• २०८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024

सिन्धुपाल्चोक-१ मा माधव कि अग्नि, मोहन बस्नेत 'रिङ आउट' !

चौतारा । सत्तारुढ ५ दलीय गठबन्धनले सिन्धुपाल्चोक जिल्लाको भागबण्डा लगभग टुंगो लगाएको छ । लामो समयदेखि लगातार बसिरहेको सत्तारुढ गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठकले देशभरका लगभग सवै क्षेत्रको टुंगो लगाउँदा सिन्धुपाल्चोकसमेत टुंगिएको कार्यदलका एक सदस्यले समाचार दैनिकलाई जानकारी दिए । 

सिन्धुपाल्चोकका संघीय दुई सांसदमध्ये क्षेत्र नम्बर एक माओवादी केन्द्र र दुई नेपाली काँग्रेसले लिने सहमति गठबन्धनमा बनेको हो । प्रदेश सभाका ४ क्षेत्र मध्ये २ मा ओवादी र काँग्रेसको दावी छ भने बाँकी रहेको दुईमा एकीकृत समाजवादी र माओवादी वा काँग्रेसमध्य एकले एक क्षेत्र मात्रै पाउनेछन् । 

गठबन्धनमा भएको यो सहमतिसँगै सिन्धुपाल्चोक क्षेत्र नम्बर एकमा को भन्ने प्रश्न सुरु भएको छ । यसअघिको चुनावमा सो क्षेत्रबाट माओवादी केन्द्रले जितेको हो । गणतन्त्र प्राप्तिपछि नै सिन्धुपाल्चोक १ मा अग्निप्रसाद सापकोटा लगातार ३ पटक विजयी भईसकेका छन् । 

यस पटक भने नाताले आफ्नै भतिज पर्ने सिन्धुपाल्चोक माओवादीका युवा नेता माधव सापकोटाले बलियो दावेदारी प्रस्तुत गरेका छन् । सभामुख सापकोटा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरिसकेका सापकोटा चुनावको तयारीमा लागिसकेको उनको सचिवालयले जनाएको छ ।

पार्टीले निर्णय गर्न बाँकी रहेकाले आफ्नो पक्षमा निर्णय हुनेमा माओवादीका पोलिटव्यूरो सदस्य समेत रहेका सापकोटा ढुक्क देखिएका छन् । 

अघिल्लो चुनावमा नै प्रदेश सांसदका लागि तयारी गरेका सापकोटा तत्कालिन नेकपा एमालेसँगको गठबन्धन र संघमा अग्नि सापकोटा उठ्ने कारणले पछि हटेका थिए । तर यसपालि भने सभामुख अग्नि सापकोटाले नै युवा नेतृत्वलाई अघि सार्ने उनले बताएका छन् । 

सिन्धुपाल्चोक १ माओवादीेले जितेको क्षेत्र भएकाले स्वभाविक हिसावले माओवादीले नै पाउने र जिल्लाको बस्तुगत अवस्थाका कारणसमेत टिकट  आफूले पाउने उनको दावी छ । 

नेता सापकोटाले काका नाता पर्ने सभामुख सापकोटा राज्यका अझैं ठूला पदहरु उपराष्ट्रपति, प्रधानमन्त्री वा राष्ट्रपति बन्ने हो भने आफूले छोड्न तयार रहेको बताए । तर, सभामुख भईसकेको व्यक्तित्व संघीय सांस्दमा मात्रै सिमित हुन नहुने भएकाले आफूले दावी गरेको बताएका छन् ।

काँग्रेस नेता मोहन बस्नेतले भने क्षेत्र नम्बर एकमा आफूले पाउनु पर्ने दावी छोडेका छैनन् । यस अघि माओवादीले जितेको र नेता व्यवस्थापनका हिसावले समेत सभामुखलाई छोड्न तयार रहेको बताउने गरेका बस्नेतले क्षेत्र नम्बर दुईमा समेत काँग्रेसको अवस्था र उठ्न सक्ने संभावनाबारे अध्ययन गरिरहेको उनी निकट नेता बताउँछन् ।

क्षेत्र नम्बर १ मा माओवादीले पाएको अवस्थामा दुईबाट समेत नेता बस्नेत लड्न सक्ने अनुमान गरिएको छ ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर