• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चुनावी कथा-२०७९ "पिर"

मंसिरको बेला सबैलाई धान भित्र्याउने पिरलो छ । धान भित्र्याउने चटारोमा यतिबेला सबैलाई पिरले सताइ रहेको छ । पिर सबैलाई उत्तिकै छ । मौका मिल्नासाथ छर-छिमेकमा पिरका कुरा आइहाल्छ ।
'के छ कृष्ण जी?, सञ्चै हुनुहुन्छ?' राम प्रसादले आफ्नो छिमेकि कृष्ण प्रसाद सँग सोध्यो।
'एक दम ठीक छ, तपाँइलाई नी?' कृष्ण प्रसादले भने ।
'खै ! के भनौ र! एउटा न एउटा पीरले कहिलै छोडेको हैन !' रामले भन्यो ।
केही समयपछि राम प्रसादको भेट हरि प्रसाद सँग भयो ।
'के छ हरि जी? सञ्चै हुनुहुन्छ?' राम प्रसादले सोध्यो ।
'एकदम ठीक छ । तपाँइलाई नी?' हरिप्रसाद ले सोधे ।
'खै ! के भनौँ र हरि जी, एउटा न एउटा पीरले छोडेको हैन ।' राम प्रसादले आफ्नो पीर सुनायो ।

त्यस दिन राम प्रसादको भेट राम विलास, बम बहादुर, सोनाम छिरिङ र अरु धेरै  छिमेकिहरु सँग पनि भयो । राम प्रसादले सबैसँग सञ्चो बिसञ्चो सोध्यो । तर सबैले उही जवाफ दिए, 'एकदम ठीक छ, तपाँइलाई नी ?'
राम प्रसादलाई लाग्यो, दुनियामा सबै ठीक छन्, सुखी छन्, सबै पीर रहित रहेछन् तर उ मात्र एउटा एउटाअभागि रहेछ, एउटा न एउटा पीरले कहिल्यै नछोड्ने ।
त्यस राती यस्तै यस्तै कुरो मनमा खेलाउँदा खेलाउँदै खाटमा पल्टिएको राम प्रसाद भुसुक्क निदायो । उसले एउटा सपना देख्यो ।
सपनामा एक हुल मानिसहरु काँधमा एउटा एउटा पीरको पोको बोकेर हिँडिरहेका थिए । कसैका पोका ठूला थिए, कसैका ठिक्कका, कसैका साना । राम प्रसादका छिमेकि कृष्ण प्रसाद, हरि प्रसाद, राम विलास, बम बहादुर, सोनाम छिरिङ हरु पनि काँधमा एउटा एउटा पोको बोकेर त्यही हुलमा हिँडिरहेका थिए । राम प्रसाद पनि आफ्नो पीरको पोको बोकेर त्यो हुलमा पछिपछि हिडिरहेको थियो । राम प्रसादलाई आश्चर्य लाग्यो । कृष्ण प्रसाद, हरि प्रसाद, राम विलास, सोनाम छिरिङ सवैका पीरका पोकाहरु उसको पोको भन्दा ठूला थिए । उसले मनमनै भन्यो, 'फटाहाहरुले मलाई ढाँटेका रहेछन्, पीर त यिनीहरुलाई पनि रहेछ नी !'
हिड्दा हिँड्दै साँझ पर्यो र सबैजना एउटा धर्मशालामा बास बसे । धर्मशालाको भित्तामा किलाहरु ठोकिएका थिए । सबैले एउटा एउटा किलाहरुमा आ-आफ्नो पीरको पोको झुण्ड्याएर सुते । सबैजना निदाए पछि राम प्रसाद लाई एउटा आकासवाणी भयो ।
'राम प्रसाद! तैँले जहिले पनि आफूलाई मात्र पीर परेको छ कि जस्तो गरिस् । पीर त सबैलाई हुँदो रहेछ भन्ने कुरो त थाहा पाइस् होला नी ? तर तँलाई एउटा विकल्प दिन्छु, भोली बिहान अरु मानिसहरु उठ्नु भन्दा पहिला तँलाई जुन पोको मन पर्छ त्यही पोको साटेर जान सक्छस् ।'

राम प्रसाद बिहानै उठ्यो र आफ्नो पीरको पोकोसँग सबै भन्दा सानो पीरको पोको साटेर हिड्ने बिचार गर्यो । मनमा फेरि अर्को बिचार पलायो, 'सानो भनेर साट्न त साटुँला, तर यो सानो पोको जिरे खुर्सानी जस्तो कडा पर्यो भने के गर्ने?'

उसले मनमनै भन्यो, 'जे भएपनि आफ्नो पीर भनेको जानेको बुझेको पीर त हो । यो जिरे खुर्सानी भित्र त के छ, के छ! भो आफ्नै पीरको पोको बोकेर हिँड्छु।'
उ सपनाबाट ब्युँझियो ।
सारांस:
राम प्रसादले मंसीर चारमा एउटा पीरको पोको त साट्यौँ कि भन्ने सोच बनाएको थियो । 'कसैलाई चिनेको होइन,  झन् चिलाउने काउसो पर्यो भने के गर्ने' भन्ने पीरले सताएर अहिले राम प्रसाद मरिच चाउरिँदा झैँ चाउरिएर बसेको छ ।

मानिसलाई पीर पनि कति थरीको हो  !

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर