• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

देशमा धार्मिक र सामाजिक सदभाव भड्काउने गतिविधि भएः पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मुलधारका राजनीतिक दलले इतिहासका विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन र समाज परिवर्तनमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रवृत्ति हाबी हुन खोजेको बताएका छन् ।

पुनले नेपाली इतिहास बिर्सिएर केही शक्ति र मानिसहरुले मुलधारका राजनीतिक दलहरुप्रति समाजमा गलत भाष्य निर्माण गर्न खोजेको बताए । राजनीतिक दलहरु र नेताहरुप्रति उठेका प्रश्नको सबैले जवाफ दिर्नैपर्ने भए पनि कतिपय प्रश्न नियोजित रहेको उनको भनाइ थियो । उनले पञ्चायतकालमा भन्दा बहुदलीय व्यवस्थामा र बहुदलीय व्यवस्थामा भन्दा आफूहरुको नेतृत्वमा भएको सशस्त्र जनयुद्ध र ०६२÷०६२ को जनक्रान्तिपछि मुलुकमा भएको विकासका फेहरिस्त प्रस्तुत गरे ।

‘मुख्य रानजीतिक शक्तिहरुका बारेमा प्रश्नहरु छन् । ती प्रश्नको एकएक जवाफ दिनुपर्छ । पुराना दल असान्दर्भिक भए, विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ’, १ सय ५४ औं गान्धी जयन्ती तथा विश्व शान्ति दिवसका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले सोमबार राजधानीमा गरेको कार्यक्रममा पुनले भने, ‘कतिपय नियोजित प्रश्न छन । इतिहास र आजको यथार्थता बिर्सिएरु मुलधारका रानजीतिक दलप्रति अनावश्यक लाञ्छना लगाइएका छन् ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले पञ्चायतको समयभन्दा ०४६ र ०६३ पछिका विकासमा तथ्याङ्कले नै देशमा सडक सञ्जालको निर्माण, विद्युतीकरण, भौतिक पूर्वाधारको विकास, साक्षरता र उच्च शिक्षाको दर हेर्दा नेपाल तीव्र विकासको चरणमा रहेको स्पष्ट हुने बताए । यद्यपि आजको विश्वको तुलनामा केही अपर्याप्ता रहेको स्वीकार उनले गरे । पुनले नेपालमा ००७ सालमा काँग्रेस, ०२८ सालमा एमाले र ०५२ मा आफ्नो पार्टीले संघर्षको बाध्यात्मक विधिका रुपमा हिंसाको प्रयोग गरेको भए पनि नेपाली समाजको मूल चरित्र शान्तिपूर्ण, अहिंसात्मक र मेलमिलाप रहेको चर्चा गरे ।

‘००७ सालमा संघर्ष गरेको पुस्ता सायद आज जिवित छैन । ०२८, ०३६, ४६ र हाम्रो पार्टीको नेतृत्वमा भएको सशस्त्र  संघर्ष हाम्रो सामु छ । यो नेपाली समाज रुपान्तरणको मौलिकता हो । रानजनीतिक संघर्षका क्रममा बाध्यात्मक विकल्पका रुपमा हिंसाको प्रयोग भएको इतिहास हाम्रो अगाडि साक्षी छ । आजका मुख्य दलहरुका आ–आफ्ना पृष्ठभूमि हेर्दा हामी त्यो पाउँछौं । विश्वको अनुभव र हाम्रो आफ्नै देशको हेर्दा पनि हामी आपसी मेलमिलप, सहकार्य र शान्तिमा र आपसी सदभावमा टेकेर अगाडि बढेका छौं’, उनले भने ।

पुनले शान्ति र प्रतिस्पर्धाको राजनीतिक धार आजको यथार्यता भएको बताए । आपसी प्रतिस्धर्पामार्फत राष्ट्रिय शक्ति निर्माण हुने उनको भनाइ थियो ।  पुनले शान्ति प्रक्रियाका अधिकांश काम सकिए पनि संक्रमणकालीन न्यायस्म्बन्धी काममा सबै दल एकै ठाउँ उभिनुको विकल्प नरहेको बताए । दलीय व्यवस्थामा कहिले सरकार र कहिले प्रतिपक्षमा रहनुलाई सामान्य रुपमा बुझ्नुपर्ने भन्दै उनले संक्रमणकालीन न्यायको राष्ट्रिय कार्यभारप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गरे ।

‘राजनीतिक दलहरुबीच कहिले सहकार्य र कहिले प्रतिस्पर्धा हुनु स्वभाविक हो’, उनले भने, ‘ राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई हामी सबै मिलेर न्याय दिने र समाजमा सत्य स्थापित गर्नुपर्ने भन्नेमा सायद कसैको दुई मत हुन सक्दैन ।’ मुलुकको शान्ति, स्थायित्व, विकास, सुशासन र आपसी सदभावका लागि दलहरु मात्र नभई सबै राष्ट्रिय शक्तिबीच सहकार्य हुनुपर्नेमा पुनले जोड दिए ।

पुनले मूलधारका राजनीतिक दलहरुमध्ये ००७ सालपछि काँग्रेसको एउटा पक्षको वरपर शासक वर्गको उदय भएको भन्ने आरोपको सबै दलले व्यवहारबाटै जवाफ दिनुपर्ने उल्लेख गरे ।

‘००७ सालपछि काँग्रेसको एउटा पक्षको वरपर शासक वर्ग जन्मियो, ०४६ को परिवर्तनले एमाले वरिपर अर्को शासन वर्ष जन्मायो र ०६३ को शान्ति प्रक्रियापछि माओवादीभित्र एउटा शासक वर्ग जन्मायो के यही हो रानजीतिक परिवर्तन भन्ने प्रश्न उठ्ने गरेको छ’, उनले भने, ‘यो प्रश्नको राजनीतिक दलहरुले र नेताहरुले पन्छाउने होइन । सकारातमक जवाफ दिनुपर्छ ।'

उनले मुलुकको विदेश नीति, शिक्षा नीति, विकास नीति र संस्कृतिसम्बन्धी नीतिमा सबै दलबीच साझा धारणा हुनुपर्ने बताए । पछिल्लो समय मुलुकमा धार्मिक र सामाजिक सदभाव भड्काउने खालका गतिविधि भइरहेको भन्दै उनले त्यसमा सरकार र राजनीतिक दल चनाखो हुनुपर्ने उल्लेख गरे । नेपालमा सामाजिक, जातीय, भाषिक, धार्मिक र सांस्कृतिक बहुलता रहेको भन्दै पुनले त्यसलाई साझा विशेषता र पूँजीका रुपमा स्वीकार गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर