रविलाई राष्ट्रपतिले दिए ‘कच्चा राजनीतिक खेलाडी’को संज्ञा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका दिन राष्ट्रपतिबाट भएको कैद मिनाहाको विषयलाई लिएर राजनीतिक गतिविधि अघि बढाईरहेको छ । सो कामलाई सुशासन विपरितको भनि अर्थ लगाएको रास्वपाले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक नै बहिस्का गर्यो ।
सोही विषयमा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा पनि कुरा उठाए ।
आज त्यही विषय लिएर लामिछानेसहितको टोली राष्ट्रपति निवासमा पुग्यो । तर राष्ट्रपति रामचन्द्र पौडेलले भने रविलाई कच्चा राजनीतिक खेलाडीको संज्ञा दिए ।
कैद मिनाहा हुने प्रकृया सम्झाएका राष्ट्रपति पौडेलले आफूले संवैधानिक व्यवस्था मात्रै पालना गरेको बताएको उनको सचिवालयले जानकारी दिएको छ ।
पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न सक्ने संवैधानिक व्यवस्था नभएको बताए ।
पौडेलले त्यति मात्रै भनेनन् आफूले विवक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफी फिर्ता गराएको स्मरण गराए ।
‘हाम्रो संविधान, हाम्रो संसदीय व्यवस्था तपाईँहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन । तपाईँहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यहीँ तपाईँहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्था अनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो,’ राष्ट्रपतिको भनाइ उल्लेख गर्दै सचिवालयका एक सदस्यले भने ।
राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार संसद्लाई भएको स्मरण गराए । राष्ट्रपति पौडेलले यतिबेला संविधान, यो व्यवस्था, गणतन्त्रमाथि नै प्रहार भइरहेको भन्ने चिन्ता उठिरहेको बताउँदै भने, “तपाईंहरू जस्तो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताहरूले होसियार भएर सोच्न जरुरी छ । म सुन्छु, सबै कुराको दोष राष्ट्रपति संस्थामाथि थोपरेर यो व्यवस्था र गणतन्त्र नै ठीक छैन भन्ने पुष्टि गर्न र ७० वर्ष लडेर ल्याएको यो प्रणालीलाई कमजोर पार्न खोजिँदैछ, यसमा तपाईहरू सचेत हुनुहोला र यसलाई जोगाउनु तपाईंहरूको दायित्व हो ।”
पौडेलले संविधानमा राष्ट्रपतिले स्वविवेकले आममाफी दिन सक्ने व्यवस्था टेकेर आएको ३४ जनाको बारेमा विधि, प्रक्रियाका सम्बन्धमा प्रश्न उठाएर गृहमन्त्रालयमा फकाईदिएको र ६७० जनाको बाँकी कैद मिनाहाको विषय सबै प्रक्रियाहरू पुर्याएर मन्त्रिपरिषदले निर्णय गरेपछि संविधानको व्यवस्था अनुसार स्वीकार गरेको प्रष्टिकरण दिएका छन् ।
भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई अभिभावक भूमिका खेलिदिन आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस