प्रदेश ७ मा वर्षेनी बढ्दै सवारी दुर्घटना, ४ वर्षमा ५ सय ६६ को मृत्यु

हिमाल जोशी/कैलाली ।

सवारी दुर्घटना न्यूनीकरणका अनेक उपाय अपनाइरहँदा पनि प्रदेश नम्बर ७ मा हरेक वर्ष सवारी दुर्घटनाको ग्राफ भने बढ्दो छ ।  पछिल्लो ४ वर्षयता प्रदेश नम्बर ७ मा  ८ सय ९२ सवारी दुर्घटना हुँदा ५ सय ६६ जनाले ज्यान गुमाएका छन् । 

आर्थिक वर्ष २०७१/०७२ मा २ सय ११ सवारी दुर्घटना हुँदा १ सय ४७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष  २०७२/०७३ मा अघिल्लो वर्षको भन्दा दुर्घटनामा केही कमी आए पनि २०७३/०७४ मा भने सवारी दुर्घटना ह्वात्तै बढेको छ । २०७२/०७३ मा २ सय ७ सवारी दुर्घटना हुँदा १ सय ३२ जनाको मृत्यु भएको थियो । जसमा ८३ जना पूरुष, १८ जना महिला, १३ बालक र ७ बालिका थिए । 
आर्थिक वर्ष २०७३/०७४ मा सवारी दुर्घटनामा परी अघिल्लो वर्षको भन्दा ४७ जना बढी मानिसको ज्यान गयो । सो समयमा २ सय ५५ सवारी दुर्घटना हुँदा १ सय ३२ जनाले ज्यान गुमाएका थिए भने २ सय ६ जना गम्भीर घाइते भएका थिए । 

आर्थिक वर्ष ०७४/७५ मा पनि प्रदेश नम्बर ७ मा २ सय १९ वटा सवारी दुर्घटनामा परी १ सय  ६६ जनाले ज्यान गुमाएका छन् । मुत्यु हुनेमा सबैभन्दा बढी पुरुष रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर ऐरले जानकारी दिए । 

१ सय ६६ मध्ये १ सय १३ जना पूरुषको मृत्यु सवारी दुर्घटनाबाट भएको उनले बताए ।  प्रदेश नम्बर ७ मा हुने सवारी दुर्घटना मध्य सबै भन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको पाइएको छ । विगत ४ वर्षको अवधिमा प्रदेश ७ का ९ वटै जिल्लामा गरी २ सय ४६ मोटरसाइकल दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७१/०७२ यता प्रदेश नम्बर ७ मा क्रमशः ७६, ८०, १ सय ८ र ८२ वटा मोटर साइकल दुर्घटना भएका छन् । मोटरसाइकल पछि प्रदेश नम्बर ७ मा बस बढी दुर्घटना हुने गरेको पाइएको छ ।

आव २०७१/०७२ यता क्रमशः ४२, ३५, ३८ र ३५ गरी २ सय १० वटा बस दुर्घटनामा परेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी ऐरले जानकारी दिए । ट्रक र ट्याङ्कर दुर्घटनाको दर पनि प्रदेश नम्बर ७ मा उच्च छ । विगत ४ वर्ष यता यस क्षेत्रमा ७३ वटा ट्रक र ट्याङ्कर दुर्घटना भएका उनले बताए । 

आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश नम्बर ७ मा ५७ हजार ५ सय ३४ सवारी चालकलाई गरिएको ट्राफिक कारवाहीबाट ३ करोड ३० लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको राजश्व संकलन भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर