• २०८१ श्रावण ८ मंगलबार
  • Tuesday, 23 July, 2024

नेपालकाे माटाे, नेपालकाे पानी र नेपाली जवानीः एक बहस

‘असल शिक्षाले सस्कार र संस्कृतिलाई बचाउँछ, स्वाभिमान जगाउँछ’
 
पछिल्ला वर्षमा नेपाली युवायुवती अध्ययन र रोजगारीका नाममा अष्ट्रेलिया, युरोप, अमेरिका र क्यानडा पलायन हुने क्रम ह्वात्तै बढेको छ । देश विकास र समृद्धिका लागि श्रमका माध्यमबाट रगत, पसिना र योगदान पु¥याउनुपर्ने युवायुवतीको बढ्दो विदेश पलायन पक्कै पनि मुलुका लागि सुखदायी विषय होइन । मुलुकमा राजनीतिक अस्थिरता, रोजगारी र अवसरको अभाव अनि शिक्षामा चर्काे शुल्क, परिवार तथा नातावादले उनीहरुलाई जीवन यापनका लागि विदेश जान बाध्य तुल्याएको छ । देशका होनहार जनशक्तिको  विदेश जाने क्रम यही गतिमा अघि बढने हो भने अबको केही वर्षमै मुलुकमा युवा पंक्तिको संख्या अत्यन्त न्यून हुनेछ ।

बालबालिका र ज्येष्ठ नागरिकले मात्र देश चलाउन पर्ने अवस्था आउन सक्ने चूनौति देखिएको छ । विगतमा जस्तो अध्ययन तथा रोजगारी पुरा गरेपछि स्वदेश फर्कने क्रममा क्रमभंङगता भएको छ । रोजगारी र अवसरका लागि गएका ती जनशक्ति फेरि नेपाल फर्कने सम्भावना न्यून छ । तीन दशक अघिसम्म विदेश गई अध्ययन पुरा गरी स्वदेश फर्किएपछि समाजको विभिन्न क्षेत्रमा  महत्वपूर्ण योगदान पु¥याएका घटना प्रशस्तै छन् । सरकारी होस् वा निजी क्षेत्रका महत्वपूर्ण ओहदामा रही उनीहरुले अहिले पनि राष्ट्रसेवा सेवा पु¥याइरहेको पाइन्छ ।
 
नेपालबाट खासगरी डाक्टर, इन्जिनियर, वकिल, कृषि र अन्य प्राविधिक शिक्षाका लागि विद्यार्थी विदेश जाने र पढाइ सकेपछि स्वदेश फर्केर राष्ट्र सेवामा समर्पित हुने परम्परा थियो । तर पछिल्ला वर्षमा यो प्रवृत्ति बदलिएको छ । राष्ट्रभक्ति र राष्ट्रसेवाको मनोभाव कमजोर भएको छ । हुन त पछिल्लो समय सूचना प्रविधि, अनुसन्धान र विज्ञानका क्षेत्रमा भएको विकासले विश्वलाई नै एउटा गाउँका रुपमा परिणत गरिसकेको छ ।

सूचना प्रविधिको माध्यमबाट विश्वका जुन कुनामा बसेर पनि टेवलबाट गर्न सकिने जिम्मेवारी सहजरुपमा सञ्चालन गर्न सकिने परिस्थिति बनाएको छ । महामारीकारुपमा फैलिएको कोभिड १९ को संक्रमणले त झन त्यस्तो कार्यलाई सामान्यिकरण गरिदिएको छ । नेपाल पछिल्लो दुई वर्षमा दश जोड दुई अर्थात प्लस टु पास गरेका आधाभन्दा बढी विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान नो अब्जेक्सन लेटर लिन निवेदन दिएका जानकारी प्राप्त भएको छ । यस्ता प्रवृत्ति र घटना देशका लागि दुर्भाग्य बनेको छ । मुलुकको शिक्षा क्षेत्रमा देखिएको व्यापारीककरण र विचौलिया हावीका घटनाले पनि युवालाई विदेश पलायनका लागि बाध्य पारेको छ ।

विदेश पलायन हुने घटनालाई विद्यालय र बाबुआमासहित परिवारले अवसरका रुपमा लिने गरेकाले पनि देशमा युवाशक्ति रित्तिदैछन् । यसमा अस्थिर राजनीतिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा माफियाको जगजगीले सवैभन्दा ठूलो हात रहेको आरोप छ । मुलुकले अंगालेको अव्यवहारिक शिक्षा प्रणालीले पछिल्लो समय आफनो  रितिथिति, वेशभूषा, पहिचान, संस्कार र संस्कृतिलाई वेवास्ता गर्दै पश्चिमी जीवन शैली अंगाल्न प्रेरित र प्रोत्साहन गरिरहेको छ ।

आधुनिक र व्यवहारिक भनिएको शिक्षा प्रणालीले युवा पंक्तिमा राष्ट्रियताको भाव खुम्च्याइ दिएको छ । हुन त भनिन्छ “भोको पेटमा गुलाफको फूलको के अर्थ हुन्छ ।” उच्च राष्ट्रभक्ति भएकै कारण हुन सक्छ नेपालको एकिकरणका क्रममा बुढापाका, बालबालिका र महिला एकाकार भएर लडेका थुप्रै उदाहरण छन् । त्यस बेला ती सवै अक्षित थिए । तीनै नेपालीका सन्तानलाई हालको शिक्षा प्रणालीले दिएको शिक्षाले राष्ट्रियता  र स्वाभिमान कम्जोर तुल्याएको छ ।

त्यसैले होला, राष्ट्र सबैभन्दा सर्वाेपरि हो भन्ने भाव युवा पुस्तामा खुम्चिएको छ । दाना फालिदिएको भरमा बिना मेहनत घोगा लाग्ने अनि जङ्गलका झार र लेउ मिसाएर कुटेर खाँदा जस्तो सुकै रोग निको हुने हाम्रो देशप्रतिको युवाको बुझाइमा परिवर्तन ल्याउन निकै ठूलो चुनौति देखिएको छ । मुलुकको अर्थतन्त्र बिग्रनुमा कृषि क्षेत्रप्रतिको बेवास्ता हो ।
 
हजारौँ वर्ष माटो मुनि रहँदा नकुहिने काठ उत्पादन हुने अनि जुन सुकै डाँडाको टुप्पोमा पुगेर अनयन्त्र नियाल्दा अनुपम र बिछट्टै सुन्दर देखिने प्राकृतिक मनमोहक दृश्य यहाँ छ । यस्ता निधिलाई च्वाट्टै छोडेर विदेश जानु पर्ने बाध्यताले युवापुस्ताको पनि मन भन पोलेकै हुनुपर्छ ।
 
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ भन्नुहुन्छ, “राम्रो भौतिक पूर्वाधार नभएपनि देश प्रेमको भावनाको मूल्य ठूलो हुन्छ । अहिले देशलाई माया गर्ने शिक्षा आवश्यक छ । अर्काको नागरिकता पाइएन भने आत्मग्लानी हुनुपर्ने कुनै कारण छैन ।”
 
उहाँ भन्नुहुन्छ “आफ्फो नागरिकता त्यागेर अर्काको नागरिक बन्न पैसा तिरेर जाऔँ–जाऔँ लाग्ने नेपाल कस्तो देश बन्न पुग्यो, हामी कस्ता नागरिक भयौँ, कस्तो कुरा सिकाइउने कस्तो अर्थतन्त्र र अर्थशास्त्री हुन्। ”
  
विचार पनि अर्काकै, वस्तु पनि अर्काकै आयत भएपछि बाँकी रह्यो के भन्ने प्रश्न उब्जिएको छ । हामी नेपाली प्राणी जगत्को एउटा सदस्य मात्रै भयौँ कि भन्ने जस्तो बनाएको छ । असल शिक्षा प्रदान गर्ने सिलसिलामा यहाँका विद्यालय र कलेज दिने सन्देशले युवा पुस्तालाई यही बस्न प्रेरित गर्नुपर्छ । देश सेवाको भावना जाग्नै पर्छ । सरकारी नीतिभित्र राष्ट्रिय नीतिलाई जोड्नैपर्छ ।
 
प्रत्येक वर्ष अर्बाै पैसा खर्च गरेर हाम्रा विद्यार्थी बाहिर गएपछि देशका धेरै कलेज बन्द हुने खतरा उत्पन्न भएको छ । मुलुकले आफना नागरिकलाई गुणस्तर शिक्षा दिनुपर्छ त्यो हक र दायित्व दुवै भित्र पर्छ । डलर खर्च गरेर विदेश पठाउने चाहनालाई हामीले समयमै पुनरावलोकन गर्न सक्नुपर्छ । राष्ट्रको उच्च ओहदामा रहेका व्यक्तिकै सन्तान नै विदेशमा छन् । राष्ट्रिय शिक्षा प्रणाली कम्जोर भएमा राजनीतिक प्रणाली बलीयो हुदैन । अर्थ प्रणाली पनि बलियो हुन्न सक्दैन । राष्ट्रिय शिक्षा प्रणाली बलियो भएन भने राष्ट्रियता र स्वाभिमानको अर्थ रहन्न ।

मुलुकको  राष्ट्रिय शिक्षामा प्रणालीमा अनेक  समस्या देखिएको छ । अरु चिजवस्तु निकासी हुन छोड्यो, नेता निकासी गर्न पाए कस्तो हुन्थ्यो भन्ने हदसम्म विचार प्रकट हुन पक्कैपनि शोभनिय विषय हुन सक्दैन।

हाम्रो गुणस्तर भनेको राष्ट्र, राष्ट्रियता, स्वाभिमानसहितको व्यवहारिक र असल नागरिक उत्पादन गर्ने शिक्षा हो । शिक्षा लिने विषयमा कसैलाई विभेद गरिन हुन्न । मान्छे भएर जन्मिएपछि समाजका सबै समान हुन भन्ने सन्देश दिनुपर्छ । देश हाक्नेको आफ्नो ज्यान जतिकै हरेका व्यक्तिका लागि आफ्नो ज्यान उत्तिकै ठूलो हुन्छ ।
 
हाम्रो शिक्षा नेपाललाई होइन, अमेरिका र बेलायतका कलेज लक्षित छन् । मुलुकलाई नेपाली धर्तीमा योगदान दिने सपुल चाहिएको छ । आमा र बालाई जुन बेला छारोछोरी चाहिन्छ  त्यो बेला हुन्नन् भने सन्तान हुनु र नहुनुको अर्थ रहन्न । अहिलेको शिक्षाले मातापिता मरेपछि दुई दिन घाटमा कुराउने र रोक्ने अवस्था सिर्जना गरेको छ ।

देशको सबैभन्दा ठूलो समस्या फेरि पनि अशिक्षा नै हो । अशिक्षित भएपनि आमा घरका विश्वविद्यालय हुन् । शिक्षक समाजको अगुवा हो । उसलाई अहिले समाजले खासै सम्मान गरेको देखिन्न । कलेजमा विद्यार्थीद्वारा कुटिएका घटना बारम्बार सुनिएको छ ।

शिक्षा बिना, स्वास्थ्य, रोजगारी, वृत्तिविकास, राजनीतिक सहभागिता र समग्रमा जीवनका सम्पूर्ण सुखका आयाम रहन्न । ठूलो घर भएपनि सानो विचार राख्ने भन्दा सानो घरमा बसेर ठूलो विचार राख्नेले बढी महत्व बोक्दछ । राष्ट्रको उद्देश्य असल पुस्ता निर्माणमा केन्द्रित हुनुपर्छ भन्ने आजको यक्ष प्रश्न हो ।

असल पुस्ता भनेको ठूलो कमाईका लागि विदेशमा विक्ने होइन, ठूलो लगानीको लाभ नेपालले पायो कि पाएन भन्ने मुख्य विषय हो । अहिको शिक्षाले नेपालीलाई स्वदेशमै बसौबसौ लाग्ने बनाउँछ कि बनाउदैन भन्ने प्रश्नसँगछ । अहिले शिक्षामा भएको लगानी जमिन, दुःख र हिलोमा काम गर्ने नेपाली उत्पादन अर्काको  जस्तो भएको छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्नुहुन्छ,“हाम्रो शिक्षा प्रणालीले देशको आवश्यकतालाई सम्बोधन गर्न छाडेको छ । नेपालको ओझ घटेको छ, विकास पछाडि परेको छ । शिक्षा प्रणालीलाई ठूलो रुपमै पुनरावलोकन गर्नुपर्छ ।”
 
शिक्षाले सस्कार र संस्कृतिलाई बचाउन, स्वाभिमान जगाउने काम गर्छ कि गर्दैन भन्ने प्रमुख प्रश्न भएकाले हुँदा असल शिक्षा भनेको अर्काको भाषा बोल्ने, धेरै पैसा कमाउने र विदेशमा विक्ने होइन भन्ने पाटो पक्षलाई सवैले बुझन जरुरी छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर