• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बाह्रदशवासीलाई निःशुल्क रगत 

झापा । नेपाल रेडक्रस सोसाइटी झापासंग समन्वय गर्दै बाह्रदशी गाउँपालिकाले पालिका भित्रका सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । 
विगत चार वर्षदेखि पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा समेत सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।

जसका लागि नेपाल रेडक्रस सोसाइटी झापासंग सम्झौता भएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य तथा प्रदेश १ का कोषाध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिनुभयो । सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाई र रेडक्रसका तर्फबाट गौतमले हस्ताक्षर गरेका छन्  । 

गाउँपालिका भित्र रहेका नागरिक मध्ये कसैलाई रगत आबश्यक गरेको खण्डमा नेपाल रेडक्रस सोसाइटी झापाले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । 

 गत वर्षपनि पालिकाले सोही प्रकारको सम्झौता गर्दै गाउँपालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको थियो । जसबाट सबैभन्दा धेरै मृगौलाका रोगीले रगत धेरै प्रयोग गरेको बताइएको छ ।

गत वर्ष ३५० परिवारका चार सय जनाभन्दा बढी नागरिककले निःशुल्क रगत लिएको बताइएको छ ।   चालू आर्थिक वर्षका लागि समेत गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी झापालाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । सोही रकमबाट बाह्रदशी वासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो ।

योसंगै भद्रपुर नगरपालिकाले पनि आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको छ भने यस अघि झापा गाउँपालिका र मेचीनगर नगरपालिकाले समेत आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य गौतमले बताए  ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर