• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

यी हुन् माओवादीको बन्द सूचीमा रहेका बाबुरामका ५ भाई

काठमाडौं । निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा अनुसार हिजो सोमबार राजनीतिक दलहरुले मंसिर ४ गतेको चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची पेश गरे । 

बन्द सूची पेश गर्दा प्रायः दलहरुले ११० सांसदहरुको सूची निर्वाचन आयोगमा पठाएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले भने विगतमा संगै रहेपनि हाल फरक पार्टीमा रहेका नेता डा. बाबुराम भट्टराईको पार्टीका नेताहरुलाई समेत बन्दसूचीमा समावेश गरेको छ । डा. भट्टराईले माओवादीको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडामा चुनाव लड्ने तयारी गरिरहेका छन् । त्यसैले पनि समानुपातिकमा समेत उनले माओवादीकै बन्दसूचीमा आफ्नाडा ५ नेताहरुको नाम राख्न आग्रह गरेका हुन् । 

डा. भट्टराईको आग्रह अनुसार माओवादीले हिजो बुझाएको बन्द सूचीमा बाबुराम भट्टराईका ५ नेताहरुको नाम समावेश गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । 

माओवादीले बुझाएको समग्र सूचीमा भने पहिलो नम्बरमा पूर्वसभामुख र पटक पटक मन्त्री बनिसकेका नेता कृष्णबहादुर महराको नाम राखिएको छ । 

बाबुरामको पार्टीका गंगानारायण श्रेष्ठ माओवादीको बन्द सूचीमा पर्न सफल भएका छन् । उनको गृह जिल्ला सिन्धुली हो । तर उनले प्रत्येक्ष चुनाव लड्ने भन्दा पनि समानुपातिकमा रहेर संसद भवन छिर्ने मनसाय राखेका छन् । श्रेष्ठ बाबुरामले चालेका पार्टी विभाजनदेखि हरेक कदममा साथ दिने सिमित नेतामध्ये पर्दछन् । 

डा. भट्टराईले समानुपातिक सांसदका लागि दिएको लिष्टमा रहेका अन्य नेताहरुमा दुर्गा नेउपाने भट्टराई, दुर्गा सोब, इश्वर रिजाल र उमरावतीदेवी यादव रहेका छन् । 

आयोगमा बुझाईएको सूचीमा सवैभन्दा पहिलो नम्बरमा पूर्व सभामुख, पूर्व मन्त्री कृष्णबहादुर महराको नाम राखिएको छ । महरा यसअघि दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।  

संसदीय राजनीतिमा महरा माओवादीका सवैभन्दा पुराना सांसद हुन् । उनी २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर प्रतिनिधिसभा सदस्य भएका थिए । त्यसपछि २०६४, २०७० र २०७४ को चुनावमा उनी लगातार निर्वाचित भए । महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट उनी निर्वाचित भएका थिए ।  

माओवादीले तयार पारेको समानुपातिकको बन्द सूचीमा महिला नेतृ रेणु चन्द पनि छन् । समावेशी र समानुपातिकलाई उत्तिकै जोड दिएको माओवादीले दलित तर्फबाट रणेन्द्र बराइलीलाई पनि समानुपातिकको सूचीमा राखेको छ । मुस्लीम समूदायका हकिकुल्ला खाँ, जनजाती समुदायबाट सुनिल मानन्धर, पर्शुराम तामाङ समानुपातिक सूचीमा परेका छन् ।  

उत्पिडित जाती क्षेत्र तथा समुदायको सन्तुलन मिलाएर सूची तयार पारेको बताएको माओवादीले विभिन्न क्षेत्रका विज्ञ, योग्य र युवाहरुलाई प्राथामिकता दिएको सूची तयार पार्न खटिएका एक पदाधिकारीले समाचार दैनिकलाई जानकारी दिए ।  

सूचीमा योजना आयोगका पूर्व उपाध्यक्ष डा। मीन बहादु श्रेष्ठ, साहित्यकार तथा प्राध्यापक इश्वरचन्द्र ज्ञवाली, वाईसिएल अध्यक्ष सुवोध श्रीपाइली तथा अखिल क्रान्तिकारीका वहालवाला नेताहरुसमेत परेको ती सदस्यले बताए ।  

 दलहरुले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवार बन्दसूची बुझाइरहेका छन् ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर