• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा कविता वाचन

पाेखरा । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने मूल नाराका साथ यही पुस ५ गतेदेखि  १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा कविता वाचन गरिएको छ ।

सोमबार संघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न कवि तथा साहित्यकारहरुद्धारा कवि लेखनाथ पौड्यालका कविताहरुको सान्दर्भिकता र महत्त्व विषयमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए भने विभिन्न कविताहरू समेत वाचन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महांसंघ नेपालका केन्द्रीय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले अहिलेको परिवेशमा कवि लेखनाथ पौड्यालद्धारा रचित कविताहरुको अति महत्त्व रहेको बताउँदै कतिपय कुराहरुलाई व्यवहारमा लागु गर्न सके जीवन सार्थक हुने बताएका थिए ।

कार्यक्रममा प्राज्ञ हरिदेवी कोईराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, पोखरा संस्कृत क्याम्पसका प्रमुख प्रा.डा. जगन्नाथ रेग्मी, साहित्यकार तारानाथ पराजुली, ह्रषिकेश बराल, लगायतले कविता वाचन गर्नुका साथै विश्लेषणात्मक विचार प्रस्तुत गरेका थिए भने सहभागीहरुमध्येबाट रमा गौतम, ईश्वर भण्डारी लगायतले विभिन्न फुटकर कविताहरु वाचन गरेका थिए ।

संघका निर्वतमान अध्यक्ष छत्रधर आत्रेयले महोत्सवको अवसरमा कवि लेखनाथको सम्मानमा हरेक वर्ष साहित्य विशेष कार्यक्रमहरु गर्ने गरिएको र यसबाट साहित्यकार एवं साहित्य अनुरागी सबैलाई साहित्य क्षेत्रको श्रीवृद्धिमा लाग्न अझै प्रेरित गराउन विश्वास व्यक्त गरेका थिए ।

उक्त अवसरमा लामो समय वित्तीय क्षेत्रमा क्रियाशील रहँदै साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका साहित्यकार जिवनमित्र पण्डीतलाई सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर