• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

'कम्फर्टेबल जोन' मा प्रधानमन्त्री प्रचण्ड, ११ दलले विश्वासको मत दिने

काठमाडौं । पहिलो पटक विश्वासको मत लिदा झण्डै सतप्रतिसत मत प्राप्त गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिन लागेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष  दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक गत पुस २७ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए। मत विभाजनमा प्रचण्डले राखेको विश्वासको मत दिइयोस् भन्ने प्रस्तावको पक्षमा  २ सय ६८ सांसदले मतदान गरेका थिए । विपक्षमा  २ मत पर्‍यो। मत विभाजनमा २ सय ७० जना सांसद सहभागी भएका थिए। 

आज १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । 

यसअघि विश्वासको मत दिएको नेकपा एमाले र राप्रपाले विश्वास फिर्ता लिएपछि संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले आज पुनः संसदमा आफूलाई बहुमतको विश्वास रहेको पुष्टि गर्न लागेका हुन् । 

राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो एमाले–माओवादी लगायत दल आवद्ध गठबन्धनमा मतैक्यता हुन नसकेको हो । 

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा पछिल्लो समय तयार भएको माओवादी–काँग्रेसलगायत दल आवद्ध गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ ।
 
माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन रहने विश्वास गरिएको छ।

प्रधानमन्त्रीलाई  विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्नेछ। प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद छन्। 

प्रधानमन्त्री प्रचण्डको  पक्षमा १ सय ७६ भन्दा बढि मत खस्ने लगभग पक्का भएको उनको सचिवालयको दावी छ ।

प्रधानमन्त्री प्रचण्डको विपक्षमा एमाले, राप्रपा र नेमकिगरी ९४ मत खुलेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर