संविधान अपूर्ण भएका कारण विकासमा बाधा : मन्त्री राय

नेहा झा/जनकपुरधाम । प्रदेश २ को विकासका लागि सबै राजनीतिक दल एक हुनुको विकल्प नरहेको एक कार्यक्रममा वक्ताहरूले बताएका छन् । चेतना नामक संस्थाले जनकपुरधाममा आयोजना गरेको उद्योग, रोजगार र विकास विषयक गोष्ठीमा बोल्दै वक्ताले राजनीतिक दल एक ध्रुवमा खडा नभएकै कारण विकास हुन नसकेको बताए । 

कार्यक्रममा प्रमुख अतिथि बनेका प्रदेश २ का उद्योग वन तथा पर्यटनमन्त्री रामनरेश रायले अपूर्ण संविधानका कारण विकासमा बाधा पुगिरहेको जिकिर गरे । उनले भने, ‘पूर्ण संविधान भएको भए प्रदेश सरकार गठन भइ सकेपछि प्रत्येक प्रदेशले विकासतर्फ तीव्रगतिमा अगाडि बढ्ने थियो ।’ मन्त्री रायले प्रदेश विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहे पनि त्यसअघि मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनु अति आवश्यक रहेको धारणा राखे । उनले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म प्रदेश २ को विकास असम्भव रहेको दाबी गरे । 

प्रदेश सरकारलाई सहयोग गर्ने बताउँदै हिड्ने प्रतिपक्षी दलका नेताहरु प्रदेश सरकारलाई कति सहयोग गरिरहेका छन् भन्ने कुरो कसैबाट नलुकेको मन्त्री रायले गुनासो गरे । चेतनाको अध्यक्ष एवं राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले विकासको नाउँमा सबै दल एक ठाउँमा उभिनु आवश्यक रहेको बताए । उनले विकासको नाउँमा अन्य प्रदेशका दलहरु एक ठाउँमा उभिन सक्छ भने प्रदेश २ का दलहरु किन उभिन सक्दैनन् भन्ने प्रश्न गरे । उनले प्रदेशको सम्पन्नताबाटै पहिचान पाउन सक्ने भन्दै प्रदेशको विकासका लागि सबै निकायलाई एक ठाउँमा आउन आह्वान समेत गरे । 

प्रदेश २ नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले विकासको नाउँमा राजनीति नगर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो दल प्रदेश विकासका लागि प्रदेश सरकारलाई सहयोग गर्न तत्पर रहेको बताए । 

राजपाका सचेतक परमेश्वर साहले प्रदेश विकासका लागि उद्योग खोल्नु आवश्यक रहे पनि त्यसको श्रोत र साधनको विषयमा पहिले अध्ययन हुनु आवश्यक रहेको बताए । 
कार्यक्रममा प्रदेश २ को नीति आयोगका सदस्य सुरेन्द्र झाले आर्थिक सुरक्षाको ग्यारेन्टी नभएकै कारण यो प्रदेश मात्र नभई देशमै उद्योगपतिहरुले लगानी गर्न नचाहिरहेको बताए । उनले नीति आयोगले यस विषयमा ठोस योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा राजनीतिज्ञ, बुद्धिजीवि, नागरिक समाजका प्रतिनिधि, उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर