• २०८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025

माल्दिभ्सकाे राष्ट्रपति निर्वाचन:'चीनकाे जित,भारत पराजित' !

एजेन्सी । माल्दिभ्समा एकजना 'चीननिकट' उम्मेदवार राष्ट्रपति निर्वाचनमा विजयी भएका छन्। उनले भारतसँगको सम्बन्धलाई बलियो बनाएका बहालवाला राष्ट्रपतिलाई पराजित गरेका हुन्।

विभिन्न चरणमा भएका ती चुनावका नतिजालाई राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले स्विकार्दै ५४ प्रतिशत मत पाएका विजयी मोहम्मद मुइज्जुलाई बधाई दिएका छन्।

राजधानी मालेका मेयर मुइज्जु "इन्डिया आउट" नारासहित चुनावी अभियानमा संलग्न भएका थिए।

१७ नोभेम्बरमा नयाँ राष्ट्रपतिको शपथग्रहण हुनेछ। सोलिहले त्यसबेलासम्म कामचलाउ राष्ट्रपतिका रूपमा काम गर्नेछन्।

सन् २०१८ यता शक्तिमा रहेका माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडिपी)का सोलिहले मालेसँग बलियो साँस्कृतिक र आर्थिक सम्बन्ध रहेको भारतसँगको सम्बन्ध मजबुत बनाएका थिए।

उनले त्यसलाई "भारत-पहिले" नीति भन्ने गरेका थिए। माल्दिभ्स लामो समयदेखि भारतको प्रभाव क्षेत्रमा पर्छ। त्यहाँ आफ्नो उपस्थिति कायम गर्न सक्नुले दिल्लीलाई हिन्द महासागरको मुख्य भागमा नियमन गर्ने क्षमता प्रदान गरेको छ।

प्रगतिशील गठबन्धनका ४५ वर्षीय मइज्जु चीनसँगको निकट सम्बन्धका पक्षधर हुन्।

व्यापक रूपमा नौसेना विस्तार गरिरहेको चीन माल्दिभ्सजस्तो रणनीतिक महत्त्वको स्थानमा पहुँच चाहन्छ भने उसको प्रतिस्पर्धी भारत त्यसलाई रोक्न चाहन्छ।

चीन त्यस क्षेत्र हुँदै खाडी देशबाट आफ्नोमा हुने इन्धन आपूर्तिलाई समेत सुरक्षित गर्न चाहन्छ।
गत दशकमा दिल्लीले माल्दिभ्सलाई दुईवटा हेलिकप्टर र एउटा सानो आकारको विमान दिएको थियो।

सन् २०२१ मा माल्दिभ्सको सेनाले ती विमानको सञ्चालन र मर्मतसम्हारका लागि ७५ जना भारतीय सैनिकहरू आफ्नो देशमा रहेको जनाएको थियो।

त्यसलगत्तै विपक्षीले ती भारतीय सुरक्षाकर्मीलाई माल्दिभ्स छाड्न भनेर "भारत आउट" अभियान सुरु गरेको थियो।

सोलिहअघि सन् २०१३ देखि सन् २०१८ बीचमा प्रोगेसिभ पार्टी पीपीएमका अब्दुल्लाह यामीन राष्ट्रपति थिए।

उनले आफ्नो कार्यकालमा माल्दिभ्सलाई चीनसँग निकट बनाउनुका साथै राष्ट्रपति सी जिन्पिङको बेल्ट एन्ड रोड अवधारणामा आफ्नो देशलाई संलग्न गराएका थिए।

यामीन भ्रस्टाचारमा दोषी ठहरिँदै हाल ११ वर्षको जेल सजाय भोगिरहेका छन्।

त्यससँगै उनी यस वर्षको निर्वाचनमा सहभागी हुन समेत पाएका थिएनन्।

पीपीएम मुख्यालयअघि जम्मा भएका सयौँ मइज्जु समर्थकले विजयोत्सव मनाएका थिए।

मोहम्मद मुइज्जु को हुन् ?
सन् १९७८ मा जम्मिएका मुइज्जुले यूकेको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इञ्जिनियरिङमा पीएचडी गरेका छन्।

सन् २०१२ मा आवासमन्त्री भएर उनी राजनीतिमा प्रवेश गरेका थिए।

यामीन शक्तिमा आएपछि समेत उनले आफ्नो मन्त्रीपद कायम राख्दै केही ठूला परियोजनाहरू अगाडि बढाए।

त्यसमध्ये एउटा २० करोड अमेरिकी डलर बराबरको पुल समेत पर्छ। त्यसले राजधानी मालेलाई भिन्न टापुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्छ।

उनले सन् २०२१ मा मालेको मेयरको निर्वाचन जिते र त्यो उक्त पदमा पीपीएमको पहिलो जित थियो। –बीबीसीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर