• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

काेशीमा किचकिचः १७ महिनामा १६ पटक सरकार विस्तार 

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा बनेका ६ वटा सरकारमा पटकपटक गरेर २८ जनाले मन्त्रीको ताज पहिरिएका छन् । यस्तै १६ पटक मन्त्रीमण्डल विस्तार भएको छ ।

तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले शुक्रबार १० सदस्यीय मन्त्रीमण्डल निर्माण गरे । उक्त मन्त्रीमण्डलमा सहभागी भएकी पर्यटन, वन तथा वातावरण मन्त्री बन्दना झाँगर बाहेक सबै मन्त्री पुरानै अनुहार हुन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं सरकार बन्दासम्म केही मन्त्रीले भने ३ पटकसम्म दोहोर्याउने अवसर पाएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्की आफैंले ३ पटक मुख्यमन्त्री बन्ने अवसर पाए । उद्धब थापा दुई पटक मुख्यमन्त्री बन्दा केदार कार्की १ पटक मुख्यमन्त्री बने ।

यस्तै सबैभन्दा धेरै ३ पटक मन्त्री बन्नेहरुमा एमालेका रामबहादुर मगर, माओवादीका राजेन्द्रकुमार कार्की, काँग्रेसका प्रदिपकुमार सुनुवार, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगू रहेका छन् ।

दोस्रो पटक दोहोर्याउनेमा भने एमालेका पाँचकर्ण राई, एकराज कार्की, लिलाबल्लभ अधिकारी, तिलकुमार मेन्याङ्बो, बुद्धिकुमार राजभण्डारी रहेका छन् । यस्तै माओवादीका गणेशप्रसाद उप्रेती, नारायण बहादुर मगर, जीवन आचार्य तथा काँग्रेसका रामकुमार खत्रीले दोस्रोपटक मन्त्री बनेका छन् ।

एक पटक मन्त्री हुनेहरुमा काँग्रेसका शमशेर राई, माओवादीका बाबुराम गौतम, दुर्गाप्रसाद चापागाईं र राप्रपाका भक्तिप्रसाद सिटौला रहेका छन् । राज्यमन्त्रीहरुमा एमालेकी सिर्जना राईले दोहोर्याउँदा काँग्रेसकी इन्दिरा थापा, सुनिताकुमारी गुरुङ, गयानन्द मण्डल, एमालेका रामप्रसाद महतो र निरन राई तथा माओवादीकी बन्दना झाँगर एक पटक मन्त्री बन्न सफल भएका छन् ।

जारी कार्यकालमा दोस्रोपटक सरकार विस्तार भएको छ । तथापि सरकारले भने अझै पूर्णता भने पाएको छैन । कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्रीले कार्की आफैंले राखेका छन् । मुख्यमन्त्री कार्कीले संचारकर्मीलाई सामान्य प्रतिक्रिया दिँदै अब सरकार स्थिर हुने बताएका छन् ।

‘अब सरकार स्थिर हुन्छ । हामीले हतार गरेर पनि हुँदैन,’ उनले भने, ‘सुशासन र स्थायित्व अहिलेको सरकारले बनाउने भएको हुँदा अब त्यता ध्यान हुन्छ ? ।’ सो क्रममा केही संचारकर्मीले भने प्रदेशसभामा रहेका ९३ जना नै सांसदलाई कहिले मन्त्री बनाउनु हुन्छ भनेर व्यंग्यात्मक प्रश्न गरेका थिए ।

१६ पटक सरकार विस्तार

२०७९ पुस २४ गते हिक्मतकुमार कार्की प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए । उनले पुस २५ गते तीन जना तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रीमण्डल बनाए । त्यसको ४ दिनपछि पुस २९ गते दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई मन्त्रीमण्डलमा सामेल गराए । मन्त्रीहरुलाई जिम्मेवारी भने माघ ६ गते मात्रै दिए ।

यस्तै उनको सरकार ढलेपछि उद्धब थापाले २०८० असार २२ गते कमलप्रसाद जबेगू र प्रदिपकुमार सुनुवार सहभागी मन्त्रीमण्डल बनाए । त्यसको २ दिनपछि जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई मन्त्रीमण्डलमा सहभागी गराए । थापा नेतृत्वको सरकार सर्वोच्चबाट विघटन गरेसँगै पुनः साउन १७ गते थापाकै नेतृत्वमा बनेको सरकारमा बाबुराम गौतम, प्रदिपकुमार सुनुवार र कमलप्रसाद जबगू मन्त्री बने ।

त्यसको ९ दिनपछि साउन २६ गते निर्मला लिम्बूलाई मन्त्री नियुक्त गर्दै थापाले सरकार विस्तारलाई निरन्तरता दिए । पुनः उनले गयानन्द मण्डललाई साउन ३१ गते सरकारमा सहभागी गराए । तर, उनको सरकार पुनः अदालतको परमादेशबाट ढल्यो ।

त्यसपछि बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा भदौ २२ गते पुनः तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राईलाई मन्त्रीमण्डलमा सहभागी गराइयो । कार्कीले पुनः असोज ८ गते सरकार विस्तार गर्दै लिलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद महतो र निरन राईलाई मन्त्रीमण्डलमा सहभागी गराउँदै मन्त्रीमण्डल विस्तार गरे ।

उनले राजीनामा दिएपछि पुनः केदार कार्कीको नेतृत्वमा अर्को सरकार बन्यो । केदार कार्कीले असोज २८ गते रामबहादुर मगर र शमशेर राईलाई मन्त्री नियुक्त गरे । कार्कीले कार्तिक १७ गते गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूलाई मन्त्रीमण्डलमा समावेश गराए । रामबहादुर मगरले राजीनामा दिएपछि कार्कीले मंसिर १७ गते नयाँ कार्यविभाजन गरे ।

फेरि मुख्यमन्त्री कार्कीले माघ २६ गते प्रदिपकुमार सुनुवार, राजेन्द्र कार्की, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङलाई मन्त्रीमण्डलमा सहभागी गराउँदै मन्त्रीमण्डलको संख्या १० पुर्याए ।

कार्की नेतृत्वको सरकार ढलेर पुनः २०८१ वैशाख २७ गते हिक्मतकुमार कार्की नेतृत्वमा सरकार निर्माण भएको छ । कार्कीले सोही दिन गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई मन्त्री नियुक्त गरे । त्यसको एक हप्तापछि जेठ ४ गते मुख्यमन्त्री कार्कीले राजेन्द्र कार्की, पाँचकर्ण राई, एकराज कार्की, नारायणबहादुर मगर, लिलाबल्लभ अधिकारी, सिर्जना राई र बन्दना झाँगरलाई मन्त्रीमण्डलमा सहभागी गराए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर