• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

भारतलाई हराएर विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले उचाल्यो

काठमाडौं । घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो । 

यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व क्रिकेट च्यामिपयन बनेको थियो । भारतको भने १२ वर्षपछि विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भयो । यसअघि, सन् २०११ मा आप्mनो घरमा विश्वकप हुँदा भारत च्याम्पियन बनेको थियो । तर त्यसपछि भारत विश्वकपमा सँधै निराश मात्र बन्दैआएको छ । यसपालि भारत सबै दस खेल जितेर फाइनलमा पुगे पनि अन्तिम बाधाको रुपमा रहेको अस्ट्रेलियालाई हराउन नसक्दा च्याम्पियन बन्न सकेन । विश्वकप क्रिकेट फाइनल हेर्न कीर्तिमान दर्शकबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसको पनि उपस्थिति रहेको थियो । 

अस्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गरेको भारतलाई २४० रनमा अलआउट गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान ट्भिस हेडले १३७ रनको शतकीय पालि खेलेपछि अस्ट्रेलियाले सात ओभर बाँकी छँदै चार विकेटको क्षतिमा २४१ रन बनाएर लक्ष्य हासिल गर्न सफल भयो । मार्नस लाबुस्चेले पनि अविजित ५८ रन बनाएर अस्ट्रेलियालाई विश्व विजेता बनाउन महत्वपूर्णं भूमिका खेले । हेड र लाबुस्चेबीच चौथो विकेटका लागि १९२ रनको साझेदारी बनेको थियो ।

यसअघि, लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले सात ओभरमा ४७ रन बन्दा तीन विकेट गुमाएपछि भारत खेलमा फर्किने सम्भावना देखिएको थियो । पछिल्लो विश्वकपको फाइनलमा पनि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २४१ रन बनाएको थियो । इङगल्यान्डले जवाफमा २४१ रन नै बनायो । त्यसपछि इङ्गल्यान्ड सुपर ओभरमा खेल जितेर च्याम्पियन बनेको थियो । तर कमजोर बलिङका कारण भारतले पछिल्लो फाइनलको रोमाञ्च  दोहोर्याउन सकेन । भारत यस प्रतियोगितामा लगातार दस खेल जितेर फाइनलमा पुगेको थियो । त्यसैले भारतलाई उपाधिको प्रमुख दावेदार मानिएको थियो । तर भारतले तेस्रो पटक विश्वकप उपाधि जित्न सकेन । 

यसअघि अनुशासित बलिङको सामना भारतले उचित तरिकाले गर्न सकेन । भारतका कप्तान रोहित शर्माले ४७ रनको तेज पालि खेलेर घरेलु टिमलाई तेज सुरुआत दिर्लाए । उहाँले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गर्दे ४७ रन बनाए । अर्का प्रारम्भिक ब्याट्सम्यान शुभमन गिल भने चार रनमै आउट भए । रोहित आउट भएपछि भारतको ब्याटिङले सङ्घर्ष गरेको थियो । सुस्त पिचमा टस हारेपछि पहिले ब्याटिङ गर्न बाध्य भारतले ११ औँ ओभरमा ८१ रन बन्दा तीन विकेट गुमाएको थियो । भारतले अन्तिम पाँच विकेट पनि ८.३ ओभरमा मात्र ३७ रनमा गुमायो । 

विराट कोहली र लोकेश राहुलले अर्धशतकीय पालि खेलेर भारतलाई सम्माजनक स्कोरसम्म लगे । कोहलीले  यस विश्वकपमा अर्को अर्धशतकीय पालि खेलेपनि जितका लागि पर्याप्त भएन । भारतका लागि सर्वाधिक रन लोकेश राहुलले बनाउनुभयो । उहाँको ब्याट्बाट ६६ रन आएको थियो । 

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले यस प्रतियोगितामा सर्वाधिक रन बनाउने कोहलीका साथै र लयमा रहेका श्रेयर एयरलाई आउट गरे । अर्का तेज बलर मिचेल स्टार्कले तीन ब्याट्सम्यानलाई आउट गरे । तेज बलर जोस हेजलउडले पनि पुछारका दुई ब्याट्सम्यानलाई पवेलियन फर्काएर भारतको पालि समाप्त गरे ।

कोहली ११ खेलमा ७६५ रन बनाएर एक विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । उनले सचित तेन्दुलकरको कीर्तिमान भङ्ग गरे । तेन्दुलकरले सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा ११ खेलमै ६७३ रन बनाएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर