• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

महेन्द्रनगर ।  गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घाइते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर छ”, प्रवक्ता थापाले  भने , “आमालाई उपचारका लागि धनगढी पुर्याउँदा मृत्यु भयो ।”

दुर्घटनालगत्तै त्यहाँ केही समय स्थिति तनावग्रस्त बनेपछि राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो । प्रहरीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर