• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

एकतर्फी प्रेम अस्वीकार गर्दा प्रेमिकाको हत्या ?

विराटनगर । विराटनगर–४ स्थित नोबल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका प्रहरीले गरेको छ । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डा.धीरेन्द्र गिरीको घरमा दुई महिनादेखि डेरा बस्दै आएकी थिइन् । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा कोठाभित्रको बाथरुममा शव भेटिएको हो ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ । हत्या संलग्न भएका व्यक्तिले चाँबी मृतककै साथीलाई दिएको पाइएको छ ।

घटनापछि दासका प्रेमी भनिएका युवा फरार छन् । उनी २९ फागुनमा सिराहाबाट विराटनगरमा आएको देखिएको घटनको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले बताए । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ । अहिले घटनाको अनुस्न्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

‘घटनाको अनुसन्धान भइरहेको छ । पोस्मार्टम रिपोर्ट र थप अनुसन्धानपछि अरु विषय खुल्नेछ’ उनले भने । नर्स चन्द्रकुमारीका साथीहरूका अनुसार उनको दुई प्रेमी थिए ।

‘एक जना सीएमए र अर्को विदेशमा भएको २२–२३ वर्षीय पुरूष । दोहोरो सम्बन्धकै कारण विवाद हुँदा हत्याको रूप लिएकोे हुनसक्ने अनुसन्धानबाट देखिन्छ’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृत भन्छन् ।

प्रहरीले शंकास्प्द व्यक्तिहरुको खोजी कार्य जारी राखेको जनाएको छ । चन्द्रिकाकुमारी बसेको घर नोबेल अस्पतालदेखि करिब एक सय मिटर उत्तरमा दुई तलाको रहेको छ । उनी दोस्रो तलाको दक्षिण फर्किएको कोठामा बस्दै आएकी थिइन् । सो घरमा चार जना स्टाप नर्स बस्दै आएका छन् । उनीहरू सबै जना नोबेलमा कार्यरत छन् ।

तीमध्ये चौधरी थरकी एकजना साथीको वाट्सएपमा रगत लत्पतिएको दासको फोटो नयाँ नम्बरबाट आएको पाइएको छ । ‘मैले हत्या गरेर शौचालयमा छाडिदिएको छु’ भन्दै म्यासेज गरेर फोटाहरु पठाएको पाइएको प्रहरी स्रोतले बतायो । घटनाको अनुसन्धान गरिरहेकोले प्रहरीले कुन नम्बरबाट वाट्सएप गरेको भन्ने खुलाएको छैन ।

ह्वाट्सएपमा म्यासेज आएपछि मृतककी साथीले डा. गिरीको घरमा सुरूमा बस्ने साथीलाई सुनाएकी थिइन् । मुडियारी थरकीले ती साथीले घरधनीलाई जानकारी दिएपछि प्रहरीलाई घटनाबारे खबर भएको थियो ।

प्रहरी घटनास्थलमा पुगेर हेर्दा हत्या गरेको अवस्थामा शव भेटिएको हो । घरधनी भने सो घरमा बस्दैनथे ।दुई महिनादेखि नोबेलमा कार्यरत चन्द्रीकाको बिहीबार नाइट ड्युटी थियो ।

राति ८ बजेसम्म पनि नआएपछि उनको खोजविन सुरू भयो । अस्पतालबाट एउटै घरमा बस्ने चन्द्रिकाको साथी सम्झनाकोमा बिहीबार राति फोन गएको थियो । तर, कोठामा ताला लागेको उनले जानकारी दिइन् ।

शुक्रबार दिउँसो डेरामा आउने क्रममा चन्द्रकाको साथी चौधरी थरकी अर्का नर्सले सम्झनालाई फोन गरेर चाँडै कोठा आउनु, चन्द्रिका दिदीको रगत भएको फोटो ह्वाट्सएपमा आएको छ भनेकी थिएन् । त्यसपछि सम्झना कोठा पुगेर घरधनीलाई खबर गरेकी थिइन् ।

चन्द्रिकाको प्रेमी तीन दिनदेखि उनको डेरामा आउने गरेको साथीहरू बताउँछन् । ‘बिहीबार दिउँसो ४ देखि ५ बजेको बीचमा चन्द्रिकाकी प्रेमीले कोठाको चाँबी चौधरी थरकी साथीलाई दिएका थिए’ उनकी एक साथीले भनिन्, ‘चन्द्रिका जोगवनी गएकी छन्, आएपछि दिनु है भन्दै चाबी दिएर सुटकेस बोकेर बाहिर गएको थियो ।’

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की घटनाको शुक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताएका छन् । घटनास्थलमा आफैं पुगेर अनुस्न्धान गर्दै आएका एसपी कार्कीले चाँडै निष्कर्षमा पुग्ने बताए । प्रविधि प्रयोग गरेर घटनालाई अर्कोतर्फ मोड्न पनि ह्वाट्सएपको प्रयोग गरेको हुनसक्ने भएकोले सबै कोणबाट अनुस्न्धान गरिहेको उनले बताए ।
फोटो

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर