उपरथीमा पदोन्नति भएका सहायक रथी राउतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा सोमबार आयोजित कार्यक्रमबिच उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
उनी नेपाल सरकार मन्त्रिपरिषदको भदौ २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् । उपरथी राउत पदोन्नतिसँगै संभाररथीमा नियुक्त भएका छन् ।
प्रधान सेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भरतचन्द्र गुरुङ, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका विनोद थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी हरिबहादुर विश्वकर्मालाई समेत दर्ज्यानी चिन्ह प्रदान गरे ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस