• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

गोकुल बास्कोटासहित जनप्रतिनिधिको सदस्यता खारेज गर्ने पत्रकार महासंघको निर्णय

काठमाडौं । नेपाल पत्रकार महासंघले गत स्थानीय चुनाव जितेका र यसअघि नै जनप्रतिनिधि रहिसकेका पत्रकार महासंघका सदस्यहरुको साधारण सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको छ । महासंघ मुख्यालय संचारग्राममा आज बसेको महासंघको उपलव्ध केन्द्रीय सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । 

पत्रकार महासंघलाई विशुद्ध संचार कर्म गर्ने पत्रकारहरुको मात्रै संस्था बनाउने, राजनीति र पत्रकारितालाई छुट्याउने र महासंघको शुद्धिकरण अभियान अघि बढाउने लक्षका साथ महासंघले चुनावमा जितेका पत्रकारहरुको हकमा साधारण सदस्यता नै खारेज गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

महासंघले चुनावमा सहभागि भएका तर जनप्रतिनिधि बन्न नसकेका सदस्यहरुको हकमा भने पदमुक्त गर्ने महासंघले निर्णय गरेको छ । साधारण सदस्यता खारेज गर्ने कि नगर्ने भन्ने विषयमा महासंघको अनुशासन आयोगले थप अध्ययन गरेर आवश्यक कदम चाल्ने निर्णय पनि गरेको छ ।  

गत बैशाख ३०गते सम्पन्न स्थानीय तहको चुनावमा देशभरबाट २ सय भन्दा धेरै पत्रकारहरु सहभागि भएको आँकडा पत्रकार महासंघसँग छ । यस अघि जनप्रतिनिधिको रुपमा निर्वाचित भएका काभ्रेका जनप्रतिनिधि एमाले नेता गोकुल बास्कोटालगायतका राजनीतिक नेताहरुको सदस्यता पनि महासंघले खारेज गर्ने निर्णय गरेको छ ।
महासंघले स्थानीय तहको चुनावमा पत्रकारहरुले खेलेको भूमिका, पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको समेत समिक्षा गरेको छ । यस विषयमा महासंघले निर्वाचन आयोगसँग समेत छलफल गर्ने निर्णय गरेको छ । 
महासंघले देशभरका पत्रकारहरुले निर्भयतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन र श्रमको उचित मुल्य पाउने अवस्था सृजना गराउन दबाव र अभियानात्मक कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर