• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कोशीमा कांग्रेसबाट माओवादीलाई लगातार ‘धोका’ !

विराटनगर । सत्ता गठबन्धनको महत्वपूर्ण साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुख्य साझेदार दल काँग्रेसकै कारण कोशी प्रदेशमा लगातार क्षति व्यहोरिरहेको छ ।

त्यसको पछिल्लो उदाहरण बनेको छ राष्ट्रिय सभाको चुनावमा माओवादीका उम्मेदवार पराजय कांग्रेसका उम्मेदवार विजयी । 

आफ्ना उम्मेदवारको पराजयमा कांग्रेसकै जनप्रतिनिधिले मत नदिएको माओवादी कोशी प्रदेशका नेताहरुको प्रारम्भिक विश्लेषण छ । 

गएको एक वर्षमा माओवादीले काँग्रेसकै कारण कोशी प्रदेशको सभामुख, सरकारका महत्वपूर्ण मन्त्रालय, मुख्यमन्त्री र राष्ट्रियसभाको सदस्य पनि गुमाएको छ ।

प्रदेशसभामा एमालेसँग गठबन्धन गर्दा सभामुख (बाबुराम गौतम) र स्थिर सरकारमा महत्वपूर्ण मन्त्रालय माओवादीले सम्हालेको थियो । केन्द्रको गठबन्धन फेरबदल भएपछि काँग्रेसकै दबाबका कारण माओवादी एमाले नेतृत्वको सरकारबाट जेठ २३ गते अलग भयो । त्यसबेला माओवादीलाई मुख्यमन्त्री दिने सहमति थियो ।

माओवादीले सरकार छाडेपछि एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन सकेनन् । त्यसपछि नयाँ सरकार गठनको आह्वान भयो । तर, काँग्रेसले मुख्यमन्त्रीको दावी छाडेन । गठबन्धनको निर्णय अनुसार उद्धब थापालाई मुख्यमन्त्री बनाउन संविधान मिचेर माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमले हस्ताक्षर गरे ।

सभामुखले हस्ताक्षर गरेर बनेको सरकार सर्वोच्च अदालतले ढालिदियो । त्यसले संविधान मिचेको आरोप पनि माओवादीले खेप्नुपरो । दोस्रो पटक पुनः थापालाई नै मुख्यमन्त्री बनाउन साउन १६ सभामुख गौतमले पदबाबटै राजीनामा दिए । तर, दोस्रो पटक मुख्यमन्त्री भएका थापाको सरकार पनि सर्वोच्च अदालतले अबैध ठहर गरेपछि माओवादी सरकारबाहिर पुग्यो ।

त्यसअघि प्रदेशको नामकरण कोशी राख्ने क्रममा पनि माओवादीले राजनीतिक पराजय व्यहोर्यो । कोशी नाममा माओवादीले हस्ताक्षर नगर्ने मनसाय राखेपछि काँग्रेसले हस्ताक्षर गर्नुपर्ने दबाब दिएपछि प्रदेशको नाम जसरी पनि राख्नुपर्छ भन्ने जनदबाबलाई सम्बोधन गर्ने भन्दै कोशीमा मतदान गर्यो । पहिचानको पक्षमा रहँदै आएको माओवादी आफ्नो एजेण्डा बिर्सदै कोशी नाममा हस्ताक्षर गर्न बाध्य बनेपछि पहिचान पक्षधर जनमत रुष्ट बन्दा त्यसले राजनीतिक क्षति भयो ।

उद्धब थापाको सरकार दुई पटक अदालतबाट बर्खास्त भएपछि कोशीमा सरकार निर्माणको लागि सत्ता गठबन्धनले राप्रपाको साथ खोज्यो । प्रदेशसभा विघटन गर्न नहुने पक्षमा उभिएको राप्रपाले थापाको विकल्प खोज्नुपर्ने सर्त राख्दा गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सार्यो ।

एमालेले सहकार्य छोडेर गठबन्धनमा पुग्दा सरकार स्थिर बन्न नसकेको भन्दै एमालेले पुनः सहकार्य गर्न माओवादीलाई प्रस्ताव गरेको थियो । मुख्यमन्त्री दिने एमालेको प्रस्ताव अस्वीकार गर्दै माओवादीले गठबन्धनबाटै अगाडि जाने निर्णय लियो ।

तर, नेपाली काँग्रेसका नेता शेखर कोइरालाको योजनामा उनीपक्षीय ८ सांसदले विद्रोह गर्दै एमालेसँग मिलेर काँग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाए । माओवादीका आङ्बोको मुखमा आएको मुख्यमन्त्री असोज २८ मा कार्कीले खोसे ।

संविधानको धारा १८६ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धन र माओवादीले बाध्य भएर समर्थन गर्यो । कार्कीले पनि मुख्यमन्त्री भएको केहि समयपछि माओवादीका गणेश उप्रेतीलाई मन्त्री बनाए । तर, १०० दिनदेखि महत्वपूर्ण ५ मन्त्रालय आफैंसँग राखेका छन् ।

एमालेसँगको सहकार्यमा माओवादीको हातमा सभामुख, प्रदेशको सबैभन्दा बढि बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय थियो । अर्को एउटा मन्त्रालय पनि दिन एमाले तयार थियो । तर, अहिले माओवादी प्रदेश सरकारमा पर्यटन मन्त्रालयमा सीमित छ ।

माओवादीले काँग्रेसबाट पाउने धोका र राजनीतिक बेइमानीको पछिल्लो कडी बिहीबारको राष्ट्रियसभा निर्वाचन हो । सत्ता गठबन्धन करिब ८०० मतान्तरले अगाडि रहेको निर्वाचनमा काँग्रेसका उम्मेद्वार कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी उम्मेद्वार चम्पा कार्की भने पराजित भइन् । कार्कीलाई ३ सांसद र १३ जना स्थानीय तहका प्रतिनिधिहरुले भोट नदिएर एमाले उम्मेद्वार रुक्मिणी कोइरालालाई भोट दिए । कार्कीलाई काँग्रेसकै मतदाताले मत नदिएको स्पष्ट देखिन्छ ।

एमालेका एक नेताका अनुसार राष्ट्रियसभा निर्वाचनको पूर्व सन्ध्यामा काँग्रेसका प्रतिनिधसभा सांसद सुनिल शर्मासहित केही नेताहरुको पहलमा माओवादी उम्मेदवार पराजित गरिएको हो । शर्मा काँग्रेस नेता शेखर कोइरालाका विश्वास पात्र हुन् । शर्माले माओवादी र काँग्रेसको गठबन्धन टुटाउनुपर्ने वकालत गर्दै आएका छन् ।

कोशीमा काँग्रेस नेता सिटौलालाई चुनाब जित्न सकस पर्ने चर्चा हुने गरेको थियो । तर, उनले सहजै चुनाब जित्दा माओवादीकी कार्की पराजित भइन् । कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएको ऋण एमालेलाई काँग्रेसले चुक्ता गरेकोले यस्तो परिणाम आएको विश्लेषण गरिएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ ९मिक्सो०ले यसअघि गठबन्धनले गरेको निर्णय विपरित मुख्यमन्त्री बनाउन हिंडेको शक्तिको चलखेलले नै आफ्नो उम्मेद्वारले पराजित हुनु परेको प्रतिक्रिया दिए । ‘यो निर्वाचनमा राजनीतिक योजनाका साथ गठबन्धनको उम्मेद्वार हराइएको हो,’ उनले भने, ‘यसअघि गठबन्धनले गरेको निर्णयअनुसार मुख्यमन्त्री नबनाउन चलखेल गर्ने शक्तिहरुले नै अहिले पनि गठबन्धनका उम्मेद्वार पराजित गर्न योजनाबद्ध ढंगले लागेको देखियो ।’

कोशीमा काँग्रेसका एकथरिले संस्थागत ढंगले गरेको राजनीतिक बेइमानीको परिणाम राष्ट्रियसभामा आएको भन्दै माओवादीले सहकार्य भंग हुने चेतावनी दिएको छ । निर्वाचन परिणामबारे काँग्रेसले भने कुनै प्रतिक्रिया दिएको छैन ।

माओवादी केन्द्रको प्रदेश कमिटिको बैठक बिहीबारदेखि नै विराटनगरमा जारी छ । बैठकले राष्ट्रियसभा निर्वाचनको गम्भीर समिक्षा हुने नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर