• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

काठमाडौँ । सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ ।
 
    सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग पूरा हुने भएको छ ।
   
१५ गतेदेखि नै प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्थाको अन्त्य गर्दै गोलाप्रथा प्रणालीबाट पेसी तोकिने अभ्यास शुरु हुनेछ । त्यसरी तोकिने गोलाप्रथा प्रणालीमा पनि प्रधानन्यायाधीशले भाग लिन नपाउने अडान न्यायाधीशहरूले राख्दै आएका छन् । तर, प्रधानन्यायाधीशले नै पेसी व्यवस्थापन निर्देशन समितिको अध्यक्षता गर्ने हुँदा उनीहरूको अडान भने प्रधानन्यायाधीश तयार भए मात्र लागु हुनेछ ।

न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग इजलासमा नबस्ने र प्रधानन्यायाधीशले तोकेको इजलासमा नजाने अडान राखेपछि प्रधानन्यायाधीशबाहेकको बैठकले सर्वोच्च अदालत दोस्रो संशोधन नियमावलीको मस्यौदा तयार पारेको थियो । त्यसलाई कानुन मन्त्रालयले स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको मिति सर्वोच्चको पूर्ण बैठकबाट नतोक्दा लागु हुन सकेका थिएन ।

आजको फुल कोर्ट बैठकको निर्णयसँगै यही मंसिर १५ गतेदेखि नयाँ नियमावली कार्यान्वयनमा आउने भएको छ ।

    सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुनसकेको छैन । बिचबिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमति रुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर