जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि प्रहरीको ३ महिने अभियान

बुटवल । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेशमा  प्रहरीले ३ महिने अभियान शुरु भएको छ । 
प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारका अनुसार जातीय छुवाछुत तथा विभेदको अन्त्य गर्न साथै समाजमा हुने वालविवाहको न्यूनीकरण गर्न र यस्ता विभेदका विषयमा शुन्य सहनशिलता कायम गर्न अभियान शुरु गरिएको छ ।

“जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागी लुम्बिनी प्रदेश प्रहरीको ३ महिने अभियान” नाम दिइएको यस अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधान बारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिनेछ । 


यो अभियानको मुख्य उद्देश्य समाजमा हुने जातीय छुवाछुत तथा वालविवाह जस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पु¥याइ जातिय विभेद तथा बालविवाह मुक्त समाजको सिर्जना गर्नु रहेको प्रहरीले जनाएको छ  ।


हिजोबाट सुरु भएको अभियान चैत २६  गते सम्म तीन महिना लुम्विनी प्रदेशस्तरका सम्पुर्ण जिल्ला १२ र इलाका प्रहरी कार्यालय ५३ गरी ६५ प्रहरी कार्यालयबाट संञ्चालन गरिने छ । यो अभियानको अवधिभर कम्तिमा ३ सय ९० वटा कार्यक्रमहरु संचालन हुने प्रहरीले जनाएको छ ।


लुम्विनी प्रदेश प्रहरीले संचालन गरेको यस अभियानलाई उपलब्धिमुलक बनाउन सबै लाई सक्रिय सहभागि बन्न प्रहरीले अनुरोध गरेको छ । कसै माथि अपराध भएमा वा भईरहेको थाहा पाएमा प्रहरी लाई सूचना दिन पनि प्रहरीले अनुरोध गरेको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर