बेरोजगारीः साढे १७ हजार शिक्षकका लागि दुई लाखको आवेदन

काठमाडौं । नेपालमा बेरोजगारीको अवस्था कस्तो छ भन्ने आँकलन गर्न पछिल्लो एउटा उदाहरण काफी देखिएको छ । देशमा शिक्षित बेरोजगारहरु रोजगारीको लागि विदेश पलायन भईरहेका बेला शिक्षक सेवा आयोगले खोलेको एउटा विज्ञापनमा आश्चार्यजनक आकर्षण देखिएको हो । 

प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि साढे १७ हजार शिक्षक माग गर्दा दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । आयोगले प्रावि तहमा १३ हजार दुई सय ९७, निमाविमा दुई हजार ६ सय ६ र माध्यमिक तहमा एक हजार पाँच सय ५२ शिक्षकका लागि विज्ञापन गरेको थियो । त्यसको १२ गुणा बढी आवेदन परेको छ । 

माध्यमिक तहका लागि ३६ हजार पाँच सय ५२ जनाको निवेदन परेको छ । त्यस्तै, निमावि शिक्षकका लािग ८६ हजार नौ सय १४ र प्राविका लागि ९७ हजार २९ आवेदन परेका छन् । 

तीन वर्षको अन्तरालमा यति धेरै पदपूर्ति हुन लागेको र शैक्षिक योग्यता बढी भएकाले तल्लो तहमा पनि आवेदन दिएकाले संख्या धेरै भएको हुन सक्ने अनुमान गरिएको छ । 

शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार दुई सय ९७ शिक्षक माग गरेको छ । यसमा खुलातर्फ सात हजार दुई सय तीन, आदिवासी जनजातितर्फ एक हजार पाँच सय ९०, मधेसी एक हजार दुई सय ९८, दलित पाँच सय ३०, अपांगता भएका दुई सय ९३ र पिछडिएको क्षेत्रबाट दुई सय ३४ शिक्षक माग गरिएको छ । त्यस्तै, करिब दुई हजार महिला शिक्षकको मागेको छ । जसमा खुलातर्फ एक हजार आठ सय ५४, दलित ६० र मुस्लिम ३० शिक्षक माग गरिएको छ ।

शिक्षक बन्नका लागि अहिलेसम्म सात लाख १७ हजार एक सय पाँच जनाले अध्यापन अनुमतिपत्र लिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर