• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रचण्डलाई मोदीले भेट दिएनन्, कि भेट तय नै थिएन ?

काठमाडौं । शुक्रबार नयाँ दिल्ली उड्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भनेको थियो, ‘आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता पछि हामी स्वदेश फर्कने कार्यसूची छ ।’ तर सचिवालय र कतिपय माओवादीका उच्च तहका नेताहरुले दावी गरेजस्तो अध्यक्ष प्रचण्डको मोदीसँग भेट आइतबार नेपाल फर्कने अन्तिम क्षणसम्म पनि संभव भएन । भेटका लागि भारतस्थित नेपाली दूतावास, नेपालस्थित भारतीय दूतावास र प्रचण्डको सचिवालयसहित भ्रमणको चाँजोपाँजो मिलाउनेहरुले प्रयास नगरेका होइनन् । 

आइतबार काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा उत्रँदै गर्दा भोदीसँगको भेट र भारत भ्रमणबारे अध्यक्ष प्रचण्डले भनेका थिए, ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन, भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो ।’

मोदीसँग भेट नभएपनि भारत भ्रमणका क्रममा विदेशमन्त्री, सुरक्षा सल्लाहाकार, रअ प्रमुख, भाजपाका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको उनको भनाइ थियो ।

प्रचण्डको उक्त भनाईले आफू जुन उदेश्यका लागि भारत भ्रमणमा गएको हो त्यो पूरा भयो भन्ने संकेत गर्दछ । अथवा मोदीलाई नभेटिकन नेपाल फर्कँदा भारतले प्रचण्डलाई खासै महत्व दिएन कि भन्ने आशंकालाई उनले हटाउन खोजेको देखिन्छ । यदि मोदीसँगको भेट उत्ति महत्वको थिएन भने दिल्ली उड्नु अघि नै उनको सचिवालयले नेपाल फर्कने दिन आइतबार मोदीसँग भेटवार्ता हुने सूचना नचुहाउनु पर्ने थियो । यसको अर्थ सतहमा हेर्दा भेटघाटको रुची र तयारी दुवै भएको तर मोदीको समय नमिलेको वा उनले आफैंले भेटवार्ता गर्न नचाहेको देखिन्छ । 

प्रचण्ड–मोदी भेट तय थियो ?
यसो भन्दैमा प्रचण्डको दिल्ली दौडलाई भारतले कम महत्व दियो वा असफल भयो भन्न भने मिल्दैन । भारत मामिलाका जानकारहरु भन्छन्, ‘प्रचण्डलाई विमानस्थतमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेदेखि भाजपाको मुख्यालय भ्रमण गराएर नेपालका लागि विदाइ गर्दा सम्म जुन तहका नेताहरुबाट प्रचण्ड घेरिए त्यसले कम महत्व दिएको भन्ने कुरा पुष्टि हुँदैन ।

बरु उनले मोदीलाई भेट्ने कार्यक्रम थियो कि थिएन भन्ने कुरा मुख्य हो,’ती विज्ञले  समाचार दैनिकसँग भने, ‘मेरो विचारमा प्रचण्ड दिल्ली उड्नु अघि उनले मोदीलाई भेट्ने कुरा नै तय भएको थिएन । भेटवार्ता तय नै नभएकाले उनले भेट्न पाएनन् वा भारतले कम महत्व दियो भने कसरी भन्न मिल्छ ?’

ती विज्ञले नाम नछाप्ने सर्तमा समाचार दैनिकसँ भनेका थिए, ‘मोदी बाहेक भारतका जुन जुन नेताले  प्रचण्डसँग भेट गरे त्यो भनेको उच्च महत्व दिएको हो । प्रचण्ड राजकीय भ्रमणमा होईन, त्यहाँको सत्तारुढ दल भाजपाको निम्तोमा गएका हुन्, भाजपाले जुन महत्व दिएर प्रचण्डसँग छलफल  गर्यो त्यो निक्कै महत्वपूर्ण छ । र विशेषगरि माओवादी केन्द्रको भाजपासँग द्धिपक्षीय सम्बन्ध नै थिएन, सम्बन्ध सुरुवात गर्ने कोणबाट हेर्दा मोदीलाई नेभेटेपनि प्रचण्डको भेट सफल नै भएको मान्नु पर्दछ ।’

परराष्ट्र मामिलाका जानकार चन्द्रदेव भट्टले भने याे विषयमा फरक मत राखे । मोदीले प्रचण्डलाई भेट नदिनुलाई नेपाली नेताहरुको हैसियत र महत्व माथिनै प्रश्न उठाउनु पर्ने बताए ।

उनले भने, ‘प्रचण्ड जत्तिको नेपालको नेता भारत म्रमणमा गइसकेपछि मादीले भेट्नै नभ्याउने भन्ने थिएन, उनले चाहेको भए २ मिनेट भेटेर एउटा फोटो खिचाएर सन्देश दिन सक्थे । नभेट्नुको दुई ओटा अर्थ हुन सक्छ, यात प्रचण्डसँग गर्नुपर्ने काम जुन जुन नेताले भेटे त्यही भर्ईहाल्यो भनेर नभेटेको हुनसक्छ, या कम महत्व दिएरै नभेटेको हो ।’

पत्रकार एवं विश्लेषक कमलदेव भट्टराईले प्रचण्डको दिल्ली भ्रमणलाई ५ बुंदामा संश्लेषण गरे । 

  • प्रचण्डको भारत भ्रमण नेकपा माओवादी केन्द्र र भारतीय जनता पार्टीको बीचको सम्बन्ध सुधारमा केन्द्रित रहेको देखियो । पछिल्ला वर्षहरुमा भाजपाले नेपालका राजनीतिक दलहरुसँग दुईपक्षीय आदान प्रदान र संवाद अगाडी बढाएको छ । प्रचण्डको भ्रमणमा पनि त्यो देखियो । अब भाजपा र माओवादीको बिचमा दुईपक्षयी आदान प्रदान बढ्छ । 
  • दोस्रो, भारत र प्रचण्डले दुवै एक अर्कासँग सम्बन्ध सुधार गर्न चाहेको देखियो । २०७४ सालमा प्रधानमन्त्री हुँदा भारत भ्रमणमा गएका प्रचण्डको त्यसयता भ्रमण र उच्च तहमा कुराकानी भएको थिएन् । वाम गठबन्धनपछि चिसिएको सम्बन्ध सुधार भ्रमणको उदेश्य देखिन्छ । 
  • निश्चय नै नेपालको आन्तरिक राजनीति र विशेष चुनावी गठबन्धनको विषयमा कुराकानी भएको हुनुपर्छ र भारतले प्रचण्डले अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सुझाव दिएको हुनसक्छ । यस बाहेक अन्य भूराजनीतिक विषयमा पनि कुराकानी भएको हुनसक्छ । 
  • जहाँसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नभएको विषय छ । नेपालको एक महत्वपूर्ण पार्टीको अध्यक्ष र दुईपटक प्रधानमन्त्री भएको नेतालाई बोलाएपछि मोदीले भेट्नु पर्दथ्यो । साथै, मोदीसँग भेट यकिन नगरी भ्रमणको बारेमा अन्तिम निर्णय गर्ने भारतस्थित नेपाली दुतावास र प्रचण्डको सचिवालयको कमजोरी देखियो । 
  • भ्रमणको क्रममा प्रचण्डले दुईपक्षीय एजेण्डाहरु सीमा, प्रवुद्ध समूहको प्रतिवेदनको विषय उठाएकै देखिन्छ । वैठकहरुमा के भने त्यो यकिन छैन् ।

 

विश्लेषक भट्टराईलले भनेजस्तै वास्तवमा प्रचण्ड दिल्ली उड्नुअघि मोदीसँगको भेट किटाननै भएको थिएन । स्रोतले भन्यो, ‘दूतावासले पनि फर्कने दिन सम्म भेट्न मिलाउने आश्वासन दियो, प्रचण्डको सचिवालय पनि त्यसैमा विश्वास गरेर दिल्ली उड्यो तर उनीहरुले सोचे जस्तो आइतबारसम्म पनि मोदी प्रचण्डको भेटवार्ताको साइत जुर्नै सकेन ।’

भारतीय जनता पार्टीका अध्यक्ष @jpnadda को निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका @cmprachanda लाई स्वागत गर्न पाउँदा खुशी लागेको छ ।
आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । https://t.co/NO3LBi7qTr

— Dr. S. Jaishankar (@DrSJaishankar) July 16, 2022

आकस्मिक थियो त भ्रमण ?
प्रचण्डको भारत भ्रमण आकस्मिक थियो कि पूर्व निर्धारित भन्ने विषयमा पनि नेपाली राजनीतिक रंगमञ्मा प्रश्न र संसयहरु जन्माईए । नेपाल जुन भूराजनीतिमा अवस्थित छ त्यस कारण पनि बेला बेला यस्तो कन्स्पिरेसीहरु जन्माउने गरिन्छ । त्यसैको निरन्तरता स्वरुप प्रचण्डकको भ्रमणलाई समेत आकस्मिक वा चीनका विदेशमन्त्रीसँग भेटे लगत्तै प्रचण्ड भारत उडे, प्रचण्डलाई चीनले विश्वास गर्दैन वा चीनसँगको कुरा भारतमा भन्न गए प्रचण्ड लगायतका परम्परागत भनाईहरु आएका हुन् ।

भारतसँग निकट रहेको विश्वस्त स्रोत भन्छ, ‘प्रचण्डले भने जस्तै यो भेट पहिला  नै तय भएको भेट हो । कुनै आकस्मिक होईन । बरु प्रचण्डले चिनियाँहरुलाई नै उनीहरुसँगको भेटमा म केही दिन पछि भारत जाँदैछु भने भनिसकेका थिए । त्यो कुरा चिनियाँ नेताहरुले प्रचण्ड भन्दा पछि भेटिएका नेपाली नेताहरुलाई समेत भनेका थिए ।’ 

प्रचण्डले भ्रमणका लागि हाल भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा नेपालस्थित भारतीय राजदूत हुँदै निम्तो दिएको बताएका थिए । 

एजेण्डागत हिसावले के भयो ?
दिल्ली उत्रिएदेखि काठमाडौंका लागि उडेसम्म प्रचण्डको भारत भ्रमण दौडधुपमा केन्द्रीत रहेको देखियो । एक पछि अर्को भेट र एक पछि अर्को कार्यक्रम । यसबीचमा प्रचण्डले सार्वजनिक अभिव्यक्तिहरु मार्फत जे सन्देश दिए त्यसले उनी राष्ट्र र राष्ट्रियतताको मुद्धामा प्रष्टै रहेको देखिन्छ ।

सन् १९५० को सन्धी पुनरावलोकन गर्नुपर्ने, सीमा लगायतका द्धिपक्षीय समस्या आपसी सम्बादबाट हल गर्नुपर्ने कुरा दिल्लीबाटै प्रचण्डले सार्वजनिक रुपमा भन्नु त्यो कमजोर मानसिकताको उपज होईन । तर स्वास्थ्य उपचारमा दिल्लीमा रहेकी प्रधानमन्त्री पत्नी आरजु देउवासँगको सामान्य र दूतावासमा भएको सामूहिक भेटलाई नै विरोधाभाष बनाउन खोज्नु चाँही एजेण्डा नपाएर अल्मलिएको रुपमा बुझ्नु पर्दछ ।

राजनीतिक र कुटनीतिक रुपमा नेपाल भारतबीचको सन् १९५० को सन्धी पुनरावलोकन गरौं भन्नु, प्रबुद्ध समूहको रिपोर्ट स्वीकार गरौं भन्नु, सीमा लगायतका समस्या आपसी सम्बादबाट समाधान गरौं भनेर प्रचण्डले सार्वजनिक रुपमा भन्नु राष्ट्र र राष्ट्रियता प्रति प्रचण्ड प्रष्ट भएको रुपमा बुझ्नु पर्दछ ।  

Delighted to join BJP President @JPNadda ji at his meeting with @cmprachanda.

Discussions on India-Nepal relations and party to party exchanges took place in a warm and cordial atmosphere. pic.twitter.com/PG8CMVQIfM

— Dr. S. Jaishankar (@DrSJaishankar) July 17, 2022

विपक्षी एमालेको चिन्ता
प्रचण्डको दिल्ली भ्रमणका दौरान र प्रचण्ड फर्किएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विदेश मामिलासँग जोडिएका कतिपय नेताहरुले सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनीहरुको प्रतिक्रिया प्रचण्डले ‘चिनियाँ नेताहरुलाई भेटे लगत्तै भारत जानु हुँदैनथ्यो’ भन्ने जस्ता आएका छन् ।

राष्ट्रियताको सवालमा प्रचण्ड खरो उत्रिएनन् वा मोदीलाई भेट्न नपाएकाले भारतले कम महत्व दियो भन्ने प्रतिक्रिया एमाले बृत्तबाट आएको छ । एमालेको यस्तो प्रतिक्रियाले प्रचण्ड विजेपीको सम्बन्ध सुधार भएको र त्यसले कालान्तरमा एमालेलाई फाइदा नहुने कोणबाट विश्लेषण भएको रुपमा बुझ्न सकिन्छ ।

माओवादी केन्द्र र भाजपाबीच अहिलेसम्म औपचारिक सम्बन्ध नै नभएको परिपेक्षमा यो भ्रमणले भारतको सत्तारुढ दलसँग माओवादीको साइनो जोडिनु, सो पार्टीका अध्यक्षले प्रचण्डलाई त्यति महत्व दिएर मुख्यालयमा नै 'रेड कार्पेट विछ्याउनु'लाई नेपालको प्रतिपक्षले सजिलै पचाउन सकेको देखिँदैन । 

 
भारतबाट फर्किएपछी पत्रकारसँग कुराकानी गर्दै प्रचण्ड Live

भारतबाट फर्किएपछी पत्रकारसँग कुराकानी गर्दै प्रचण्ड Live

Posted by SamacharDainik.com on Sunday, July 17, 2022

प्रचण्ड सचिवालयको तयारीमा अपुग
प्रचण्ड भारत जानु अघिनै तीन दिने दिल्ली भ्रमणका क्रममा मोदी प्रचण्डा भेट हुने कुरा उनको सचिवालयले नै चुहाएको हो । यसको सामान्य मनोविज्ञान हेर्दा भारत पुगेर पनि प्रचण्डले मोदीलाई नभेटि फर्किए भने भारतले कम महत्व दिएको ठहरिन्छ भन्ने उनीहरुमा गहिरो गरि परेको देखिन्छ । त्यसैले प्रचण्डको सचिवालयले भेटका लागि पहल गर्ने तर निश्चित भने नभएको मोदी प्रचण्ड भेटलाई आईतबार भेटेर फर्कने भनेर चर्चा गरे । 

दिल्ली उड्नु अघि नै ‘यो  भ्रमण भाजपाको निम्तोमा हुन लागेको हो, भाजपाका अध्यक्षसँग भेटवार्ता हुन्छ, अन्य केही सरकारी तवरमा पनि छलफल हुन्छ, तर मोदीसँगको भेट त भएको छैन, समय मिलेमा हुन्छ अन्यथा नहुन पनि सक्छ’ भनेर गएको अहिले चर्चा चलाईएको मोदीले प्रचण्डलाई महत्व दिएनन् भन्ने खालका प्रतिक्रिया दिनेहरुले समेत आलोचनाका लागि नयाँ विषय खोज्नुपर्ने हुने थियो । वा आरजु प्रचण्ड भेटको नक्कली पत्र तयार पारेर सामाजिक सन्जालमा हल्ला मच्चाए जस्तो त्यस्तै केही नक्कली काममा आत्मरति लिनुपर्ने थियो । 

पत्रकार तथा विश्लेषक भट्टराईले यस विषलाई अझ प्रष्टसँग भने, 'नेपालको एक महत्वपूर्ण पार्टीको अध्यक्ष र दुईपटक प्रधानमन्त्री भएको नेतालाई बोलाएपछि मोदीले भेट्नु पर्दथ्यो । साथै, मोदीसँग भेट यकिन नगरी भ्रमणको बारेमा अन्तिम निर्णय गर्ने भारतस्थित नेपाली दुतावास र प्रचण्डको सचिवालयको कमजोरी देखियो ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर