जीवीतै श्रीमानको मृत्यु प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता 

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ मा एक श्रीमानले आफ्नाे मृत्यु दर्ता गरी श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन् ।  मन्थली नगरपालिका वडा नं ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई  एकल महिला भत्ता खुवाएका हुन् । 

तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै एकल महिलाकाे भत्ता परिचयपत्र सोही दिनदेखि लागू हुनेगरि बनाइदिएका थिए । तर महतोले निर्मलालाई बनाएको परिचय पत्रमा बुबा आमाको मात्र नाम खुलाएका छन् भने पतिको नाम खुलाएका छैनन्। मन्थली नगरपालिकाबाट प्राप्त सुचना अनुसार निर्मलाले २०७९ माघ सम्ममा १५ महिनाको सामाजिक सुरक्षा भत्ता बुझेकी छन्। निर्मलाका पति जीवितै रहेको र उनले पतिको मृत्यु पर्यन्त पाउने भत्ता लिइरहेको तथ्य बाहिरिए पछि यतिबेला नगरपालिकामा धेरै मान्छेहरु याे कसरी भयाे भन्दै अचम्मित भएका छन् ।

तत्कालीन वडा सचिव महतोद्वारा हस्ताक्षरित प्रमाणपत्रका आधारमा हेर्दा निर्मलाले मासिक २ हजार ६६० रुपैयाँका दरले १५ महिनामा ३९ हजार ९ सय रुपैयाँ बुझेकी छन् । यो विषयमा विगतमा भत्ता लिएको र पतिको मृत्यु नभएको जानकारी पाएपछि नगरपालिकाले रोकेको मन्थली नगरपालिकाले जनाएकाे  छ । मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले सत्यतथ्य बुझेर भत्ता कटौती गरिसकेको बताए । यसबारेमा सम्बन्धित वडा अध्यक्ष कृष्ण गोपाल थापासँग जानकारी लिँदा भत्ता लिएको कुरा सत्य भएको बताएका छन्। आफ्नो कार्यकालभन्दा अगाडिको घटना भएकाले आफू निर्वाचित भए पश्चात् सम्पूर्ण रकम फिर्ता गराएको थापाले बताए। 

जीवित मान्छेलाई मृत्युको प्रमाणपत्र दिने, एकल महिलाका नाममा लाभग्राही बनाउने र सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग गर्नोलाई प्राप्त प्रमाणका आधारमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए।  कसैले चलखेल गरेर रकम फिर्ता गराएको भए पनि यो घटनालाई अनुसन्धान गर्ने र संलग्नलाई छानबिनको दायरामा ल्याउने प्रजिअ रेग्मीको भनाइ छ । 

खत्री सरकारी कर्मचारी समेत रहेकाेले केही समय अघि जिल्ला प्रशासन कार्यालय र त्यसपछि सरुवा भएर जिल्ला कारागार रामेछापमा कार्यरत रहेका  थिए। श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्रीले जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले जागिरबाट राजीनामा समेत दिएका छन्। कारबाहीको डरले चाँडै राजीनामा दिएको हुनसक्ने जानकारहरू बताउँछन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर