उद्योग क्षेत्रमा अघोषित ‘लोडसेडिङ’ गर्दै विद्युत् प्राधिकरण

विराटनगर । विद्युत उत्पादनमा कमी आएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योग क्षेत्रमा अघोषित रुपमा विद्युत कटौती गर्न थालेको छ । एक महिनायता दैनिक ८ घण्टासम्म बिजुली नआएपछि समस्या भएको उद्योगी व्यवसायीले बताउन थालेका छन् ।

उद्योगहरुमा प्राधिकरणले दैनिक बिहान र बेलुका गरेर दुई ‘सिफ्ट’मा विद्युत कटौती गर्दै आएको छ । घरयासी उपभोक्ताले लोडसेडिङको समस्या भोग्न नपरेको भएपनि उद्योग व्यवसायमा भने असर परेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित देशका सबै औद्योगिक करिडोरमा अहिले दैनिक ६–७ घण्टा विद्युत कटौती गरिरहेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण दुहबी ग्रिडका प्रमुख रोशन खड्काका अनुसार साँझ र बिहान उद्योगीलाई अनुरोध गरेर ४–४ घण्टा विद्युत कटौती गर्ने गरेको बताए । बिहान ७ देखि ११ र साँझ ५ देखि ९ बजेसम्म बिजुली काटिने गरेको उनको भनाइ छ । आपूर्तिमा आएको कमीका कारण औद्योगिक क्षेत्रलाई चाहिने बिजुली दिन नसकेको उनले बताए ।

प्राधिकरणले लोडसेडिङ नभनी विद्युत कटौती गर्दा उद्योगधन्दा सञ्चालनम समस्या भएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरे बताउँछन् ।

सबैजसो औद्योगिक करिडोरमा दैनिक रुपमा नै अघोषित लोडसेडिङ भइरहेको भन्दै उनले प्राधिकरणले लोडसेडिङको तालिका नदिएपनि बिजुली नियमित काटिरहेको बताए । कुनै पूर्वसूचना नदिई उद्योगको लाइन काट्दा उत्पादन प्रभावित बन्नुका साथै मेसिनरी सामन बिग्रने समस्या रहेको उनको भनाइ छ ।

वीरगञ्जका उद्योगीहरुले सुचनाविना विद्युत काटिएको भन्दै ‘सेड्यूल’ बनाएर औपचारिकरुपमा नै बिजुली काट्न प्राधिरणलाई आग्रह गरेका छन् । तर, प्राधिकरणले पूर्वसूचना दिएको छैन । आन्तरिक उत्पादन कम भएमा भारतबाट ल्याएर पनि विद्युत दिनुपर्ने उद्योगीहरुको माग छ ।

नेपालका विद्युत आयोजनाबाट वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ । सुख्खयाममा नदीमा पानीको बहाव घट्दा क्षमताभन्दा ८० देखि ९० प्रतिशतसम्म उत्पादन घट्ने गरेकोले आपुत्र्तीमा समस्या आएको हो । त्यसलाई समाधान गर्न भारतबाट ५६६ मेगावाट बिजुली आयात गर्दै आएको प्राधिकरणले जनाएको छ । तर, त्यसले माग धानेको छैन ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘पिक आवर’मा दैनिक ६ देखि ७ घण्टा उद्योगको बिजुली काटिइरहेको स्वीकार गरेका छन् । ‘ढल्केबर सबस्टेसनको क्षमता अनुसार विद्युत आयात भएको भन्दै उनले अहिलेको भन्दा धेरै विद्युत आयात गर्ने क्षमता नरहेको बताए ।

‘पिक आवर’मा बिजुलीको खपत २ हजार मेगावाट नाघेकोले घरायसी माग धान्नकै लागि उद्योगको लाइन काट्नुपरेको प्रँधिकरणको भनाइ छ । सुख्खायाममा आन्तरिक उत्पादन ८०० देखि ८५० मेगावाटसम्म मात्र रहेकोमा ‘पिक आवर’मा तामाकोसी र कुलेखानीसहितका अर्धजलासययुक्त आयोजना चलाएर १५ सय मेगावाटसम्म पुर्याउने गरेको प्राधिकरणले जनाएको छ ।

नेपाल उद्योग संगठ मोरङका अध्यक्ष राकेश सुरानाले विद्युत कटौतीले स्टिल, सिमेन्ट र प्लास्टिक जस्ता उद्योग ठूलो मारमा परिरहेको बताएका छन् । सरकारले बरु बढि शुल्क लिएर भएपनि नियमित विद्युत उपलब्ध गराउनुपर्ने उनको माग छ ।

विद्युतको अनियमित कटौतीको कारण मजदुरको सिफ्ट कसरी मिलाउने भन्ने चिन्तमा रहेको उद्योगीहरु बताउँछन् । उद्योगहरूले २४ घण्टा नै सञ्चालन गर्नेगरि मजदुरको सिफ्ट मिलाउने गरेकामा अहिले समस्या भएको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरण दुहबी ग्रिडका प्रमुख रोशन खड्काका अनुसार कोसीमा दैनिक २६० देखि २७० मेगावाट विद्युतको माग छ । पिकआवरमा भने २७५ मेगावाट माग हुन्छ । तर, आपुर्ती भने दैनिक १८० मेगावाट हाराहारी मात्र छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर