कबिताः महिनावारी

अनर्थ न लिनु महिनावारी ...
जब ममा महिनावारीको चक्र आउँछ
तब म तिमीलाई सम्झिन्छु आमा
जब मेरो यौनीबाट रगतका धारा बग्न थाल्छ
जब पेटको दुखाइले मेरा शरीर कमजोर हुँदै जान्छ
ती प्याडमा न अटेर रगत कपडा छिचोल्दै बाहिर
देखा पर्छ
गर्मीको समय अनि लामो बाटोको हिडाइले
काछ लाग्छ अनि पोल्छ
तब म तिमीलाई सम्झिन्छु आमा
प्राकृतिक प्रक्रिया अनि प्रकृतिको नियम
म पर सर्दा अशुद्ध हुन्छु ।
अछुतो हुन्छु,
गोठको त्यो कहालीलाग्दो बसाइ
मलाई खुब डर लाग्छ आमा ।
कहिलेकाही चाडपर्व सँगै मेरो महिनावारी
पनि आउँछ
मलाई खुब दुख लाग्छ । किनकी
म त्यति बेला एक्लो हुन्छु ।
कतै जान मिल्दैन, मन लाग्दा आफै खान मिल्दैन
अरुको खुसी हेरेर आफू भित्रभित्रै रुन बाध्य
हुन्छु ।
तर के गर्नु ?
यो त सदियौ देखि चली आएको नियम
म आफू कमजोर भइ रहदा श्रीमानको यौन चाहना
पूरा गर्न सक्दिन । तर पनि गिद्दले सिनो लुछे झैं
मलाई लुछी रहँदा यौनानन्द लिइ रहन लाग्छ
म पनि पुरुष मनोरञ्जनको एक साधन हुँ ।
मलाई थाहा छ !
तिमी विवश छौ, केही गर्न सक्दैनौ
किनकी तिमी पनि त त्यही वातावरण र पीडा
गुज्रीएकी छौ !आमा
म महिनावारीको चार दिन कटाउन सक्दिन
तिमीले नौं महिना गर्भ बोकेर त्यो प्रसव पीडा
कसरी सह्यौ आमा ?
साच्चै तिमी महान छौ !
म आफैलाई प्रश्न गर्छु :
आखिर यस्तो कहिलेसम्म ?
यो नियम किन छोरीलाई मात्रै लागू ?
किन मान्छेको सोच बद्लिदैन ?
पुरुष भएर नारीको पीडा किन बुझ्दैन ?
किन नारीको लागि सहज वातावरण बन्दैन ?
इलाम
प्रतिकृया दिनुहोस