• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

हमासले दोस्रो पटक १७ बन्दी छाेड्याे तर नेपाली विपिन जोशी परेनन् 

काठमाडौं । हमासले प्यालेस्टिनी कैदीहरूको रिहाईको बदलामा शनिबार राति इजरायली र विदेशी बन्धकहरूको दोस्रो समूहलाई रिहा गरेको छ । तर नेपाली युवा विद्याथी विपिन जोशी दोस्रो चरणको रिहाईमा पनि परेका छैनन् । 

हमासले १३ इजरायलीसँगै चार थाई नागरिकलाई रिहा गरेपनि नेपाली बन्धक जोशीलाई भने रिहा गरेको छैन ।

कतारको पहलमा इजिप्टको पनि सहयोगमा भएको मध्यस्थताले इजरायल र हमासबीचको गतिरोध हट्न सफल भएको बताइएको छ ।

इजरायलका अनुसार शनिबार हमासले १३ जना इजरायली (आठ बालबालिका र पाँच महिला)लाई गाजामा रेड क्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेको थियो। उनीहरूलाई राफा क्रसिङ पार गरेर इजिप्ट लगिएको थियो । त्यसपछि त्यहाँबाट भने इजरायल लगियो । उनीहरू सबैलाई अस्पतालमा लगिएको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायलीसँगै चार थाई नागरिक पनि रिहा भएका छन् ।

हमासले बन्धकलाई रिहा गरेको केही समयमा नै इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई इजरायलले रिहा गरेको इजरायलको जेलसेवाले आइतबार बिहान जनाएको छ। 

हमासले इजरायलले सम्झौताका केही भागहरू अस्वीकार गरेको दाबी गर्दै दोस्रो पटक बन्धकहरू रिह गर्न अस्वीकार गर्दै यो प्रक्रियालाई स्थगित गर्ने धम्की दिएको थियो । गाजा नियन्त्रण गरिरहेको सशस्त्र समूहले इजरायलले उत्तरी गाजामा पर्याप्त सहायता सामाग्री पुग्न नदिएको र सहमतिमा भएका सर्तहरू अनुसार प्यालेस्टिनी बन्दीहरूलाई रिहा नगरेको दाबी गरेको थियो ।

अक्टोबर ७ को बिहान ६ बजेबाट सुरु भएको युद्ध ४९ औं दिन गत शुक्रबारसम्म चलिरह्यो । चारदिने अस्थायी युद्धविराम गर्न इजरायल र हमासबीच सहमति भएपछि बिहान ७ बजेबाट युद्ध रोकिएको छ । हमासको अप्रत्याशित आक्रमणमा परी १० नेपाली विद्यार्थीसहित १२ सय इजरायली मारिएका छन् । नेपाली युवा विपिन जोशीसहित २ सय ४० जनालाई हमासले बन्धक बनाएको छ ।

इजरायलले शुक्रबार पनि १३ जना इजरायली बन्धकमुक्त गरेपछि ३९ जना प्यालेस्टिनी कैदीलाई रिहाइ गरिदिएको थियो । यही प्रक्रिया सोमबारसम्म चल्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 

इजरेलले गरेको हमलामा १४,५०० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दुवै पक्षले युद्ध नसकिएको भन्दै लडाइँ पुनः सुरु हुने बताए तापनि अमेरिकी राष्ट्रपति जो बाइडनले अस्थायी युद्धविराम लम्बिन सक्ने वास्तविक सम्भावनाहरू रहेको बताएका छन्। 

इजिप्टले समेत दुवै पक्षबाट अस्थायी युद्धविराम 'एक वा दुई दिनले' लम्बिन सक्ने 'सकारात्मक सङ्केत' पाएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर