• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

नक्सामा नभएको टुकुचा देखाउन नमिल्ने महानगरलाई  सरकारको सुझाव

काठमाडौं । जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला खोज्ने काठमाडौं महानगरपालिकाको अभियानमा सरकारले बाधा पुर्याएकाे छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले  नक्सामा नभएको टुकुचा देखाउन मिल्दैन भने पछि महानगरलाई यो कार्याका लागि बाधा पुगेको हो । 

खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै महानगरले ३० भदौदेखि जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएको थियो । त्यसक्रममा केही निजी भवनको संरचना समेत फोडिएको छ । यसविरुद्ध सम्बन्धित घरधनीहरु अदालत गएपछि काठमाडौं महानगरपालिकाले जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला रेखांकन गरिदिन नापी विभागलाई पत्राचार गरेको थियो । 

विभागले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेखेपछि सहसचिव जनकराज जोशीको नेतृत्वमा कार्यदल नै बनेको थियो । कार्यदलले २१ गते मन्त्रालयमा बुझाएको प्रतिवेदनमा २०३२ सालमा तयार भएको नक्सामा नै जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नभएको उल्लेख गरीएको छ । नक्सामा भएको वस्तु नदी, घर, जग्गा आदि जमिनमा कहाँनिर पर्छ भनेर देखाउने काम रेखांकन हो । तर जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला नक्सामा नभएको रेखांकन गर्न नसकिने मन्त्रालयले निष्कर्ष निकाले पछि महानगरको यो कार्य अगाडी बढ्न नसक्ने अवस्था   आएको छ  ।

अध्ययनका क्रममा फिल्डमा गएर हेर्दा जयनेपाल हलको पारिपट्टी नारायाणहिटी दरबारको पर्खालको १८/२० फिट मुनिबाट टुकुचा गएको छ र कमलादी मोडमा पनि २०/२५ फिट तल निस्किएको छ ।  मन्त्रालयले नक्सामा नभएकाले देखाउन नसक्ने भनेपछि काठमाडौं महानगरले पहिला नक्सामा देखाइदिन आग्रह गरेको थियो । तर जग्गा नापजाँच ऐनअनुसार जमिनको सतहमा जे छ, त्यसलाई मात्र नक्सामा रुपान्तरण गर्न मिल्ने मन्त्राायले जनाएको छ । 

भूमि व्यवस्था मन्त्रालयको कार्यदलले टुकुचा खोला खोज्ने नै हो भने के गर्न पर्छ भनेर पनि महानगरलाई सुझाव दिएको छ । भूमिगत स्रोत र संरचनाहरुलाई जमिनको सतहमा कहाँनिर पर्छ भनेर पत्ता लगाउने प्रविधि ग्राउण्ड पेनिट्रेटिङ राडार (पीटीआर) छ । यो प्रविधिको प्रयोगले टुकुचा खोला जमिनको सतहमा कहाँ पर्छ भनेर पत्ता लगाउन सकिन्छ । तर यसका लागि सुरुमा कठमाडौं महानगरले जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला नक्सामा देखाउने निर्णय गर्नुपर्छ । त्यसपछि केन्द्र सरकारको निकायले पनि यो ठाउँको जमिन सरकारी नै हो भनेर निर्णय गर्नुपर्ने देखिन्छ  ।

जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोलाबारे आधिकारिक र कानुनी रुपमा छिनोफानो गर्न हो भने सडक विभाग, खानी तथा भूगर्भ विभाग, महानगर, भूमिगत जलस्रोतमा काम गर्ने निकाय, नापी विभाग लगायतका सरकारी निकायलाई राखेर कार्यदल बनाएर अध्ययन गराउनुपर्छ र त्यसको सुझावका आधारमा मात्र अगाडि बढ्नु उपयुक्त हुने मन्त्रालयको सुझाव रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर