पूर्वका अधिकांश पानी उद्योग मापदण्ड विपरित संचालित

दर्ता नभएका पानीको जार बजारमा

गोकुल पराजुली

विराटनगर । मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने पिउने पानी उत्पादन गर्ने ९० प्रतिशत भन्दा बढी उद्योग प्रचलित मापदण्ड विपरित संचालन भइरहेको पाइएको छ । 

 

प्रदेश १ मा संचालित ९५ पानी उत्पादक उद्योगहरुमध्ये पाँच उद्योगले मात्र मापदण्ड पुरा गरेर बजारमा उत्पादन बिक्री गरिरहेका छन् । बाँकी ९० उद्योगहरु मापदण्ड विपरित संचालन गरिएका छन् र तिनले पूर्णरुपमा प्रशोधन नगरेका तथा सुरक्षाकालागि आवश्यक विधि अवलम्वन नगरी पानी बजारमा बिक्री गरिरहेका छन् । 

 

नेपाल सरकारले पानी प्रशोधन गरी बोटलिङ गर्दा अटोमेटिक बोटलिङ प्रणाली छ महिना अघि नै अनिवार्य गरेको भएपनि त्यो व्यवस्था बजारमा कार्यान्वयन भएको छैन । पानी उत्पादक उद्योगहरुले अटोमेटिक प्रणालीमा जाने वा उत्पादन बन्द गर्ने दुई विकल्पमध्ये एउटा रोज्नु पर्ने भएपनि अहिलेसम्म धेरैले सरकारको नयाँ मापदण्ड अपनाउन अटेर गरिरहेका छन् । 

 

त्यस्ता उद्योगमाथि कारवाही गर्ने विषयमा भने राज्य संयन्त्र मौन देखिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले मापदण्डमा आउन सबै उद्योगलाई पटक पटक जानकारी गराएको तर पाँच ओटा मात्र मापदण्डमा आएको बताए  । 

 

उनले पानी उत्पादन उद्योगहरु एकै पटक बन्द गर्दा पनि बजारमा समस्या आउन सक्ने भएकोले केही समय पर्खिको तर अब समय धेरै वितेकोले छिट्टै मापदण्डमा नआउने उद्योगहरु बन्द गर्ने तर्फ अघि बढ्ने जानकारी दिए । पूर्व क्षेत्रमा गुणस्तरीय पानी उत्पादन गरेर बजारमा लैजाने उद्योगहरु अत्यन्त न्युन छन् ।

 

जमिन मुनिको पानी निकालेर साधारण फिल्टरबाट फिल्टर गर्ने र कालो प्लाष्टिकको ट्यांकीमा जम्मा गरेर जार र बोटलमा प्यकिङ गर्ने साधारण विधिबाट अधिकांश उद्योगले व्यवसाय चलाएका छन् । पानीका कारण झण्डै ४५ प्रतिशत रोगहरु संक्रमण हुन्छ ।

 

त्यसबाट बच्न शुद्ध पानी पिउन जरुरी छ । तर बजारमा पैसा तिरेर किनेको पिउने पानी पनि शुद्ध पाउन मुस्किल रहेको पानी उत्पादक संघ प्रदेश १ का संयोजक पुण्य भट्टराई बताउछन् । उनले पानीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले गुणस्तरीय उत्पादन मात्र बजारमा लैजान संघले आवश्यक पहल र प्रयत्न जारी राख्ने बताए । 

 

एक साता अघि मात्र खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीले गुणस्तरहीन पानी उत्पादन गर्दैआएको मोरङ उर्लावारीको एउटा उद्योगमा शिलवन्दी गरेको थियो । 

दर्ता नै नगरि पानी उत्पादन र बिक्री
विराटनगर ४ स्थित कञ्चनवारीमा पानी उत्पादनको अनुमती बिना नै उद्योगले उत्पादन गरिरहेको भेटिएको छ । उद्योग दर्ता गरेर सिधै पानी उत्पादन र बिक्री भइरहेको भेटिएपनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कारवाही गर्ने जनाएको छ । 

 

गोमारानी उद्योगको नामबाट अक्वा निकिगंगा ब्राण्डको पानीको गुणस्तर परिक्षण नगरी ठुला जार र साना बोटल बजारमा बिक्री भइरहेको छ । सो उद्योगले अटोमेटिक बोटलिङ प्रणाली जडान गरेको छैन भने फिल्टर प्रणालीपनि परम्परागत रहेको छ । 

 

गुणस्तर परिक्षण नगरी खाद्यवस्तु उत्पादन तथा बिक्री विरतण गर्न पाइदैन । त्यस्ता उद्योगलाई कानुनी दायरामा ल्याई मापदण्ड पुरा गर्न लगाउने वा उत्पादन रोक्ने कारवाही हुनसक्छ । त्यस बाहेक अनुमति नदिई उत्पादन र बजारीकरण गरेवापत आर्थिक जरिवाना गर्न सकिने भएकोले ति सबै कानुनी प्रकृया अपनाएर कारवाही गर्ने क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले बताए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर