• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अप्रिलदेखि बन्द हुँदै फेसबुकको इन्स्टान्ट आर्टिकल 

काठमाडौं । फेसबुकको मुख्य कम्पनी मेटाले आउँदो महिना अर्थात् अप्रिलदेखि इन्स्टान्ट आर्टिकल बन्द गर्ने भएको छ । सन् २०१५ मा मेटाले फेसबुकमै ‘एचटीएमएल डोकुमेन्ट फर्मेट’का रूपमा इन्स्टान्ट आर्टिकल सञ्चालनमा ल्याएको थियो । कुनै पनि वेबसाइटले आफ्नो फेसबुक पेजमा लिंकसहित समाचार सेयर गर्दा उक्त समाचार सम्बन्धित वेबसाइटमै गएर खुल्छ । तर, इन्स्टान्ट आर्टिकलका रूपमा सेयर गरिएमा उक्त पूरै समाचार फेसबकुमै चार गुणा छिटो खुल्छ ।

इन्स्टान्ट आर्टिकलका रूपमा देखिने समाचारका बीचमा फेसबुकले विज्ञापन देखाउँछ । त्यसबापतको रकम फेसबुकले समाचार प्रकाशकलाई पनि दिन्छ ।  इन्स्टान्ट आर्टिकल बन्द गर्ने, समाचार देखाउन सञ्चालनमा ल्याएको न्युज ट्याब र बुलेटिन न्युजलेटर पनि बन्द गरेसँगै मेटाले समाचार स्रोतहरूमा आफ्नो लगानी घटाउँदै लगेको देखिन्छ ।

इन्स्टान्ट आर्टिकल बन्द गर्नेबारेमा मेटाकी प्रवक्ता एरिन मिलरले गएको अक्टोबरमै भनेकी थिइन्, “अहिले फेसबुकमा ३ प्रतिशतभन्दा कम मानिसले लिंकसहितको समाचार हेर्ने गर्छन् । त्यसैले व्यावसायिक रूपमा प्रयोगकर्ताको आबद्धता नभएको क्षेत्रमा लगानी गर्नुको कुनै औचित्य रहँदैन ।” यसको सट्टा फेसबुकले टिकटक र युट्युबझैँ भिडियो ‘कन्टेट’मा बढी ध्यानकेन्द्रित गरेको छ ।

मेटाको एक अनुसन्धानले केही पेजहरूले बढी ‘भ्युज’ पाउनका लागि गलत र भ्रामक सूचना इन्स्टान्ट आर्टिकलका रूपमा प्रकाशित गरेको देखाएको थियो । यस्तो अवस्थामा मेटा आफैँले गलत सूचना प्रकाशित गरेर आम्दानी गरेको ठहर्छ । मेटाले विश्वभर ३७ हजारभन्दा बढी पेजहरूले इन्स्टान्ट आर्टिकल प्रकाशित गर्दै आएको जनाएको छ । नेपालमा पनि थुप्रै अनलाइन मिडियाले आफ्नो फेसबुक पेजमार्फत इन्स्टान्ट आर्टिकल प्रकाशित गर्दै आएका छन् । कतिपयले त यसलाई नै आम्दानीको स्रोत बनाएका छन् ।

इन्स्टान्ट आर्टिकल बन्द गरिँदा यसको प्रयोग गर्ने मिडियाको आम्दानीमा गिरावट आउँछ । यस्तै, यसैलाई आधार बनाएर उच्च आम्दानी गर्न भ्रामक सूचना प्रकाशित गर्ने मिडिया विस्थापित हुने सम्भावना समेत देखिएकाे छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर