• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

पार्टीले तत्काल हस्तक्षेप नगरे अखिल क्रान्तिकारी पुनर्गठन गर्छौं–पवन कार्की

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे सवैभन्दा बलियो संगठन अनेरास्ववियू क्रान्तिकारी यतिबेला आन्तरिक विवादको उत्कर्षमा छ । संगठनको केन्द्रीय समितिको बैठकमै हात हालाहाल देखि निलम्बन र समानान्तर गतिविधि शुरू भएका छन् । 

आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले २ सय ९९ सदस्यीय केन्द्रीय समितिको अन्तिम टुंगो लगाएको घोषणा गरेको छ । विभिन्न २७ विभाग गठन गरेको र महासचिवका दावेदार मानिएका पवन कार्कीसहित ९ जनालाई अनिश्चितकालिन निलम्बन गर्ने निर्णय गरेको छ । 

तर यो निर्णयलाई विधि र प्रकृया विपरितको अवैधानिक निर्णय भनेर चुनौती दिदै पवन कार्कीसहितको समूह अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कोमा लिखित ध्यानाकर्षण पत्र बोकेर पुगेको छ । सो पक्षले आज पत्रकार सम्मेलन समेत गरेर अवस्थाको जानकारी गराउने तयारी गरेको समाचार दैनिकलाई बतायो । 

कार्की पक्षले गरेको ध्यानाकर्षमाथि अध्यक्ष प्रचण्डले यस विषयमा छिट्टै पार्टीले अध्ययन गरेर आवश्यक निर्णय दिने बचन दिएको कार्कीले जानकारी दिएका छन् । अहिले कार्की पक्ष पार्टीको हस्तक्षेपको पर्खाईमा छ ।

यसअघि बैधानिक भनिएको केन्द्रीय समिति घोषणा, पदाधिकारी घोषणा र आइतबारको केन्द्रीय समितिले गरेको निर्णय खारेज गरेर नयाँ आधारमा विधि र विधान अनुसार अखिल क्रान्तिकारी चल्नुपर्ने, यसरी चलाउन नसकेको आरोप लगाउँदै विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य र क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बर्खास्त गर्नेपर्ने कार्की पक्षको माग छ । 

आफूहरुको मागको मध्यनजर गर्दै पार्टीले क्रान्तिकारी भित्रको विवाद तत्काल समाधान नगरेमा विधि र विधान अनुसार संगठन पुनर्गठन गर्ने चेतावनी कार्कीले दिए । 

उनले भने, ‘फेसबुकबाट बनाईएको केन्द्रीय समिति, जुमबाट गरिएको पदाधिकारी घोषणा, गणपुरक संख्या पनि नपुगिकन गरिएको केन्द्रीय समितिको बैठक र त्यसका निर्णयहरु विधान विपरित छन् । ती सवै खारेज हुनुपर्छ । नयाँ आधारमा क्रान्तिकारीलाई अघि बढाउन पार्टी नेतृत्व तयार हुनु पर्दछ । विधान विपरित काम गर्ने फ्याक्सन इन्चार्ज र अध्यक्षलाई बर्खास्त गर्नुपर्दछ भन्ने हाम्रो माग छ ।’

केन्द्रीय समितिको बैठकका क्रममा विधि अनुसार संगठन चलाउनु पर्छ भनेर माग गर्ने नेता कार्यकर्तालाई आक्रमण गर्न थालेपछि झडप निम्तिएको बताएका कार्कीले 'प्रहरी प्रशासनको घेरा भित्र' गरिएको केन्द्रीय समितिले गरेको निलम्बनको निर्णयको औचित्य नहुने तर्क गरे । 

आफूहरुले कुनै पद वा पदाधिकारीको बार्गेनिङ नगरेको बरु अहिले एकताका नाममा जुनियरहरुलाई केन्द्रीय कमिटिमा ल्याईएको, कसैका साला साली, भान्जा भान्जी, श्रीमान श्रीमतीलाई केन्द्रीय समितिमा ल्याएर भद्रगोल बनाएको नेता कार्कीले आरोप लगाए । 

क्रान्तिकारी भित्र यस्तो अवस्था आउनुमा कुनै खास नेताको उक्साहट र बार्गेनिङको आरोप लागिरहेको छ नि ? भन्ने प्रश्नमा उनले त्यसको खण्डन गरे । 

संगठन भित्रको भद्रगोल अवस्थाबारे आफूहरुले अध्यक्ष प्रचण्डसहित सवै नेताहरुलाई जानकारी गराएको उनले बताएका छन् । 

संगठन भित्रको समग्र अवस्थाको अध्ययन गरेर पार्टीले छिट्छै आवश्यक निर्णय लिने आशा व्यक्त गरेका उनले त्यसो नभएमा अखिल क्रान्तिकारी बैधानिक रुपमा पुनर्गठन हुने र सो प्रकृयामा सहभागि हुन अहिले देशभर राजीनामाको लहर चलेको दावी गरे ।

अखिल क्रान्तिकारीको गत असोजमा राष्ट्रिय सम्मेलन भएको थियो । राष्ट्रिय सम्मेलनले अध्यक्ष प्रचण्डसहितको स्थायी समितिको निर्देशन अनुसार अध्यक्षमा पञ्चासिंहको नाम घोषणा गरेपनि पदाधिकारी र केन्द्रीय समिति बनाउन सकेको थिएन ।

विधानभन्दा बाहिर गएर केन्द्रीय समिति घोषणा गर्न खोजेको भन्दै कार्की पक्षले बबरमहलस्थित कार्की ब्याङक्वेटमा त्यतिबेला पनि असन्तुष्टी जनाएको छ । फ्याक्सन इन्चार्ज हितमान शाक्यसहित नेताहरु त्यतिबेला पनि लछारपछारमा परेका थिए ।  

त्यसको तीन महिनापछि १ सय ९९ जनाको केन्द्रीय कमिटी घोषणा भएको थियो । तर त्यो निर्णय पनि लामो समय टिक्न सकेन र पार्टीसँगको परामर्शमा केन्द्रीय समिति विस्तार गरेर २९९ पुर्याउने, पदाधिकारीको संख्या बढाउने निर्णय भयो । गत ५ वैशाखमा अध्यक्ष प्रचण्डले प्रशिक्षण दिए लगत्तै  ४१ जनाको पदाधिकारी घोषणा गरियो ।

गत साता कार्की पक्षले काठमाडौं उपत्यकामा छुट्टै भेला आयोजना गरेपछि विवाद झन चर्कियो । समस्याको मसाधान गर्न अध्यक्ष प्रचण्डले दुवै पक्षलाई खुमल्टार बोलाए । तर संस्थापन पक्षले खुमल्टार पुग्नु अघि नै कार्कीलाई कारबाही गर्यो । प्रचण्डको निर्देशनमा कारबाही र भेला दुवै रोकिएका थिए ।  

त्यसपछि बसेको केन्द्रीय समितिको बैठकले संगठन भित्रका यावत समस्या हल गर्ने अपेक्षा गरिएको थियो । तर आइतबारको बैठक हात हालाहालको अवस्थासहित निलम्बन र संठगन पुनर्गठनको तयारीमा गएर टुंगिएको छ । 

 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर