• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

मेसीलाई भेट्ने, नपाए उनको खेल प्रत्यक्ष हेर्ने नेम्वाङको सपना अधुरै रह्याे

काठमाडौं । अर्जेन्टाइन सुपरस्टार, विश्व नम्बर एक लियोनल मेसीको 'अन्धसमर्थक' सम्भवतः नेपालकै उच्च ओहोदाको व्यक्ति सुवासचन्द्र नेम्वाङ नै थिए  । 

विश्वकपका दौरान हुने खेलहरु मात्र होईन, उनी मेसीका हरेक खेल नछुटाई हेर्ने गर्दथे । चाहे त्यो जुनसुकैबाट मेसीले खेल्ने क्लब म्याच किन नहोस । कतिपय खेल टिभीमा सजिलै हेर्न सकिदैनथ्यो ।

विषेशगरि कोपा अमेरिकाका खेलहरु नेपालमा टिभी च्यानलमा आउदैनथ्यो । त्यस्तो बेला के गर्नुहुन्छ ? कसरी हुर्नुहुन्छ ? भन्ने जिज्ञासामा नेम्वाङले कुनै बेला भनेका थिए, 'छोराले खै कताबाट लिङक खोजेर ल्यापटपमा देखाईदिन्छन्, कहिले टिभीमा जोडिदिन्छन् । त्यही हेर्ने गरेको छु ।'

गत कतार विश्वकपमा मेसीको खेल हेर्न जाने उनको ठूलो धोको थियो । तर यता चुनावको रौनकले गर्दा सम्भव भएन । युरोपमा रहेका नेकपा एमालेका भ्रातृसँगठनका नेताहरुलाई कुनै सन्दर्भमा नेम्वाङले मेसीको खेल हेर्नेगरि कार्यक्रम र भ्रमण मिलाउनसमेत भनेका थिए । तर त्यो भनेजस्तो मिलेन । 

हेर्ने मात्रै होईन, नेपालका मिडियामा मेसीका विषयमा आएका समाचार मेलैसँग पढ्ने र कतै गल्ती भेटिए संसदीय रिपोटिंङ गर्ने पत्रकारलाई आफ्नो अफिसमा समाचार सच्याउन सन्देश पठाउने गर्दथे उनी ।

पिएसजीको एक खेलमा मेसीले एक गोल, नेइमारले २ गोल गरेका थिए । एक दैनिक पत्रिकाले मेसीले २ गोल हानेको समाचार छाप्यो । भोलिपल्ट नेम्वाङले त्यो पत्रिकारको सम्पादक र खेलकुद हेर्ने साथीलाई 'मेसीले हैन, नेइमारले २ गोल हानेको हो सच्याउनु होला' भन्ने सन्देश पठाएका थिए । 

संविधान बनाउँदाका कठिन दिन हुन् वा चुनावको चाप मिलेसम्म उनले विगत एक दशक यताका मेसीका कुनै पनि खेल छुटाएका छैनन् । 

मध्यरातमा ला लिगा, च्याम्पियन्स लिग, मेसी पिएसजी गएपछिको लिग वान र अहिले अमेरिका पुगेपछि इन्टर मायामीका कुनै पनि खेल उनले नछुटाई हेरे । मध्यरातमै मेसीको गोलमा खुसीयाली मनाउँदै एसएमएस गर्दा उनी प्रतिक्रिया जनाउँदथे । 

त्यसैले नेपालको सवैभन्दा ठूलो मेसीका फ्यान थिए सुवासचन्द्र नेम्वाङ भन्दा अन्यथा हुनेछैन । 

मेसी मायामी पुगिसकेपछि कतिपयले आलोचना गरेका थिए । यस सन्दर्भमा उनलाई जिज्ञासा राखें, उनले मेसीको बचाउमा ५ मिनेट खर्च गरे । मेसीले उत्तम निर्णय गरेको र पैसा भन्दा पनि आफ्नो र आफ्नो परिवारको भविष्यका लागि मेसी मायामी गएको उनको टिप्पणी थियाे । 

पछिल्लो चरणमा उनले राजनीतिक भाषणमा समेत खेलकुदलाई जोड्ने र अब्बलको उदाहरण दिनुपर्दा मेसी जस्तै भन्ने गर्दथे । 

कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए, ‘मलाई सारै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु।अर्जेन्टिना र पिसएजीको फुटबल हेर्छु । जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ।’

नभन्दै भयो पनि त्यस्तै। गत वर्ष कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । मेसीलाई मनपराउनु अघि नेम्वाङ रोनाल्डोका फ्यान थिए । तर मेसीको सिम्प्लीसिटी, खेल कौशल र अनुशासनले उनलाई लोभ्यायो । उता रोनाल्डोको घमण्ड र उत्ताउलो पनले मन मर्दै गएको उनले सुनाएका छन् । 

विद्यालय उमेरबाटै उनी फुटबलमा आकर्षित थिए । उनले इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउने गर्थे। 

कुशल राजनीतिज्ञको छवि बनाएर अचानक अस्ताएका दिवङ्गत नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव जीवनको आखिरीसम्मै रह्यो । 

संविधानसभा अध्यक्ष, पूर्वसभामुख, एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातका कारण गएराति काठमाडौँमा निधन भएको थियो । इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित उनी एमाले संसदीय दलको उपनेतासमेत थिए । नेपाली राजनीतिमा नेम्वाङ शालीन, भद्र र परिपक्क नेताको रुपमा सधैँ चिनिए।

विसं २००९ मा आमा अपिन्द्रकुमारी र बुबा रामबहादुर नेम्वाङका सुपुत्रका जन्मेका उनी  संविधान र कानूनका ज्ञातासमेत थिए। राजनीतिमा सहमति र सहकार्यको संस्कृतिलाई स्थापिन गर्नमा अगुवाइ गर्नुहुने नेम्वाङ विसं २०५६ देखियता लगातार इलाम–२ बाट निर्वाचित भएका थिए। दिवङ्गत नेम्वाङको निधनमा सार्वजनिक बिदा दिने र राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।  

नेम्वाङ जिवित भएको भए सम्भवत उनले आज राति १ः४५ मा हुने अर्जेन्टिना र बोलिभियाबीचको खेल पनि हेर्थे । तर यो फगत कल्पनाको विषय मात्रै भयो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर