• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

तत्काल मन्त्री फेर्ने तयारी छैन– प्रधानमन्त्री कार्यालय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरिरहेको वर्तमान सरकारले पूर्णता पाएको केही समय मात्रै भएको छ । तर सत्तारुढ गठबन्धनका कतिपय हिस्सेदार पार्टीका नेतालाई समावेश गराउन मन्त्रीहरु हेरफेर हुने चर्चा चलिरहेको छ । 

हाल माओवादीले सरकारको नेतृत्वसहित ८ मन्त्रीहरु छन् । जनमत पार्टीलाई थप एक मन्त्रालय दिने हो भने प्रधानमन्त्री प्रचण्डले माओवादीबाटै एक मन्त्री हटाउन सक्छन् भन्ने आँकलनका बीच मन्त्री हेरफेरको चर्चा भएको हो । 
 
माओवादी केन्द्रका मन्त्रीहरु शक्तिबहादुर बस्नेत, सुदन किराती वा अमनलाल मोदीमध्ये एक मन्त्री हट्नसक्ने चर्चा गरेपनि प्रधानमन्त्री प्रचण्डले भने तत्काल त्यस्तो योजना नबनाएको स्रोतले बतायो ।

समाचार दैनिकसँगको कुराकानीमा प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले नयाँ मन्त्री थप्ने र माओवादीका मन्त्री हटाउने कुनै योजना प्रधानमन्त्रीले अहिले नबनाएको बताए । 

‘कहाँबाट यस्तो हल्ला चल्यो ? प्रधानमन्त्रीले तत्काल नयाँ मन्त्री थप्ने वा हटाउने कुनै योजना बनाउनु भएको छैन,’ स्रोतले भन्यो । 

माओवादी मन्त्रीहरु बस्नेतले ऊर्जा तथा जलस्रोत, किरातीले पर्यटन तथा नागरिक उड्यान र मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका छन् । 
माओवादीबाट गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ, संचार मन्त्रीमा रेखा शर्मा, महेन्द्र राय यादव खानेपानी मन्त्री छन् । 

यसअघि मन्त्रालय भागबन्डामा चित्त नबुझाएर सरकारबाट बाहिरिएको र अहिले पनि सरकारलाई समर्थन दिईरहेको जनमत पार्टी फेरि सरकारमा जान ठिक्क परेर बसेको छ ।

जनमत पार्टीले उद्योग मन्त्रालयको दाबी गरिरहेको छ । जनमतका अध्यक्ष सिके राउतनै सरकारमा सहभागि हुन लागेको र उनले उद्योग मन्त्रालयनै दावी गरिरहेको प्रधानमन्त्री प्रचण्डले मन्त्रालय हेरफेर गर्ने सम्भावना रहेको बताईन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर