदसम्म स्वीकार्नु ठिक हुन्छ कि !

अब रह्यो कुरा लक्ष्मी पूजाको । के लक्ष्मीको अस्तित्व जगतमा छ होला ! छैन । लक्ष्मी मानिसको कल्पनाले जन्माएको एउटा पात्र मात्र हुन । लक्ष्मीको कल्पना गर्नासाथ काल्पनिक ईश्वर बिष्णुले आफ्नो खुट्टा मिचाउँदै गरेको तस्वीर मस्तिष्कमा नाच्ने गर्छ । सामन्तवादी समाजमा महिलालाई पुरुषको दास मानिएको छ । यसअर्थमा पत्नीले पतिको खुट्टा मिचेर बस्नुपर्छ भन्ने सँस्कार सामन्तवादले स्थापित गरेको थियो ।

यहि सामन्तवादी चेतनाकै कारण वैदिक कालको पूर्वार्धमा देखा परेका काल्पनिक ईश्वर बिष्णुलाई सामन्तवादी युगमा मानिस जस्तै आकारको कल्पना गरियो र लक्ष्मीलाई उनको पत्नी बनाएर पत्नीको कथित कर्तव्यका रुपमा पति बिष्णुको खुट्टामा गई बस्ने कल्पना गरियो । यो कल्पना नै पुरुषवादी अहंकारवादले ग्रस्त छ । अर्को तर्फ लक्ष्मीलाई धनको देवी भनिएको छ । पहिले पहिले धेरै गाईवस्तु भएकाहरुलाई धनी भनिन्थ्यो । यस अर्थमा धेरै गाई हुनेहरुकोमा लक्ष्मीको वास छ भनिन्थ्यो । अब त पैसा र नोटको चलन आएको समाजमा पैसा र नोटलाई लक्ष्मी भन्न थालिएको छ ।

समाजको विकासक्रममा मानिसको चेतनाको स्तर अनुसार ईश्वरको कल्पना गरिने गरेको यथार्थलाई हामीले बिर्सनु हुँदैन । मानिसलाई जंगली यूगदेखि आजको बैज्ञानिक यूगसम्म ल्याईपु¥याउँने महत्वपूर्ण चीज भनेको मानिसको श्रम हो । श्रमले नै मानिसलाई चेतनशील बनाएको छ र श्रमले नै पुँजी, धन, पैसाको जन्म पनि गराएको हो । यसअर्थमा पुँजी श्रमको उपज हो । तर अहिलेको पुँजीवादी समाजलाई हेर्ने हो भने प्राकृतिक सम्पत्ति श्रम माथि कृत्रिम सम्पत्ति पुँजी हावी गराईएको अवस्था छ । हुन त दास युगमा पनि मालिकहरुले हारेका राज्यका मानिसहरुलाई दास बनाएर श्रममा लगाउँने गर्थे र आफू बसिबसि खाने गर्थे । बास्तवमा आदिम साम्यवादी समाजको अन्त्यसँगै श्रमलाई निचोरेर सम्पत्तिलाई प्रधान बनाउँन खोजिएको थियो । 

हिन्दू धर्ममा श्रमको देवता भनेर विश्वकर्मालाई मानिएको छ र धनको देवी भनेर लक्ष्मीलाई मानिएको छ । विश्वकर्मा पूजाको दिन केहि सीमित कारखानाहरुमा मजदुरहरुले पूजा गरेको देख्छौं तर लक्ष्मी पूजामा भने चौतर्फी बत्ति बालेर बडो तामझामले पर्व मनाउँछौ । उहि धर्ममा उहि पदनाममा बसेका काल्पनिक देवता विश्वकर्मा र काल्पनिक देवी लक्ष्मी बीच फरक सम्मान हुनुमा पनि सामाजिक विकासको कारण हो भन्ने स्पष्ट छ । श्रममाथि पुँजी (धन) हावी भएपछि सामाजिक सँस्कृतिमा पनि यसको असर परेको हो । 

हिन्दू मान्यता अनुसार कार्तिक कृष्णपक्ष औंसीको दिन नै रावणको बध गरि रामले अयोध्या फर्केर राजगद्दि सम्हालेको हुँदा सो खुसीयालीमा दिपावली मनाउँन थालिएको विश्वास छ । एउटा सामन्तवादी राजकुमार रामले अर्को सामन्तवादी राजा रावणलाई मारेकोमा गरिखाने बर्गले खुसीयाली मनाउँनुको औचित्य छैन । तत्कालिन समयमा जारी गरिएको उर्दीका कारण दिपावली भयो र त्यसले निरन्तरता पायो । अब हामीले गर्ने दिपावली रामको कथित सम्मानमा गरिएको भनेर ठान्ने वा धन दिने लक्ष्मीको बास होस भनेर गरिएको मान्ने गर्नुहुँदैन ।

धन आफैंमा श्रमको शोषण हो । धन त त्यसबेला कमाइन्छ जब अर्काको श्रम लुटिन्छ । धन त्यसबेला कमाइन्छ जब अर्काकोमा डाँका र चोरी गरिन्छ । धन त्यसबेला कमाईन्छ जब व्यापार (एकप्रकारको वैधानिक ठगि) गरिन्छ । अब भन्नुहोस् धनको देवी आईदिउँन भनेर कामना गर्नु बेइमानी सिकाईदेऊ भन्नु नै हैन र ! त्यसको बदलामा श्रम गर्ने आदत आओस् भन्ने कामना पो गर्नुपर्ने हो त ! किरातहरु र मगरहरुको मान्यता अनुसारको वलिहाङ्गको मृत्युसँगको जीतमा खुसियाली मनाइएको हो भने पनि त्यो मान्यतालाई रुपान्तरण गरेर समग्र समाजको सुखी र खुसी दिनका लागि कार्तिकको औसीको रातलाई उज्यालो पार्ने गरी मनाउँन सकिन्छ ।

गोरु पूजा (गोबर्धन पूजा)

तिहारको चौथो दिनलाई गोरु तिहार वा गोवर्धन पूजा भनिन्छ । पौराणिक कथानुसार गोकुल भन्ने ठाउँमा गोवर्धन नामको एउटा पर्वत थियो । त्यहाँका बासिन्दा गोपालहरुले देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । त्यहिंका एक जमिन्दारका पुत्र कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घाँस,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राखे । उनको कुरालाई मानेर सबैजना त्यसै गर्न राजी भई गोवर्धन पर्वतको पूजा गर्न थाले । आफ्नो सट्टामा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा ठूलो बर्षा गराए तर भगवान कृष्णले गोवर्धन पर्वतलाई कान्छि औंलाले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिए । आखिर इन्द्रले आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा मागे । त्यसैबेलादेखि गोवर्धन पूजाको चलन चलेको हो भन्ने गरिन्छ । 

यो कथामा केहिकेहि सत्यता भए पनि कथालाई विभिन्न अलंकारहरुले सजाएर प्रस्तुत गरिएको छ । संस्कृतमा गौ भनेको गाई हो । गाईपालनसँग सम्बद्ध समाज भएकोले गाईचरण हुने पहाडलाई गोवर्धन, गाईपालन हुने ठाउँलाई गोकुल र गाईपालकलाई गोपाल भनिएको हो । इन्द्र नाम नभएर पद हो । विभिन्न कालखण्डमा फरक फरक इन्द्र रहेको देखिन्छ । वैदिक कृषि र पशुपालनको अवस्थामा इन्द्रको पूजा गरिन्थ्यो । इन्द्रलाई पूजा गरे आकासे पानी पर्छ भन्ने जनबिश्वास पनि थियो । कृष्णले गोबर्धन पर्वतलाई आधार मानेर कृषि र पशुपालनको अर्थतन्त्रमा परिवर्तन ल्याए । कृष्ण र इन्द्रबीचको झडप र मनमुटाव यही पुरातन उत्पादन प्रथा र नयाँ उत्पादन प्रथा बीचको मतभेद नै हो । केवल कथालाई महिमामण्डन गर्दै कृष्णले कान्छि औंलाले गोवर्धन पर्वत उठाएर इन्द्रलाई तह लगाएको कथा बुनिएको हो । 

परम्परागत कृषि प्रणालीमा जोत्ने साधन हलगोरु थियो । त्यसबेला गोरुलाई सम्मान गरेर गोरु पूजा गर्ने र कृष्णको कथासँग जोडेर गोरुलाई पोषण दिने गोबर्धन पर्वतको पूजा गरिन्थ्यो । जतिजति कृषि अर्थतन्त्रमा बैज्ञानिक विकास हुन्छ त्यति त्यति कृषिमा गोरुको उपादेयता समाप्त हुँदै जान्छ । कालान्तरमा गोरुपूजाको सान्दर्भिकता समाप्त हुन पनि सक्छ ।

भाइ तिहार 
 
तिहारको अन्तिम दिन भाइ टीका मनाइन्छ । यो पर्वमा दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष माया र सम्मानका साथ टीका लगाईदिएर मनपर्ने कुरा ख्वाउने र दिदीबहिनीलाई उपहार दिने परम्परा छ । धार्मिक ग्रन्थ अनुसार यमराजलाई बहिनी यमूनाले दाजुका शत्रुहरु नास होउँन भन्दै मायाप्रेम प्रस्तुत गरेकी हुँदा त्यसदिनलाई भाइ तिहार भनिएको भनिन्छ । 

काल्पनिक कथाहरुलाई एकातिर थाति राखेर बिश्लेषण गर्ने हो भने पनि भाइ तिहारले दाजुबैनी र दिदीभाइबीचको प्रेमसम्बन्धलाई प्रगाढ बनाएको छ । विवाह गरि गएका दिदीबैनीहरुसँगको मायालाई बलियो बनाउँने भूमिका खेलेर यो पर्वले सामाजिक सम्बन्धको औचित्यलाई थप मजबुत पारेको छ । टीका लगाउँने प्रथा आध्यात्मिक सोंचले मात्र चल्दैन । यो त शुभ कामना अभिव्यक्त गर्ने शैली पनि हो । सयपत्री र मखमलीको फूलको माला, सप्तरंगी टीकाले एकखालको भावनात्मक एकतालाई प्रस्तुत गर्दछ । 

घरबाट टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरु जुनसुकै समस्यालाई झेलेर भएपनि यो दिनएकै ठाउँ भेला हुन्छन । सामाजिक सम्बन्ध बिकासको यो अभुतपूर्व कडि हो । अचेल भारतीय सँस्कृतिको प्रभावमा परेर राखी मनाउँने चलन आएको छ । भारतीय पुँजीवादले नेपालभित्र पनि राखीको प्रभाव बढाएर व्यापारिक गतिविधिको अर्को थप उपाय खोज्दैछ । बर्षमा दुईवटा दाजुभाइ दिदीबैनीको पर्व बनाउँनतिर लाग्नु उचित हैन ।

तिहार र देउसी भैलो 

अयोध्यावासीहरुले रामको अयोध्यामा आगमन भएको खुसीयालीमा दिपावली गरेका र मानिसहरुले घरघरमा, गल्लीगल्लीमा “देव श्री राम” को नारा लाउँदै घुमेका थिए भनिन्छ । देव श्री रामबाट अपभ्रंस हुँदै देउसिरी राम भयो र त्योबाट पनि अपभ्रंस हुँदै देउसिरे भन्न थालिएको भनाई पाइन्छ । यसमा केहि सत्यता त होला किनभने राम आखिर राजा नै थिए र रैतीहरुले उनको जयजयकार गर्नु त्यसबेलाको युगमा अनिवार्य नै थियो । तर राम ईश्वर भने थिएनन् । एउटा चर्चित राजा रावणलाई मारेपछि उनी प्रख्यात भएका हुन ।

किरात मान्यतामा वलिहाङ्ग राजाको मृत्युसँगको विजय पछि टाढा टाढाका गाउँका जनतालाई राजा जीवित छन् भन्ने सन्देश दिन हामीलाई मृत्युको पूर्व जानकारी पाउँने ‘तेअङ्सी (त्रिकालदर्शी)’ राजा वलिहाङ्गले पठाएका भन्दै अभियान चलाए । यहि ‘तेअङ्सी’ शब्द नै अपभ्रंस भएर ‘देउसी’ भएको र त्यो ‘तेअङ्सिरे (महात्मा)’ हुँदै ‘देउसिर’े भएको भन्ने मान्यता पनि छ ।

देउसी भट्याउँदा बलिराजाको प्रसंग पनि आउँछ । बलि राजा अत्यन्तै दानी र प्रजाहरुलाई माया गर्ने राजा थिए रे । उनको लोकप्रियताले देवताहरु आतंकित भए । देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे । त्यसपछि बिष्णुले वामन (बाहुन्ने)को रुप लिएर बलि राजासँग तीन पाउ जमिन दानको याचना गरे । बलिले पनि सोचे कि “यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरु पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश ढाक्यो । त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो टाउको थापे, टाउकोमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे ।

पातालमा भासिनु अघि बलिराजाले विष्णुसित वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस भनेर याचना गरे । यस प्रार्थनालाई स्वीकारेर बिष्णुले बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए । बलिराजा यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ । त्यस्तै गरि बलिराजा आउँन नसकेको खण्डमा उनका सहयोगीहरु पृथ्वीमा देउसेका रुपमा आउँछन भन्ने भनाईका साथ “ हामी त्यसै आएनौ, बलिराजाले पठाए” भनेर देउसीभैलो समेत खेलिन्छ ।  स्त्रीहरुले बलिको स्वागतमा बलि गीत गाउँने गर्थे रे । त्यहि बलि गीत अपभ्रंश भएर भैली गीत भएको समेत भनिन्छ । 

यस कथामा वामन अवतार भनेको कुनै देवगणको पक्षधर पुड्के मानिस हुनुपर्छ । दानब राजाको दानकार्य वा जनमुखी कार्यको प्रभावले गर्दा यस जगतका मानिसहरुमा दानबप्रति आस्था बढ्ने भएको हुँदा देवता गणले बलि राजाको प्रभावलाई निस्तेज गर्न छल गरी उनको अवसान गराएको हो । यो राजनैतिक दाउपेचकै एउटा कडि हो । अहिलेको बिश्व राजनीतिलाई हेर्दा पनि हामीले देख्छौं कि न्यायपूर्ण समाजवादी राज्यसत्तालाई पुँजीवादीहरुले अनेक दाउपेच गरेर परास्त गर्न खोज्दछन् ।

अहिले पनि नीजीकरण,उदारीकरण र भूमण्डलीकरण भन्ने नारा पुँजीवादी नवबामन अवतारहरुले सर्वाहारा बर्गको राज्य स्थापना हुन नदिन अघि सारेका तीनवटा पाउहरु नै हुन् । पुँजीवादीहरुले अघि सारेका यी तीनवटा पाउहरुलाई राख्ने ठाउँ नदिने राज्यसत्तालाई उनीहरु लोकतन्त्र बिरोधी भन्दै ढाल्न तम्सन्छन् अनि जब कुनै समाजवादी वा न्यायपूर्ण वितरणका पक्षपाति राज्यसत्ताले यी तीनवटा पाउहरुलाई राख्न राजी हुन्छन तब त्यो राज्यसत्ता नाफाखोरहरुको पन्जामा परेर सर्वाहारा श्रमजीवी वर्गको बिरोधी बन्न पुग्छ । 

कथित बिष्णु भनिएको त्यस पुड्के मानिसले कुनै अप्ठ्यारो स्थिति पारेर बलि राजासँग उनको राज्यको अधिकांश भूमि मागेको हुनुपर्छ । त्यसैगरी दान गरिएको भूमिमाथि र आकाशमा पनि बलि राजाको अधिकार हुन नहुने शर्त वामन (पुड्के) मानिसले गरेको हुनुुपर्छ । तसर्थ, तीन पाउ भूमि भन्ने माग गरेको भन्नु नै बलि राजाको अधिनमा रहेको भूमि र आकाशमाथि आफ्नो अधिकार रहोस् भनेर माग गर्नु हो । अन्तमा बलि राजालाई पाताल पु¥याउँनु भनेकै  बली राजालाई देश निकाला गरेको वा लखेटेको हो अनि सम्पूर्ण राज्यमा कथित विष्णुका नाममा देवता गणहरुले अधिकार कायम गरेको हो, जसलाई तेस्रो पाउ राखेको भनी धार्मिक साहित्यमा लेखिएको हो ।

त्यस्तै किराती वा मगर मान्यता अनुसार वलिहाङ्ग राजाकै नामबाट भैलो चलेको हो । मगरको इतिहासमा पनि इसा चौधौं शताब्दीतिर नेपालको हाल पाल्पा जिल्लाको बल्ढेगढी भएको ठाउँमा वलिहाङ्ग भन्ने राजा रहेको मान्यता छ । मगरका अन्य साना राज्यहरु एकिकरण गर्न जनसमूदायले साथ दिएको हुँदा आफू बाँच्न सफल भएको र राज्य बलियो भएको भन्दै खुसियालीमा दिपावली गर्ने चलन चलेको भन्ने मान्यता देखिन्छ ।

राजा वलिहाङ्गका दुतहरुले गाउँ गाउँमा पुगेर ‘फाईलो—फाईलो’ भन्दै हिँडेको भन्ने भनाई छ । ‘फाइलाे' भनेको मगर भाषामा ‘हामीले बचायौं’ भन्ने हो भनी मगर लेखकहरुको भनाई छ । यहि ‘फाइलो’ भन्ने शब्द नै अपभ्रंस भई ‘भैलो’ भएको हो भन्ने पनि मान्यता छ । हिन्दू धर्म पक्षधर धेरै रहेको भारतमा दिवाली मनाउँने गरेको देखिन्छ तर नेपालमा देउसी, भैलो सहित तिहार भनेर मनाउँने चलन छ । यसरी हेर्दा हिन्दूहरुको मान्यता र किरातहरुको मान्यता मिसिएर नयाँ पर्वको रुपमा तिहारले विकास गरेको पनि हुनसक्छ ।

धार्मिक कथाहरुले जे भने पनि वा देउसी भैलोको चलन जसरी चलेको भए पनि अहिले नेपाली समाजमा देउसीभैलो लोकप्रिय चलन भएको छ । सामाजिक विकासक्रममै हिन्दूहरुको ‘देव श्री राम’ वा किरातको ‘तेयङ्सिरे’ भन्ने कुरा देउसिरेमा बदलिएको र बलि गीत पनि फेरिएर भैली गीत भएको वा फाइलो शब्द भैलो मा फेरिएको अवस्थामा यसलाई परम्परागत मान्यतामै रहेको भन्न पनि सकिन्न । कम्युनिष्टहरुले समेत देउसीभैलोलाई सामाजिक चलनका रुपमा बैचारिक रुपान्तरणको दायरामा देउसीभैलोलाई राखेर सबैभन्दा बढी र सक्रिय ढंगले मनाएका छन् । 

निस्कर्ष 
तिहार वा चाँडपर्व मान्ने र नमान्ने मानिसको व्यक्तिगत अधिकारको कुरा हो । कसैलाई मान्नैपर्छ भन्ने दबाव दिनुपनि हुँदैन । तर फेरि तिहार मनाउँनु हुँदैन भनेर सोच्नु पनि अबको सन्दर्भमा समाजबाट एक्लिने अवस्थामा पुग्नु हुनजान्छ कि ! तर तिहार मान्ने नाममा रुढिवादी ढर्रालाई पछ्याउँदै लक्ष्मी र गोबर्धनको पूजामा रम्ने कार्य बैज्ञानिक भने छैन । समाजका अधिकाँस मानिसहरुले दिपावली गरेको बेला आफ्नो घरलाई दिपावली विहिन राखेर अलगथलग देखिने चरित्रले समाजमा घुलमिल हुन सकिन्न र समाजमा घुलमिल नभई सँस्कृतिमा रुपान्तरण ल्याएर श्रमप्रतिका आस्था जगाउँने सँस्कारको विकास पनि गर्न सकिन्न ।

तिहारका बेला भारतबाट आयात हुने पटाखा, झिरझिरे, भुईचक्कडका कारण नेपाली अर्थतन्त्रलाई गम्भिर आघात पार्ने गर्छ । साम्राज्यवादीहरु यस्तै खाले पर्वलाई बढी मलजल गरेर प्रस्तुत गर्छन अनि बढीभन्दा बढी नाफा आर्जन गर्दै साना देशहरुलाई आर्थिक कंगाल पारेर उपनिवेश बनाउँन योजना तयार गर्छन । सँस्कृति मान्दा यस कुरामा हेक्का राख्नुपर्छ । अर्को तर्फ समाजमा चलिरहेको सँस्कृति वा पर्वलाई विस्थापित गरेर नयाँ चलन चलाउँने प्रयत्न पनि साम्राज्यवादीहरुले साँस्कृतिक हस्तक्षेप मार्फत गरिरहेको हुन्छन, त्यस हस्तक्षेपबाट जोगिन परम्परागत रुपले चलेका पर्वमा साँस्कृतिक रुपान्तरण गर्दै मनाउँन जरुरी हुनसक्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिहेवारी : कानुन उल्लंघन र सजायको व्यवस्था

  • ११ मङ्सिर, २०७७

बिवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको स्वतन्त्र सहमतीमा आधारित एक पवित्र समाजिक तथा कानुनी बन्धन हो  ।

समस्या समाधान गर्ने बिम्ब हुन 'प्रचण्ड'

  • १० मङ्सिर, २०७७

पूर्व माओवादीहरुको फुटले कमजोर प्रचण्डलाई मात्रै बनाएको छैन । मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द सबैलाई कमजोर बनाएको छ । पुनः शक्ति

'ओलीका विषयमा प्रचण्डले उठाएका विषय सही छन्, राष्ट्रिय छलफल गरौं' -गगन थापा

  • ३ मङ्सिर, २०७७

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीका विषयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएका विषय