"पशु "
जीव मध्ये पनि गोलो टाउको छ
टाउकामा रङबिरङको कपाल छ
भित्र फरक प्रकारको गिदी छ
जुन गिदीले बिचित्रको काम गर्छ
विश्वका वैज्ञानिकहरूले पनि
यो गिदीसँग हारेका हुन्
काउलाको झोल जस्तो
चिप्लो बोली छ
कसैको एटम बम जस्तो स्वर छ
चिप्लो छालामा थेप्चे अनुहार माथि
दुई काला बिभेदी खोपिल्टाहरू छन्
खोपिल्टा भन्दा तल गतिलो हाब्रो छ
जुन हाब्राले कहिले सबै कुरा निल्छ
कहिले ओकल्छ
हात हल्लाउँछ ,मुख नचाउँछ,
आफैँ मात्र खाऊँ भन्छ आरिस गर्छ
लुट्छ चोर्छ धुर्त्याइँ गर्छ
यो बाहेक केही अन्य चिन्हहरू छन्
रुप मानिससँग मिल्छन्
तर काम मान्छेका हुन भन्ने
प्रमाण भेट्न कठिन छ
केही अनौठा स्वभावहरू छन्
ठ्याक्कै पशुसँग मिल्छन्
यी स्वभावका आधारमा जीवलाई
पशु भनेर चिन्न अरू सजिलो प्रष्ट छ
पशु अर्को जातको पनि छ
जातका कुरा नगरौँ भनेता पनि
गर्न वाद्यता भएको छ
लाम्चो मुख टाउकामा सिङ
शरीरमा बाक्लै रौँ छन्
हतियार जस्तै पुच्छर छ
चार खुट्टे पैदल यात्री हो
भनेको मान्ने,कर्तव्य पालक छ
ऊ मानव सेवी र इमान्दार छ
अर्कालाई पाल्न जीवनभरि
काममा खट्छ
शरीरको मासु सुम्पन्छ
पर सेवामा प्राण त्याग्न तयार छ
बदलामा केही माग्दैन
साङ्केतिक भाषा बोल्छ
धेरै गुण असल मानिससँग मिल्छन्
त्यसै कारणले पनि उसको
नाम पशु हुन सक्छ
यी दुबै पशुका
शरीरका अङ्ग खानपिन,
धेरै रहनसहन मिलेका छन्
व्यवहार, प्रवृति ,लुच्याइँ, दरिद्र्याइँ,
हानाहान छेडाछेड उस्तै छ
जस्ले गर्दा कुन पशु कुन जातको हो भनेर
छुट्याउन भने विज्ञानका जिजु बाजे देखि जनातीसम्मलाई पनि धौ धौ परेको छ
दुबै प्रकारका जीवबाट समान प्रकारका
ब्यवहार हुन थालेकाछन्
शक्तिशाली जीव पहिचान गर्न नसकेर
धर्म शास्त्र जन्माउने माताकी
कुप्रि आमा समेत रोएकी हुन्
आधुनिक समाज शाष्त्रका दार्शनिकहरू
जीव विज्ञानका संस्थापकका
सयौँ पुस्ताहरू पनि थाकिसकेका हुन्
उल्टो भएको छ समय
रुप मात्र हेरेर नहुने
व्यवहारका आधारमा पशु को हो ?
पहिचान आजको चुनौती बनेको छ।
प्रतिकृया दिनुहोस