कोशी एमालेकाे अधिवेशन: विनोद ढकाल बन्लान् अध्यक्ष ?

विराटनगर । नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशनको प्रतिनिधि छनौटको प्रक्रिया आजदेखि सुरु भएको छ । प्रतिनिधि छनौट आगामी ५ गतेभित्र सम्पन्न हुने एमालेले जनाएको छ । कोशी प्रदेशमा एमालेका १ लाख बढी कार्यकर्ता रहेका छन् ।

उनीहरुबाट करिब ११ सय प्रतिनिधि छनौट हुनेछन् । प्रतिनिधिहरुले प्रदेशको कार्यसमिति चयन गर्नेछ । आगामी १२ र १३ गतेका लागि प्रदेशको अधिवेशन तोकिएको छ । निर्वाचित अध्यक्षलाई एमालेले पोलिटब्यूरो सदस्य सरहको हैसियत दिने व्यवस्था छ । यसकारण पनि प्रदेश अध्यक्ष बन्न नेताहरु तीब्र कसरत गरिरहेका छन् ।

एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका नेता शेरधन राईले हालसम्म एमालेका केन्द्रीय सदस्य समेत रहेका विनोद ढकाल, घनश्याम खतिवडा, कोशी प्रदेशका हालका अध्यक्ष तुलसी प्रसाद न्यौपाने र उपाध्यक्ष टिका चेम्जोङले अध्यक्षको आकांक्षा राखेको बताए ।

‘आकांक्षीहरुले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । त्यसलाई अन्यथा मान्ने कुरा भएन । प्रतिनिधि छनौटको काम सुरु भएको छ । कोशी प्रदेशमा सर्वसम्मतिको प्रयास हुन्छ । मलाई लाग्छ सहमतिबाटै नेतृत्व चयन हुन्छ । अन्तिममा सहमति हुन सकेन भने उच्च लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने विषय हाम्रो पार्टीमा अभ्यासकै रुपमा आएको छ । त्यही हुन्छ,’ राईले भने, ‘अहिलेसम्म विनोद ढकाल, तुलसी न्यौपाने, घनश्याम खतिवडा, टिका चेम्जोङको दाबी आइरहेको छ । अरु कसैले आकांक्षा राख्नुभएको छैन ।’

एमालेमा हालसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प कसैले नखोजेको र सिद्धान्त वा लाइन पनि एउटै रहेको कारण कुनै ध्रुव नरहेको जिकिर गरे । ‘पार्टीमा दशौं राष्ट्रिय महाधिवेशनको लाइन, सिद्धान्तमा जबजमा काँही विवाद छैन । नेतृत्वमा केपी ओलीको विकल्प कसैले कल्पना गर्न नसक्ने अवस्था छ । त्यसकारण पार्टीमा कुनै ध्रुव पनि छैन,’ राईले भने, ‘पार्टीमा विचार, लाइन वा व्यक्तिको नाममा कुनै ध्रुव नभएको कारण प्यानल बनाउने, चुनाव लड्ने भन्ने खालको अवस्था देखिँदैन । तर, योग्यतम नेताहरुले प्रतिस्पर्धा गर्न खोज्ने विषयलाई अन्यथा लिनुपनि हुँदैन ।’

अर्का एमाले नेता जीवन घिमिरेले प्रतिनिधि छनौटको अवस्था सकिएपछि अध्यक्षका आकांक्षीहरु थपघट हुनसक्ने बताए । ‘आजबाट प्रतिनिधि छनौटको प्रक्रिया सुरु भएको छ । पाँच गतेपछि प्रतिनिधि छनौटको नक्सा आउँछ । त्यसपछि अहिले दाबी गरिरहेकाहरु पनि कायमै रहन्छन् कि रहँदैनन् भन्ने स्पष्ट हुन्छ । सबैले ५ गते हेरिरहेका छन्,’ घिमिरेले भने, ‘५ गतेपछि अध्यक्षको आकांक्षी दुई जनामा आउन सक्छ ।’

पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । हक्की र सहयोगी स्वभावका उनी एमालेभित्रका परिचित व्यक्ति पनि हुन् । विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका मात्रै नभइ पार्टी बाहिरकालाई पनि सहयोग गर्ने स्वभावका छन् । प्रदेशको राजधानी विराटनगरमा रहेर एमालेलाई जोगाउन ढकालले खेलेको भूमिका प्रसंशनीय रहेको कतिपय बताउँछन् ।

नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी बन्ने परिस्थितिमा ढकाल नभएको भए एमाले मोरङमा ठूलो क्षति हुने विश्लेषण गरिन्छ । माधवकुमार नेपालका समर्थकहरु धेरै भएको जिल्ला मोरङमा लामो समयदेखि ओली पक्षमा रहेरे ढकालले ‘पिल्लर’को काम गरेका थिए । ‘ढकाल थिएनन् भने मोरङ एमालेमा ठूलो विभाजन हुन्थ्यो, उनैको कारण रोकियो,’ एमालेका एक नेताले भने । यद्यपि ढकाललाई ओलीले हालसम्म खुलेर सहयोग नगरेको कतिपय बताउँछन् । पार्टीभित्र लोकप्रिय भएपनि ढकालले हालसम्म पटकपटक निर्वाचनमा लडेपनि विजयी हुन भने सकेका छैनन् ।

यस्तै उत्तरी मोरङ उर्लाबारी निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । ढकालको तुलनामा उनी कमजोर छन् । एमाले विभाजनताका माधवकुमार नेपालको गुटमा रहेर पनि खतिवडा अन्तिममा १० बुँदे सहमति गरेर एमालेमै बसेका हुन् । उता, हाल अध्यक्ष रहेका तुलसी प्रसाद न्यौपाने संखुवासभा निवासी हुन् । पहिलो प्रदेशसभाको कार्यकालमा संखुवासभाबाट निर्वाचित उनी पनि सुरुमा माधव नेपाल निकट थिए । तर, पार्टी विभाजनको समयमा माधव कुमार नेपालको साथ छोड्दै न्यौपाने पनि एमालेमै रहेका छन् । उनी केही समय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका थिए । यस्तै एमालेको कोशी प्रदेश उपाध्यक्ष रहेका टिकाराम चेम्जोङ पूर्व सांसद पनि हुन् । उनी लामोसमयदेखि ओली समूहमै रहँदै आएका नेता हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर