• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेतृत्व लिन महिला सक्षम छौं : रेणुका चौंलागाई 

माओवादी जनयुद्ध सुरु भएदेखि नै संगठनमा आवद्ध रेणुका चौलागाई चांैरी देउराली गाउँपालिकाको अध्यक्षमा उम्मेदवार हुन् । वि.सं. २०३५ सालमा काभ्रे जिल्लाको कात्तिके देउराली–६ मा जन्मिएकी चांैलागाई सानैदेखि विद्रोही स्वभावकी थिइन् । परिवर्तनको चाहना राख्ने उनी अन्याय, अत्याचार, शोषण र दमनका विरुद्ध आवाज उठाउनु पर्छ भन्ने मान्यता राख्थिइन । त्यसैको परिणाम अपरिपक्व उमेर १६ वर्षमै उनले जनवादी विवाह  गरिन् । 

छोरी मान्छे राजनीतिमा लागेको खबरले परिवारमा उनको विवाह गरिदिने चर्चा चल्न थालेपछि राजनीतिक पृष्ठभूमि भएको परिवार चौरीदेउराली गाउँपालिका–५ पोखरी चौरीका नविन गौतमसँग उनले विवाह  गरिन् ।  

२०५२ सालमा माओवादी जनयुद्ध सुरु हुनु र त्यहीताका उनले पनि जनवादी विवाह गर्नुले तत्कालिन समाजमा निकै तहल्का मच्चियो । सिन्दुर, पोते, चुरा धागोको सट्टा उनले अविर लगाएर दियो बाली हात मिलाएर विवाह गर्नु तत्कालिन समाजमा  निकै ठूलो चुनौती थियो । जुन उनले गरिन्  । त्यसपछि समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन आयो, प्रहरीका लागि उनी मुख्य तारो बनिन् । माओवादी र प्रहरीबीच कतै भिडन्त हुँदा प्रहरीले उनलाई नै शंका गर्ने, सोधपुछ गर्ने, नौ कक्षाकी बालिकालाई बाटो छेकेर, विद्यालयमै पुगेर, घरमै पुगेर प्रहरीले सोधपुछ गथ्र्याे । विस्तारै पढ्ने वातावरण हराउँदै गयो । 

स्थानीय स्कुलमा अध्ययनरत रहँदा उनी तत्कालिन एकताकेन्द्रको विद्यार्थी संगठनमा आवद्ध  थिइन् । विद्यालयमा उनी  (चौलागाई) मात्रै राजनीतिमा आवद्ध  थिइन् ।  राजनीतिमा लागेको खबरले कोही छक्क पर्थे, कोही कुरा काट्थे । 

प्रहरीको पटक पटकको धरपकडका कारण श्रीमान गौतम र उनका दाजु यान प्रसाद गौतम पनि भूमिगत  भए । पछि २०५६ सालमा तत्कालिन सरकार पक्षले पक्राउ गरी उनका श्रीमानलाई वेपत्ता बनायो ।  

माइतीघर नजिकैको स्कुलमा पढ्न अप्ठेरो भएपछि घर नजिकैको स्कुलमा भर्ना भई पढ्न थालिन् । त्यहाँ पनि प्रहरीले उनलाई मानसिक यातना दिन छोडेन । 

२०५३ सालमा पहिलो पटक उनी प्रहरीको कब्जामा परिन् । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीले उनलाई पक्राउ गरी एक हप्तासम्म यातना दियो । डोरीले बाँधेर कुट्ने गरेको याद उनको मानसपटलमा अझै छ । प्रहरीको यातनाले कैयन दिन भित्र बाहिर गर्न समेत गाह्रो भएको थियो उनलाई । 

प्रहरी अत्याचारका कारण गाउँमा १० वर्ष माथिका पुरुषहरु देखिन छोडे । घरगृहस्ती, मेलापात, पर्म सबै महिलाहरुले नै गर्न थाले । अन्य पुरुष सरह चौलागाईप्रति प्रहरीले निगरानी बढायो । 

विद्यार्थी संगठनबाट महिला संगठनमा आवद्ध उनी ०५३ मा महिला संगठनको कोषाध्यक्ष हुनुहुन्थ्यो । पछि ०५४ सालदेखि पार्टीको पूर्णकालिन सदस्य भएर जनयुद्धमा होमिइन् । 

जनयुद्धकै दौरान २०५८ सालमा पुस १४ गते उनी पुनः पक्राउ  परिन् । सँगै रहेका दुई जनालाई प्रहरीले हत्या ग¥यो । उनलाई पक्राउ गरी पाँचखाल चौकी ल्याइयो । १६ दिनपछि काठमाडौंको छाउनी व्यारेकमा एकहप्ता, हनुमान ढोकामा एक महिना हुँदै सेन्टर जेलमा २ वर्षसम्म राखियो । २०६० सालमा उनी रिहा  भइन् । त्यसपछि पुनः पार्टीकै काममा क्रियाशिल चौलागाई २०६४ मा समानुपातिक तर्फबाट संविधानसभा सभासद्  बनेकी थिइन् । 

जनयुद्धकालदेखि निरन्तर पार्टीमा सक्रिय चौलागाई हाल नेकपा माओवादी केन्द्रकै तर्फबाट चौरी देउराली गाउँपालिकाको अध्यक्षका उमेदवार छिन्  । पुष्पा महराले  गरेकाे कुराकानीको अंश  : 

तपाई एजेण्डाहरु केके छन् ? 
काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका राजधानी काठमाडौबाट नजिक भएपनि यो विकट क्षेत्र नै मानिन्छ । डाँडापारि र कोशीपारि भनेपछि कर्णाली सरह नै मानिन्छ । त्यसैले यहाँको स्वास्थ्य, शिक्षा, खानेपानी तथा जनताका आर्थिक आयआर्जनका कुराहरु पूरा गर्नेछौं । यस पालिकालाई समुन्नत र राम्रो बनाउने चाहना छ । यहाँका मानिसहरुलाई कुनै पनि आधारभुत तथा भौतिक कुराहरुको अभाव नहोस् भन्ने हाम्रो उद्देश्य हो । 

तपाईका जितका आधारहरु केके हुन् ? 
जनयुद्ध सुरु भएदेखि अहिलेसम्म म यो पार्टीमा निरन्तर क्रियाशिल छु । मुलुकमा आएको यो परिवर्तन ल्याउनका निम्ति मेरो अहम् भूमिका छ । अझ भनौं मेरो जीवनको पूर्ण लगानी यहीँ छ । त्यस्तै यही परिवर्तनका निम्ति मेरो परिवारले गरेको त्याग÷तपस्या र बलिदान महत्वपूर्ण छ । यो परिवर्तनका निम्ति मैले मेरो ५ जना पारिवारिक सदस्य गुमाएकी छु । दाजु कमल प्रसाद चौलागाई, आमाजु बिन्दा चौलागाई र जेठाजु सहिद हुनुहुन्छ भने मेरो श्रीमान नविन गौतम र अर्की आमाजु कमला चौलागाई शर्मा अझै वेपत्ता हुनुहुन्छ । अहिलेसम्म जनताको सेवक बनेर काम गरिरहेको छु । जनतासँग निकट छु । त्यसैले मेरो जीत निश्चित छ ।  

तपाईप्रति जनता कत्तिको सन्तुष्ट हुनुहन्छ ? 
यहाँका जनताले मलाई नेतृत्वमा आउनका लागि सुझाव दिइरहनुभएको छ । म महिला, हिजोका दिनमा पनि महिला मुक्तिका लागि थुप्रै लडाई लड्यौँ । महिलाले पनि बोल्न पाउनुपर्छ, आफ्नो अधिकार पाउनुपर्छ भनेर आन्दोलनमा होमियौं । महिलाहरुलाई समग्रमा दोस्रो दर्जाको नागरिकको हैसियत प्रदान गरिरहँदा त्यस्ता महिलाहरुको नेतृत्व गर्नुपर्छ भनेर हिजो पनि लडें, अहिले पनि महिलाहरुलाई माथि उठाउनुपर्छ, महिलाहरुलाई सत्तामा सहभागी गराइराखेको हाम्रै कारण हो । ति कुराहरु जनताले बुझ्नु भएको छ । त्यस्तै म सहिद परिवार पनि । म यही समाजमा छु, यही छु । यहाँको जनताको सुख, दुःख र अप्ठारोमा लागिपरेको छु । त्यसैले पनि यहाँले जनताले मलाई नै नेतृत्वमा आउनका लागि सुझाव दिइरहनुभएको छ । समग्रमा उहाँहरु मेरो कामप्रति सन्तुष्ट हुनुहुन्छ । 

यस पालिकामा भ्रष्टाचारको अवस्था के–कस्तो छ ? 
यस पालिकामा भ्रष्टाचार देखिएको छैन । अन्यत्रको तुलनामा भ्रष्टाचारको मामिलामा खोट छैन । अन्य पालिका र जिल्लाबाट आउनेहरुले पनि सुन्दर छ चौरी देउराली, विकासमा पारदर्शी छ भन्ने प्रतिक्रिया दिनुभएको छ । यसलाई हामी भोलिका दिनमा पनि निरन्तरता दिनेछौं । 

रेणुका चौंलागाई 
अध्यक्षका उम्मेदवार 
चौंरी देउराली गाउँपालिका, काभ्रे

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर