• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

हिन्दु राज्य स्थापनाको दिशामा भारत ! अयोध्याको राम मन्दिरमा आज प्राणप्रतिष्ठा  

काठमाडौं । २२ जनवरी अर्थात् आज सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुने भएको छ । भारतको इतिहासमा यो राम मन्दिरको प्राणप्रतिष्ठानलाई नयाँ आयामका रूपमा लिइएको छ । लामो समयको संघर्षपछि हिन्दुले भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गर्न लागेका हुन् ।

राम मन्दिरको प्राणप्रतिष्ठाले भारतलाई मात्र नभई छिमेकी देश नेपाललाई पनि छोएको छ । भारतको अयोध्या र उत्तर प्रदेश मात्रै नभई नेपालको अधिकांश धार्मिक मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गरिन लागेको हो ।

अयोध्या हिन्दु र मुस्लिमका कारण लामो समयदेखि विवादमा पर्दै आएको थियो । सन् २०१९ मा नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि बाबरी मस्जिद नभई राम जन्मभूमिको भनी फैसला गरेपछि राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने बाटो खुलेको हो ।

अदालतले सो ठाउँलाई ‘रामको जन्मस्थल’ भनेर अदालतले मान्यता दिएको थियो । सोमबार राम मन्दिरको अभिषेक हुँदा दशकौंदेखि बाबरी मस्जिदभित्र राखिएको रामको पुरानो मूर्ति पनि ठूलो र नयाँ मूर्तिको साथमा मन्दिरको गर्भ गृहमा विराजमान हुनेछ । बाबरी मस्जिद भत्काएपछि पुरानो मूर्तिलाई लामो समय अस्थायी त्रिपालको मन्दिरमा राखिएको थियो । ४० वर्षको संघर्षको परिणतिको प्रतीक पनि जनवरी २२ हुनेछ ।

प्राणप्रतिष्ठानअघि भारत तथा विदेशबाट ल्याइएका ८१ कलशको औषधीयुक्त जलले गर्भगृहसहित सम्पूर्ण भुइँ तल्लालाई शुद्ध पारिएको छ र सोही क्रममा सरयु नदीघाटमा साँझको आरती गरिएको छ । सोमबार भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु हुनेछ ।

त्यसपछि बिहान १० बजे राममन्दिरमा मंगल ध्वनि बजाएर पूजा कार्यक्रम गरिनेछ । १० बजेर ३० मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मन्दिर परिसर पुग्ने कार्यक्रम तय भएको छ ।

विहान ११ः३० बजेदेखि १२ः३० बजेसम्म गर्भगृहमा पूजाआजाको कार्यक्रम रहेको छ । १२ः ३० बजे मुख्य अतिथिले सम्बोधन गरेपछि २ बजेबाट ७ बजेसम्म दर्शनार्थी र अतिथिका लागि राम मन्दिरको दर्शन गर्न समय दिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो २ बजे १५ मिनेटमा शिव मन्दिरको पूजा गर्ने कार्यतालिका रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यकर्ता भएकाले उनले विशेष ‘अनुष्ठान’का लागि आफूलाई कठोर रूपमा धार्मिक आचरणमा बाँध्ने प्रण पनि गरेका थिए । उनी निराहर व्रत बसेर सोमबार पूजा गर्नेछन् । उनले प्राणप्रतिष्ठा हुनुभन्दा ११ दिनअघिदेखि उनले अन्न खान छोडेका छन् । फलाहार मात्रै गरिरहेका छन् । 

केन्द्र सरकारले देशभर नै केन्द्रीय कार्यालय, संस्थान, औद्योगिक प्रतिष्ठानमा आधा दिनको छुट्टी दिने घोषणा गरेको छ । यो दिनमा अढाइ बजेसम्म मात्रै सरकारी कार्यालय खुला रहनेछन् । उत्तर प्रदेशले भने सो दिनमा प्रदेशभर नै मासु, माछा, रक्सीको बिक्रीमा पुरै बन्देज लगाउने भएको छ ।

 प्राणप्रतिष्ठामा नेपालबाट करिब ३ सय जनाको सहभागिता हुने बताइन्छ । विश्व हिन्दु परिषद् नेपालका अध्यक्ष टीकाबहादुर पहारीका अनुसार धार्मिक प्रतिष्ठानमा रहेका महन्त र स्वामीलाई प्राणप्रतिष्ठानमा बोलाइएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर