ओ तानाशाहहरू !

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाऊ न गाऊ
तर, यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।
हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातहरूमा हत्कडी पहिर्याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर, यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौ।
हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिंडिरहन्छौँ ।
ओ शासक र प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरू गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
...............................
प्रतिकृया दिनुहोस