• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कोशी प्रदेश सरकारलाई दिएको माओवादी समर्थन फिर्ता

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

मङ्गलवार बिहान माओवादी प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवो सहित बसेको बैठकले सरकालाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेशका सह इन्चार्ज सावित्री कुमार काफ्लेले बताए । काफ्लेकै घरमा बैठक बसेको थियो ।

बैठकले आफ्ना मन्त्रीहरूलाई राजीनामा बुझाउन समेत निर्देशन दिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्क नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको छ ।

यसअघि नै जसपाले मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ । गत जेठ १६ गते सुनसरीको इटहरीमा बसेको जसपाको प्रदेश समितिको बैठकले कार्की नेतृत्वको सरकारबाट फिर्ता आउन मन्त्रीलाई निर्देशन पनि गरिसकेको छ ।

जसपाबाट एक मात्र सांसद बनेकी निर्मला लिम्बूले पनि स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएको भन्दै पत्र नै सार्वजनिक गरेकी थिइन् । यद्यपि जसपाले अहिलेसम्म संसद सचिवालयमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताबाट औपचारिक जानकारी भने दिएको छैन ।

उता नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको गत जेठ ४ गते बसेको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी र जसपा कोशी प्रदेश सरकारबाट फिर्ता आउनु पर्ने निर्णय गरेको थियो ।

एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीको १२ र जसपाको १ सांसदले समर्थन फिर्ता लिएको खण्डमा कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतमा पर्नेछ ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरु काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा बहुमत संख्या ४७ सांसद पुग्छन् । तर सभामुख गठबन्धन दलबाटै भएको कारण विश्वासको मत लिने समयमा भने त्यो संख्या ४६ मात्रै हुनसक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर